गाईजात्रे राजनीति

राजनीतिक दलहरू संविधान निर्माणको काम छाडेर फेरि एकपटक संविधानसभाको म्याद थप गर्न तम्सिएका छन् । यसले मुलुकमा वर्षौंदेखि जारी राजनीतिक संक्रमणलाई लम्ब्याएको छ । दलहरूले जनआन्दोलन, जनभावना र सर्वोच्च अदालतको निर्णयविपरीत लागेर मुलुकलाई रणभुल्लमा पार्न खोजेका छन् । अहिलेको प्रमुख कार्यभार भनेको आमनेपालीको चाहनाबमोजिम सबै दलहरूको सहमतिमा निर्धारित समयमै नयाँ संविधान निर्माण गर्नु हो । तर, दलहरूले आफ्नो दायित्व र राष्ट्रको आवश्यकता बिर्सिएको जस्तो छ । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैँ दलहरू संविधान निर्माण गर्ने प्रमुख कार्यभार छाडेर फेरि संविधानसभाको म्याद बढाउने तयारीमा जुटेका छन् । १४ जेठअघि नै संविधान निर्माण गर्न भनेर सहमतीय राष्ट्रिय सरकार गठन गर्न पुगेका दल फेरि विभाजित हुनसक्ने खतरा बढेको छ । यसले मुलुक फेरि ध्रुवीकरणतर्फ अगाडि बढ्न सक्ने खतरा रहेको छ । दलहरूका क्रियाकलापले जनताको आशा, भरोसा र विश्वास सबै हराएको छ । कहिले संविधान निर्माण गर्ने बेलामा सरकार गठन र विघटन गर्न पुग्छन् भने कहिले संविधानसभाको म्याद मात्रै थप्ने कुचेष्ठा गरिरहन्छन् । राष्ट्रको सारा ढुकुटी यी सभासद्लाई भत्ता दिँदैमा रित्तिने भयो । स्वदेशमा रोजगारी नपाएर बिदेसिन पुगेका नेपाली युवाको रेमिट्यान्सबाट हाम्रा नेता मोजमस्ती गरिरहेका छन् । यस अर्थमा नेपाली राजनीति गाईजात्रे तालको बनिरहेको छ । राजनीतिका ‘कमेडियन कलाकार’ अर्थात् नेताका चर्तिकलाका रमिते बन्न जनता विवश छन् । दलका नेताले मुलुकमा गाईजात्रा देखाउने होइन कि राष्ट्र र जनताका समस्याप्रति संवेदनशील भएर निष्ठा र नैतिकताको राजनीतिक गर्न सिक्नुपर्छ । भविश्यमा आफ्नो साख जोगाइराख्न दल र तिनका नेतृत्वले बेलैमा सचेत हौ । नेपालको भविश्य नेपालीहरुकै हातमा छ । यसका लागि हाम्रा राजनीतिज्ञ, नागरिक समाज, नेपालप्रति सद्भाव राख्ने सबैले सजग र संवेदनशील हुन जरुरी छ ।

(खरेलसँग फोनबाट मागिएको धारणा)

प्रतिक्रिया