त्रिभुवन विश्वविद्यालय बेरोजगारीको कुटिर उद्योग

तिम्रो पद्धतिमा
धान फल्ने फाँट जबर्जस्ती चर्चेर बस्छ विश्वविद्यालय
र,
केवल उमार्छ नाभो
(विनोदविक्रम केसी/पद्धति)

अनवरत घाम, पानी, शीत र तुषारो भोगेर परिपक्व (या वृद्ध) भएको त्रिभुवन विश्वविद्यालय अहिले सर्वाधिक कष्टमय समयको वाणी बोल्दै छ । समयको यो लामो कालखण्डमा देशले जति क्रन्दन र चित्कार भोग्यो, तिनका हिक्कामा त्रिभुवन विश्वविद्यालय पनि भक्कानियो । धेरैका सपना हुर्कायो अनि कतिका सपनालाई घोक्रेठ्याक लगाएर सडकमा फ्याँकिदियो । यसभित्र विद्यार्थीका वेदनाका मुस्ला उचालिएका छन्, विवशताका छहरा सुसाएका छन् । यसका आँगनमा निराशाका वृक्ष हल्किएका छन् । समयले त्रिभुवन विश्वविद्यालयको पोल्टामा पारिदिएको यथार्थ यही हो । थुप्रैका आकांक्षाले यसकै छानोमुनि आत्महत्या गरेका छन् । पछिल्तिर फर्केर हेर्दा विश्वविद्यालय सायद देख्दो हो– उसका छातीमा पढ्ने कति विद्यार्थी डढेलोमा सल्केर पनि बाँचेछन् ।
अब एकछिन कीर्तिपुरबारे कुरा गरौँ, जसको भूमिमा विश्वविद्यालयले सान–सौकत खडा गरेको छ । गोपाल वंशकालदेखि नै बस्ती बसिसकेको कीर्तिपुरले उति बेला आश्चर्यजनक भन्न मिल्ने सभ्यता जन्मायो र दीर्घायु हुने गरी हुर्कायो । तर, केही दशकयता यस ठाउँले तीव्र गतिमा प्राज्ञिक बेरोजगार उत्पादन गरिरहेको छ ।
पचहत्तरै जिल्लाबाट विद्यार्थी ओइरिने महासागर हो यो विश्वविद्यालय । पहिलोपटक यहाँ पाइला टेक्ने जो कोही विद्यार्थी अध्ययन र राजनीतिको यस केन्द्रमा कुहिरोको काग बन्छ । मसँग भर्खरै परिचय भएका गुल्मीका एकजना समाजशास्त्रका विद्यार्थीले भनेका थिए, ‘पृथ्वीनारायण शाहले कीर्तिपुर विजय गर्दा कीर्तिपुरवासीको नाक र कान काटी सत्र धार्नी बनाएका थिए रे नि, साँच्चै हो ?’ मैले पनि थाहा पाएको त्यत्ति हो । सानैदेखि पढेका इतिहासका दृष्टान्तहरू र अल्पज्ञानका आधारमा ‘हो’ भनेँ । तर, त्यसैबेला मेरो मानसमा आएको पृथ्वीनारायणको अनुहार त्यति सम्मानित थिएन ।
स्साला † इतिहास शासकहरूकै रहेछ । इतिहासका जुनै कालखण्डमा पनि पीडित त सामान्य जनता मात्रै हुने रहेछन् † मैले भनँे, ‘कीर्तिपुरवासीलाई चाहिँ यो कुरा नसोध्नुहोला है, उनीहरूको घाउको पाप्रो उक्किन थाल्छ । उस्तै परे तपाईंप्रति आक्रोशित पनि होलान् ।’ देशको चारै कुनामा जातीय द्वन्द्व चर्किरहेका बेला यस्तो क्रूर ऐतिहासिक ‘तथ्य’ प्रति कीर्तिपुरवासी बेखबर छैनन् । भन्छन् नि– ‘क्षमा गर तर नबिर्स ।

