संविधानसभाको म्याद ३ महिना थप्ने निर्णय


काठमाडौं, ९ जेठ । सर्वोच्च अदालतको  फैसला र आदेश विपरित सरकारले संविधानसभाको म्याद तीन महिना थप्न विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बेलुका सिंहदरबारमा बसेको बैठकले संविधानसभाको म्याद तीन महिना थप्ने प्रस्ताव पारित गरेको उपप्रधानमन्त्री समेत रहेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । विधेयक आजै संसद सचिवालयमा दर्ता गरिएको छ ।
अन्तरिम संविधानको अब १३ औं पटक संशोधन हुने छ । उपाध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतको भावना अनुसार सहमतिमा नयाँ संविधान जारी गर्नका लागि तीन महिना म्याद थप गर्ने निर्णय गरेको बताए ।
यस अघि एमाओवादी, कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरम नेपालका शीर्ष नेताहरुको बैठकले संविधानसभाको म्याद तीन महिना थप गर्ने निर्णय गरेको थियो ।
शीर्ष बैठकमा प्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले संविधानसभाको म्याद तीन महिना थप्नका लागि प्रस्ताव गरेको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।
बैठकमा कांग्रेस र एमालेले संविधानसभाको म्याद थप गर्न नहुने धारणा राखेको नेता निधिले बताए ।
उता, सर्वोच्च अदालतले यस अघिनै संविधानसभाको म्याद नथप्न निर्देशनात्मक फैसला गरिसकेको थियो ।
नयाँ संविधान जारी गर्ने समय ६ दिन मात्रै बाँकी रहदा दलहरुले संविधानको मस्यौदाको साटो म्याद थपको प्रस्ताव संसद सचिवालयमा लगेका हुन् ।

प्रतिक्रिया