समर्पण सरसफाइमा


‘जुन स्कुलमा पढेँ त्यही स्कुलमा पढाउँछु’ भन्ने सपना थियो नमस्तेलालभूमि श्रेष्ठको । तर, त्यो पूरा नभएपछि समाजसेवामा होमिएका उनी अहिले सामाजिक अभियन्ताका रूपमा परिचित छन् । सायद सामाजिक सेवामा उनको सक्रियता समयको माग थियो । त्यसैले त आज उनी राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चिनिएका छन् । ५७ वर्षअघि तनहुँको सुन्दर नगरी बन्दीपुर–४ मा जन्मिएर दिलशिक्षा प्राविबाट प्रारम्भिक शिक्षा लिएका श्रेष्ठले प्रवेशिकाचाहिँ १४ वर्षकै उमेरमा भानु माविबाट पास गरेका हुन् ।
त्यसो त उनी शिक्षक पेसामा छिरेका पनि हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातक गर्दा/नगर्दै तनहुँकै शारदा शिक्षा सदनमा हेडमास्टर भइसकेका थिए । स्थायी जागिरे बनिसकेका उनलाई आफैँले प्रवेशिका पास गरेको भानु माविमा हेडमास्टर हुने उत्कट चाहना हुँदाहुँदै आबुखैरेनी पठाइएपछि शिक्षण पेसाबाट डेढ वर्षमै राजीनामा दिएछन् । अहिलेसम्म आफू खाली हात कहिल्यै नबसेको सुनाउँछन् श्रेष्ठ । ‘वीरेन्द्र क्याम्पस भरतपुरबाट आइए दिएर बसेका बेला बन्दीपुर क्याम्पसमै पढाएको थिएँ,’ समाजसेवी श्रेष्ठले भने, ‘मास्टरी छाडेपछि त झन् खाली बस्ने कुरै भएन ।’
शिक्षण पेसाबाट राजीनामा दिएपछि सिधै राजधानी हान्निएका उनले नेपाल प्रहरीको इन्सपेक्टर र युनाइटेड मिसन टु नेपाल (युएन) दुवैमा नाम निकालेछन् । आमा कुन्तीभूमी श्रेष्ठले ‘प्रहरीको जागिर नखाऊ’ भनेपछि उनले युएनकै जागिर रोजेछन् । ‘भाषाशिक्षकका रूपमा झन्डै आठ वर्ष बित्यो’ श्रेष्ठले भने, ‘त्यो क्रममा मैले समाजसेवा गर्नुपर्छ भन्ने चेत पाएँ ।’ जागिरकै सिलसिलामा उनी ‘लुथरन’ नामक अन्तर्राष्ट्रिय संस्थाको पहिलो नेपाली अधिकृत बनेछन् ।
विद्यालयमा उनको भूगोलप्रतिको अब्बलता देखेर गुरु बुधेन्द्रराज जोशीले उनको खुब प्रशंसा गर्थे रे † समाजसेवी श्रेष्ठले भने, ‘गुरुले प्रशंसा गरेको क्षेत्रमा त खासै केही गर्न सकिएन तर समाजसेवामा केही गरेझैँ लाग्छ ।’ बुबा बाबुलाल श्रेष्ठको प्रेरणा र हौसलामा उनले पछि भानु स्कुलमा कसैको एक पैसा अनुदानविना विद्यार्थी, अभिभावकको श्रमदानमा स्कुल भवन नै निर्माण गराएछन् । ‘यो मेरो समाजसेवाको पहिलो पाइला थियो,’ श्रेष्ठले भने, ‘समाजमा काम गर्दै जाँदा मलाई लाग्यो, श्रमदानबाट पनि केही गर्न सकिन्छ ।’ जागिरकै सिलसिलामा ०३७ सालतिर जुम्ला पुगेका श्रेष्ठले आफैँ पनि स्थानीय खानीमा काम गरेर गाउँलेहरूलाई हौस्याउँदै त्यहाँबाट आएको पैसाले पाइप किनेर सिंखडा गाउँमा खानेपानी योजना सफल पारेछन् ।
सरसफाइ तथा नेपाललाई दिसामुक्त क्षेत्र बनाउने अभियन्ताका रूपमा चिनिने नमस्तेलालले आफू जन्मिएको बन्दीपुरलाई त्यसको उदाहरणका रूपमा उभ्याएका छन् । २५ वर्षअघि ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको बन्दीपुर सदरमुकाम दमौलीमा सरेपछि ‘भूतबंगला सहर’ बन्यो । सुन्दर सानो सहरमा गाडी–मोटर पसे । ओच्छ्याइएका ढुंगा दब्दै गए र सहर कहालीलाग्दो गरी कुरूप बन्यो । समाजसेवी श्रेष्ठले भने, ‘मैले त्यहाँ गाडीनिषेधित गर्न खोजेँ सफल भएन, तैपनि त्यसलाई इटालीको भेनी सहरजस्तै बनाउने सपना त्यागिनँ ।’ बन्दीपुर सामाजिक विकास समिति बनाएरै लागिपरेछन् उनी । अहिले बन्दीपुरको मूल बजारमा गाडी जाँदैनन् । ‘सहर पुरानै स्वरूपमा छ, स्वच्छ छ, सुन्दर छ’ श्रेष्ठले भने, ‘पर्यटकको ठेलमठेल हुन थालेको छ ।’