वास्तवमा नाक काटिएको, बूढो र कुरूप कीर्तिपुर काटिएको आफ्नो नाक मागिरहेछ, सारा देशसँग । पृथ्वीनारानका सिपाहीहरूले कसरी छानीछानी काटे होलान् जनताका नाक ? उफ् † नृशंसताको पनि हद हुन्छ †
विश्वविद्यालय पढ्ने, कीर्तिपुरमा डेरा भाडा गरी बस्ने विद्यार्थी सधैँ चिन्ताको भारी बोक्छन् । पानीको हाहाकार, ग्यासको हाहाकार, सधैँ गजधुम्म परेर बस्ने अभाव, त्यसमाथि तथाकथित सुनौलो भविष्य निर्माण गर्ने पढाइको टेन्सन । यस्तो लाग्छ– सबै सहेर बाँच्न अभिशप्त छन् उनीहरू । परीक्षाका बेला पढ्ने कि पानी खोज्ने ? उनीहरूको चिन्ताको अन्त्य छैन ।
भाडामा बस्ने विद्यार्थीको चाप यस्तो छ कि, कीर्तिपुरमा नुवाइधुवाई गर्ने पानीको त के कुरा खानेपानी नपाएर घन्टौँ हिँडेर टाढाटाढा पुग्नुपर्ने बाध्यता छ । पाँगा, नयाँबजार, भाजंगल, नगाउँ दोबाटो, ट्यांलाफाँटतिर खडेरीग्रस्त अनुहार लगाएर पानीको खोजीमा भौँतारिइरहेका विद्यार्थी भेटिन्छन् टन्नै । तिनको तनाबमा ग्यासको अभाव त जोडिने नै भयो ।

कीर्तिपुर कदापि कमजोर थिएन । पृथ्वीनारायण शाहलाई यसले मुखभरिको जवाफ नदिएको होइन । उनले काठमाडौं उपत्यकालाई चारैतिरबाट घेरेर नाकाबन्दी गरिसकेपछि कीर्तिपुरले गोर्खालीलाई दुईदुईवटा लडाइँमा हराएको थियो, जहाँ कालु पाण्डे मारिए, शूरप्रताप शाहको आँखा फुट्यो, पृथ्वी नारायण शाह आफैँ झन्डै मारिए । त्यो वीर कीर्तिपुर तेस्रोपटकको नाकाबन्दीमा लडाइँ नै नगरी गोर्खा राज्यमा गाभियो । त्यसपछि छ महिना अर्को नाकाबन्दी लगाइ कान्तिपुर तथा पाटन पनि गोरखाकै शरण परे कुनै युद्ध नै नगरी ।

