‘रक्सीले छाडेपछि आमा मरेको थाहा पाएँ’

बाग्लुङ, १२ जेठ । ‘भोलिपल्ट बिहान रक्सीले छाड्दा आमाले पनि धर्ती छाडेको थाहा पाएँ,’ आमाको हत्या गरेको आरोपमा पक्राउ परेका म्याग्दी निस्कोट–२ का ५१ वर्षीय कुमार पुनले भने, ‘रक्सीको नशामा लठ्ठिएर आमाबाबुलाई हँसियाले हानेर सुत्न गएको थिएँ ।’

७ जेठको राति आमाबाबुसँगै बसेर मदिरा सेवन गरेका पुनले आमा भरिमालाई हँसिया प्रहार गर्दा आमाको ज्यान गएको हो । हँसिया प्रहारबाट घाइते बाबु ७९ वर्षीय प्रमाणको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । बाग्लुङबाट बाबु प्रमाणले भारतीय पेन्सन क्याम्पबाट बुझेको भत्ताले किनेर लगेको चार बोतल रक्सी सेवनपछिको विवादमा पुनले आमाको हत्या गरेका हुन् ।
‘दिउँसैदेखि रक्सीको प्यास लाग्दै थियो,’ पुनले भने, ‘पेन्सन बुझेको खुसियालीमा बाबुले नै चार बोतल रक्सी ल्याएका रहेछन्, घरमा सँगै बसेर पिइयो ।’ आमाबाबुमात्र बसेको घरमा पुग्दा कुमारमा कुनै गलत नियत थिएन । प्रहरी बयानमा उनले भनेका छन्, ‘चार बोतलमध्ये एउटा र आधामा रक्सी बाँकी नै थियो । आमाले तँलाई लागिसक्यो भनेर नदिएपछि रिसाएर घरबाट निस्किएँ ।’
आमाबाबुकहाँबाट निस्किएका पुनले छिमेकीको घरमा लोकल रक्सी पिएका थिए । ‘कक्टेल भएर म त झनै मातेछु,’ पुनले भने, ‘फेरि आमाबाबुकहाँ गएर रक्सी नदिने भन्दै कराएको थिएँ । दुवैले गाली गरेपछि आवेशमा हँसिया झिकेर आमालाई प्रहार गरेँ ।’ प्रहारबाट आमा ढलेपछि बाबु प्रमाण उनलाई हिर्काउन आएका थिए । पुनले भने, ‘बालाई पनि हँसिया प्रहार गरेँ, दुवै ढलेपछि एकछिन कराएर घर गएँ ।’
प्रहरीसँगको बयानमा भोलिपल्ट बिहान रक्सीले छाडेर उठ्नासाथ आमा मरेको र बाबु गम्भीर घाइते भएको थाहा पाएको पुनले बताएका छन् । ‘यो उमेरमा रक्सीको मातमा जन्म दिने आमालाई हत्या गरेँ,’ पुनले भने, ‘म सजाय भोग्न तयार छु ।’ मदिराका कारण ग्रामीण भेगमा यस्ता घटना भइरहेका छन् ।

प्रतिक्रिया