कागज उद्योग खोल्ने क्रम तीव्र

दोलखा, ११ जेठ । दोलखामा नेपाली कागज उद्योग खुल्ने क्रम तीव्र रूपमा बढेको छ । उद्योग वाणिज्य संघ दोलखाले किसानलाई कागजका लागि आवश्यक पर्ने कच्चापदार्थ अर्गेली तथा लोक्ताको व्यावसायिक खेतीको प्याकेज ल्याएपछि कागज उद्योग खुल्ने क्रम बढेको हो ।

उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष रामेश्वर मानन्धरले ठूला उद्योग नभए पनि साना हाते कागज खुल्ने क्रम बढेको बताए । उद्योग वाणिज्य संघले सञ्चालन गरेका जिरी र चरिकोटका दुईवटा कोसेली घरबाट करिब तीन हजार कोरी कागज निर्यात हुने गरेको अध्यक्ष मानन्धरले जानकारी दिए । सो परिमाणको कागज काठमाडांैलगायत अन्य क्षेत्रमा निर्यात हुने गरेको चरिकोटका कागज व्यापारी बताउँछन् ।
नेपाली कागजबाट बन्ने हस्तकला सामग्रीका लागि जिल्लाभित्रै ठूलो मात्रामा कागज खपत हुने गरेको छ । कागजबाट बन्ने कोट तथा टोपीको माग धेरै रहेको कोसेली घर चरिकोटका व्यापारी श्रीराम श्रेष्ठ बताउँछन् । श्रेष्ठले भने, ‘दोलखा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ नेपाली कागजबाट बनेका स्टकोट, टोपी तथा ल्याम्पिसलगायत सामग्री रहेका छन् ।’
नेपाली कागजबाट उत्पादन भएका सामग्रीबाट मासिक ५० हजारसम्म आम्दानी गर्ने गरेको व्यापारी श्रेष्ठ बताउँछन् । घरेलु तथा साना उद्योग विकास कार्यालय दोलखामा हालसम्म २२ वटा कागज उद्योग दर्ता भई सञ्चालनमा रहेको कार्यालयले बताएको छ । संघले एक वर्षअघिदेखि एक गाउँको एक उत्पादन कार्यक्रमअन्तर्गत दोलखा जिल्लामा अर्गेली उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रम सुरु गरेपछि अहिले यस क्षेत्रमा उद्योग दर्ता गर्ने क्रम बढेको हो ।
संघका अध्यक्ष मानन्धरले पहिले हाते कागज जिल्लाबाहिर जाने गरे पनि हालका दिनमा उत्पादित कागजबाट अन्य सामग्री निर्माण गर्न लागिएकाले अहिले व्यवसायी उत्साहित भएका छन् । ०५६ सालमा सुरु गरेको भीमेश्वर काष्ठ उत्पादन तथा प्रशोधन प्राइभेट लिमिटेडले वार्षिक चार सयदेखि सात सय कोरीसम्म कागज उत्पादन गर्दै आएको छ । दुई लाखको लगानीमा सुरु गरिएको यस उद्योगले उत्पादन गरेका कागज अधिकांश काठमाडांै निर्यात हुने गरेको सञ्चालक ध्रुव बस्नेतले बताए ।
उनका अनुसार जिल्लामा रहेका उद्योगबाट वार्षिक पाँच हजार कोरी कागज उत्पादन हुने गर्छ । एक कोरी कागजको मूल्य एक हजार नौ सय रुपियाँ पर्छ । त्यस्तै ६ वटा सामुदायिक वनले स्तरअनुसार १० देखि ३६ लाख रुपियाँसम्म कागज उद्योगमा लगानी
गरेका छन् ।
बस्नेतका अनुसार उद्योगका लागि आवश्यक कच्चा पदार्थ दोलखाका उत्तरी गाविसको कालिञ्चोक, सुस्पा, क्षमावती, चंखु, मार्बु, खारे, लामाबगरलगायत गाविसबाट आयात हुने गर्छ । दोलखामा मात्रै वार्षिक एक करोड रुपियाँको कागज उत्पादन
हुने गरेको छ ।

प्रतिक्रिया