यस विश्वविद्यालयमा छ, नेपालकै सबैभन्दा ठूलो पुस्तकालय ०१६ सालमा स्थापना भएको । यहाँ कहाँका विद्यार्थी आउँदैनन् ? को आउँदैनन् ? अहिले नेपालको उच्च शिक्षामा ७५ प्रतिशतभन्दा बढीको भार यसैले बोकिरहेको छ । यही मात्र एक विश्वविद्यालय हो नेपालको ‘थिंकट्यांक’ ।
आधा शताब्दी पार गर्‍यो, त्रिविले । फलाको सधैँ उस्तै छ– प्रतिस्पर्धात्मक र गुरणस्तरीय शिक्षाको । यसलाई लात हानेर सर्टिफिकेट च्याप्दै युरोपका भिसा लगाउन दूतावासमा लाइन बस्ने विद्यार्थीको भिडले अब उसका नारा फगत कर्कश ध्वनि भएको प्रमाणित गरिसकेका छन् । स्वदेशी केटालाई शिक्षित बनाउने अभिभारा सुम्पिएको सरकारले सबैभन्दा बढी बजेट यसैलाई दिन्छ तर खोइ यसले विदेशमा पसिना बगाउन दूतावासमा लाइन लाग्नेहरूलाई फर्काउन सकेको ? भविष्य चम्काउन शिक्षाको ज्योति पाउने भोक बोकेर आफ्ना प्रांगणमा निम्तिनेलाई सन्तुष्टि दिन सकेको ? आखिर कसको कमजोरी ? सबैका मुहारमा असन्तुष्टि मात्रै छ– विद्यार्थी, शिक्षक, विभाग प्रमुख…† यहाँको भिडतन्त्र, कोटा र भौतिक–शैक्षिक पूर्वाधारको दाँजोमा स्ववियुको राजनीतिक दबाबमा विद्यार्थी–शिक्षक भर्ना हुने, तोकिएको शैक्षिक पात्रोअनुसार अध्ययन, अध्यापन र परीक्षा नहुनेजस्ता कारण छन्– जसले यसलाई अब्बल दर्जाको भद्रगोल एकेडेमिक केन्द्र बनाएका छन् ।
राजनीतिले सबैतिर ध्वस्त पारेको छ । फेरि उनीहरू नै गोहीको आँसु झार्छन्– हामीकहाँ व्यावहारिक शिक्षा भएन । अहिले कुनै विकास योजना कार्यान्वयन गर्न विदेशी परामर्शदाता झिकाउनुपर्छ । हाइ–वे इन्जिनियरिङ अध्ययन गर्न विदेश पुग्नुपर्छ र यस्ता क्षेत्रको काम परिआएमा विदेशी प्राविधिज्ञ नै झिकाउनुपर्छ । किन सकेन त त्रिविले यस्ता स्वदेशी जनशक्ति उत्पादन गर्न ? कारण जान्न टाउको दुखाइरहनु पर्दैन ।
राजनीतिक हस्तक्षेप, विद्यार्थी राजनीति, क्याम्पस तालाबन्दी, हडताल, तोडफोड र धर्नाले सुदूर जिल्लाबाट सुखी भविष्यको कल्पनामा कीर्तिपुर आएका विद्यार्थीको जिन्दगी हिँड्ने बाटो अन्योलग्रस्त बनाएको छ । नियमित कक्षा सञ्चालन नहुनु, ढिलो परीक्षा हुनु, भौतिक साधन–सुविधा एवं शिक्षण जनशक्तिको अभाव हुनु र शैक्षिक क्यालेन्डर समुचित ढंगमा कार्यान्वयन हुन नसक्नु त्रिविलाई जीर्ण शय्यामा पल्टाइदिने दीर्घ रोग हुन् । सुविधाको अनुपातमा बढी विद्यार्थी भर्ना लिइनु र स्नातकोत्तर तहमा पनि विद्यार्थीलाई व्यापक अनुत्तीर्ण गराउनुजस्ता केही अन्य कारकहरू पनि छन् जसले कीर्तिपुरलाई नै बदनाम बनाएका छन् ।
दैनिकजसो विद्यार्थी संगठनबीचको मनमुटाव, झैझगडा र तोडफोडले यहाँको अध्ययन–अध्यापन नै ठप्प हुन्छ । आफ्ना समर्थित दलहरूको आदेशमा स्ववियु नामधारीहरूको हडतालले पनि सोझा विद्यार्थी मारमा छन् । यस विश्वविद्यालयमा सरकार बर्सेनि अर्बौं लगानी गर्छ तर त्यसको केही प्रतिशत पनि लगानी उठ्दैन । परीक्षा सकेको आठ–नौ महिनासम्म पनि नतिजा प्रकाशित हुँदैन, जसले विद्यार्थी चरम डिप्रेसनको शिकार हुन्छन् । यसको नतिजाले देखाउँछ– यहाँको शिक्षा साह्रै झुर हुँदै छ ।