त्यही बन्दीपुरमा नेपालकै पहिलो ‘सरसफाइ महोत्सव २००८’ उनकै सक्रियतामा सम्पन्न भइसकेको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालबाट कास्कीलाई खुला शौचालयमुक्त जिल्ला र सभामुख सुवासचन्द्र नेम्वाङबाट चितवनलाई त्यस्तै जिल्लाका रूपमा घोषणा गराउन सफल भएछन् । तनहुँलाई केही समयमै खुला शौचालयमुक्त जिल्लाका रूपमा घोषणा गरिने उनले बताए ।
उनले २००१ सालमा स्थापना भएर २०२५ सालमा बन्द भएको पद्म पुस्तकालय २०३० सालमा खुलाएरै छाडेछन् । मास्टरी गरेर त्यति बेला प्राप्त हुने दुई सय रुपियाँमध्ये उनले त्यही बेलादेखि १५ प्रतिशत समाजसेवामा दिने आत्मनिर्णय गरेका रहेछन् । ‘दुई सय खाँदा गरेको निर्णय आज लाख कमाउँदा पनि परिवर्तन गरेको छैन,’ श्रेष्ठले भने, ‘म आँटेको काम आफ्नै खर्चमा भए पनि गरेरै छाड्छु ।’ उनी सामाजिक मात्रै नभएर व्यक्तिसेवामा पनि त्यत्तिकै रुचि राख्दा रहेछन् । आफ्नै साथी र गाउँकी एक महिला मानसिक बिरामी भएपछि उनले आफ्नै खर्चमा ‘सद्दे मान्छे’ बनाएको स्मरण गरे ।
‘नयाँ सोच र नयाँ खोज’ किताबसमेत लखेका उनी आफ्नो बाँच्ने दर्शन नै नयाँ–नयाँ सोच र खोज भएको जिकिर गर्छन् । सरसफाइ अभियान देखेर १९९५ मा व्यक्तिगत रूपमा स्विडेनमा आमन्त्रण गरिएका समाजसेवी श्रेष्ठलाई त्यहाँका विद्यार्थीले कोकाकोलाको क्यान बेचेर जम्मा पारेको आठ करोड रुपियाँ नेपालको खानेपानी विकासका लागि दिए । स्विडेनले उनको समाजसेवादेखि प्रेरित भएर उनकै फोटो राखेर हुलाक टिकटसमेत प्रकाशन गर्‍यो । सम्भवत: जिउँदो नेपालीको तस्बिर राखेर विदेशमा छापिएको त्यो नै पहिलो हुलाक टिकट हुनुपर्ने उनको अनुमान छ ।
श्रीमती करुणा र बहिनी शशीसँग फेरि सन् २००५ मा त्यही देश निजी रूपमा धुम्न जाँदा श्रेष्ठलाई स्विडिस नेसनल कमिटीले आमन्त्रण गर्‍यो । त्यसक्रममा उनको नयाँ सोच ‘विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ कार्यक्रम’ सञ्चालन गर्न त्यो कमिटीले पाँच करोड सहयोग दियो । ‘व्यक्तिगत रूपमा करोडौँ विदेशी सहयोग भित्र्याउने सम्भवत: म नै पहिलो नेपाली हुँ कि ?’ समाजसेवी श्रेष्ठले अनुमान गरे । खानेपानी र सरसफाइमा विकास निर्माण धेरै भइसकेको बताउने श्रेष्ठ अहिले बानीव्यहोरामा विकास हुनुपर्ने अभियानमा जुटेका छन् । यो अफिसियलभन्दा व्यक्तिगत अभियान बढी रहेको उनी सुनाउँछन् । त्यही सोचलाई सदर गर्न नेपाल सरकारलाई समेत दबाब दिएर देशका ७५ वटै जिल्लामा महिला सरसफाइ कार्यकर्ता परिचालन गर्न/गराउन सफल भए ।
उनकै सक्रियतामा नेपालमा पहिलोपटक ‘साबुनपानीले हात धुने’ हुलाक टिकट बन्यो । अफिसिएल रूपमा दक्षिण एसियाको सरसफाइ सम्मेलनमा उनकै परिकल्पनामा ‘सरसफाइ गुरुयोजना’ बनाउने प्रस्ताव पास भयो । ‘सन् २००८ देखि २०११ सम्म मैले जुनसुकै सरकार आए पनि त्यो प्रस्ताव छाडिनँ,’ श्रेष्ठले भने, ‘धेरै समय, श्रम र व्यक्तिगत पैसा खर्चेर पनि हामीले त्यो योजना ‘लन्च’ गराएरै छाड्यौँ ।’
सरसफाइ र सामाजिकसेवा नै जीवनको लक्ष्य बनाएका श्रेष्ठले पूरै नेपाल र आधा विश्व घुमिसकेका छन् । उनी नेपालको विकास नुहुनुमा ‘नकारात्मक सोच’ प्रमुख कारण देख्छन् । ‘म भारतको आग्रा विश्वविद्यालयमा एमए पढ्दा धेरै कुरा अवलोकन गर्थें । केही समयअघि चन्डीगढ घुम्न गएको थिएँ,’ श्रेष्ठले भने, ‘त्यहाँ थोत्रा वस्तु सजाएर खुला म्युजियम बनाएको पाएँ ।’ उनी थप्छन्, ‘राम्रो उद्देश्यले गरिएको नराम्रो काम पनि सुन्दर भइदिन्छ ।’ ‘पद र पैसाभन्दा समाजसेवामा विश्वास गर्ने’ श्रेष्ठ भन्छन्, ‘स्वार्थमा फँसेर गरिएको कुनै पनि कार्य सकारात्मक हुँदैन ।’
पूरै देशलाई कार्यथलो, नारायणलाई हुर्किएको माटो र काठमाडौंलाई बासस्थान भन्न रुचाउने समाजसेवी श्रेष्ठको एउटा अर्को सपना छ, ‘जन्मथलो बन्दीपुरको डाँडोमा मानवनिर्मित ताल बनाउने ।’

प्रतिक्रिया