०१३ सालमा सरकारले त्रिविका लागि जग्गा अधिग्रहण गर्दा अनेक तरंग उठे । भक्तपुर, ललितपुरभन्दा यहीँको जग्गा ठीक लागेछ तत्कालीन प्रधानमन्त्री डा. केआई सिंहको मन्त्रिमण्डलका शिक्षामन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटालाई । कीर्तिपुरेबीच चाहिँ हल्लीखल्ली मच्चियो– ‘लौ अब सरकारले हाम्रो जग्गा लिने रे ।’ सायद चौथोपटक कीर्तिपुरमाथि आक्रमण भएको अनुभूत गर्दै थिए कीर्तिपुरेहरू † विरोधका स्वर घन्किए नेवारी लवजमा– ‘जग्गा बराबर सुन दिन्छु भने पनि दिन्नौँ ।’ दुइटा समूह स्पष्टै देखियो– य: र मय: । अर्थात् हुन्छ भन्ने र हुँदैन भन्ने । फेरि नाक काटिन लागेको अनुभूतिमा डुबेका कीर्तिपुरे य:मा रहने कुरै थिएन । ०१३ सालमा जनमत संग्रह भयो । मय:ले जिते । य:मा एकै मत परेन ।
तर, निरंकुशताका अगाडि कीर्तिपुरेले हार्नु नै थियो । यसपालि बाग्मतीका तत्कालीन अञ्चलाधीश काले बाजे उर्फ विष्ण्ुामणि आचार्यले धावा बोले । ‘मय:’ पक्षमा परेको मतलाई ‘य:’ पक्षमा परेको भन्दै राजा महेन्द्रलाई प्रतिवेदन बुझाए । जग्गा नापी गर्न सरकारी कर्मचारी खटिए । स्थानीयसँग भिडन्त भयो । नापी नगरीकनै एकैपटक चारकिल्ला तोकियो– पूर्वमा बाग्मती नदी, पश्चिममा ट्यांलाफाँट जाने बाटो, उत्तरमा बल्खु खोला र दक्षिणमा कीतिर्पुर बजार । हेर्दाहेर्दै सरकारी शक्तिका भरमा कीर्तिपुरेको नाकैमुनि ठडियो त्रिवि ।
त्रिविलाई टन्नै जग्गा चाहिएको थियो । तीनपटक गरी ६ हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरियो । मुआब्जा पनि कबुल गरे जति दिइएन । चार मुरी माटो अर्थात् एक रोपनी बराबर तीन सय ५० रुपियाँ मात्र मुआब्जा दिइयो । तर, तत्कालीन उपकुलपति सुवर्णशमशेरले ५० प्रतिशत बढाई एक रोपनीको पाँच सय २५ रुपियाँ तोकिदिए । पुनर्वास कम्पनी खडा भयो । तर, कीतिर्पुरको एक परिवार मात्र महेन्द्रनगर पुनर्वास भयो । त्यसपछि सरकारी कर्मचारीले ‘कागज मिलेन’ भन्दै किचलो झिकेर मुआब्जा दिन छाडे । मुआब्जा लिन जग्गाधनी प्रमाणपत्र चाहिन्छ भनेपछि प्रमाणत्र देखाउन नसकेर आधाजसोले मुआब्जा पाएनन् ।

देशकै सबैभन्दा ठूलो यो शिक्षालयको आधारभूत संरचना खडा गरिएको ठाउँको इतिहास यस्तो छ । समाजलाई नेतृत्व दिने अनि सिद्धान्त घोकेर कण्ठै पारेका फम्र्याटेड एकेडेमिक मान्छेहरूको भिडभाड हुने लोकेसन हो यो । यहाँका प्रोफेसरहरू विद्यार्थीहरूको नेतृत्व गर्छन् । तर, विश्वविद्यालय संस्कृति भने यहाँ नदारद छ । जे होस् यो एउटा शैक्षिक थलोचाहिँ पक्कै हो । सिक्ने र सिकाउनेप्रति बडो त्याग र समर्पण हुन्छ । जुनसुकै कुनामा पुगे पनि ‘इन्टेलेक्चुअल’ हिँडिबसेका हुन्छन् । यहाँ जुनैबेला पनि बौद्धिक व्यायाम भइरहेको देखिन्छ । तर, सँगसँगै शक्तिको प्रदर्शनी र तानातान पनि हुन्छ । शक्ति र बुद्धिको रोचक अन्तक्र्रिया हुन्छ, माक्र्सवाद, विकासवाद र पुँजीवादको चर्को बहस हुन्छ । विद्यार्थी र शिक्षक एकै ठाउँ भेला हुन्छन् । उनीहरूको मुख ह्वार्ह्वार्ती गन्हाउँछ– पोलिटिक्स, देश, व्यवस्था, समाज, विश्व ।
उता विद्यार्थीका काला टलकमा भोलिको समयको छाया छ । ट्वाइलेटका भित्ता, कक्षाकोठाका कुना, डेक्स र बेन्च सबैतिर विद्यार्थीहरू लेख्छन् आफ्ना कथा, प्रकट गर्छन् आफ्ना रोष । तिनमा क्रान्ति, प्रेम, कामुकताको उन्माद हुन्छ । बिहान–बेलुका बचेको समयमा ‘यसो पढौँ न त’ भनेर विश्वविद्यालय धाउने सहरिया बुहारीहरूचाहिँ बडो खुसी र सन्तुष्ट देखिन्छन् ।
विद्यार्थीका वर्ग पनि अनेकौँ, लवाइखवाइ र बोलिव्यवहारले थाहा लाग्छ । वर्गीय रेखा त विश्वविद्यालयमा पनि हुँदोरहेछ नि † तर, नयाँ ज्ञान र आविष्कारको हुटहुटीले यति टाढासम्म पढ्न आएका विद्यार्थी खुब निराश होलान् । आविष्कार र नयाँ ज्ञान त्रिविले दिन सक्दैन । प्राध्यापकसँग घन्टौँसम्म जिज्ञासा राखिरहेको विद्यार्थीको अनुहारमा देखिएका रेखाले उसको असन्तुष्ट भावको संकेत गर्छ । तर, पुन:संरचना, अखण्डता, प्रदेश, संघीयता, जातीय राज्यका नाममा राजनीति गर्ने, झगडा र ध्वंसमा रमाउने विद्यार्थी देख्दा विश्वविद्यालयको अनुहारले अँध्यारोको संकेत गर्छ ।

देश सल्कँदा देशकै जेठो यो विश्वविद्यालय पनि सल्केर अँगार र खरानी गर्भमा बोकेर उभिइरहेछ । यहाँ पढ्नेहरू, धेरैपल्ट फेल हुँदै–उठ्दै गर्नेहरू कीर्तिपुरका अँध्यारा रातमा बाँचिरहेछन् । थुप्रै विद्यार्थीमा विश्वविद्यालयप्रतिको विश्वास र भरोसा भत्किँदै गएको छ । कीर्तिपुरका अँध्यारा कोठाले विश्वविद्यालयमा पढ्ने अधिकांश विद्यार्थीलाई स्वागत गरिरहेको छ । कोठाभित्रका चार दिवारहरूमा विद्यार्थी आफूले नसोचेको चित्र देख्छ । ऊ एउटा बन्द कोठाभित्र सुस्ताउँछ, झोक्राउँछ, उम्लिन्छ र पोखिन्छ । त्रिभुवन विश्वविद्यालयको एउटा लय पक्रेर कुनै सुदूर जिल्लाबाट इन्जिन गन्हाउने बसमा पहिलोपटक काठमाडौं आएको विद्यार्थी नौलो सपना देख्छ, जसलाई यस सहरले कहिल्यै सम्बोधन गर्न सकेन । सायद, देशको सबैभन्दा ठूलो बेरोजगार उत्पादन गर्ने कारखाना हो हाम्रो महान् र मुलुककै जेठो विश्वविद्यालय । आफ्नै मुटुमा पढ्ने विद्यार्थीको पीडाको भाषा यसले बुझ्दैन । यहाँ सबै कुरा छ तर एउटै कुरा छैन– संवेदना । तपाईं त्यतातिर गएर केही दिन बस्नुभयो भने त्यसको खस्रो र संवेदनहीन छालाको स्पर्शले आत्तिनु हुनेछ । तैपनि सुध्रिन्छ कि भन्ने आश गर्नु र यसलाई नरक बन्नबाट जोगाउनु हाम्रै काम हो ।

प्रतिक्रिया