धौलागिरिका तीन सहकारी खारेज

बाग्लुङ, ५ जेठ । डिभिजन सहकारी कार्यालय बाग्लुङले धौलागिरिका तीन सहकारीलाई खारेज गरेको छ ।

खारेजीमा परेका सहकारीमा इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था, दुग्ध उत्पादक सहकारी संस्था र काफलचौर बहुउद्देश्य सहकारी संस्था रहेका छन् ।
कार्यालयको स्थलगत निरीक्षणले ती सहकारी संस्था निष्क्रिय रही बन्द भएको र सम्बन्धित संस्थाका सञ्चालक समिति/सरोकारवाला र निरीक्षण प्रतिवेदनको रेकर्डबाट खुल्न आएकाले खारेज तथा दर्ता प्रमाणपत्रसमेत रद्द गर्ने निर्णय गरेको कार्यालयका प्रमुख विष्णु सुवेदीले बताए ।
कार्यालयले दर्ता भएका संस्थालाई आ–आफ्नो संस्थाको विवरण सहकारी ऐन २०४८ को दफा ३४ बमोजिम पेस गर्नु भनी गत १० माघमा सार्वजनिक सूचना प्रकाशन तथा प्रसारण गरेको थियो । तीन संस्थाबाट कुनै पनि विवरण नआएपछि खारेज गरिएको कार्यालय प्रमुख सुवेदीले बताए ।
कार्यालयले वार्षिक साधारणसभा नगरेको, हिसाब पारदर्शी नगराएको, नियमित रूपमा प्रगति विवरण कार्यालयमा नपठाएको लगायतका ८१ सहकारीलाई चेतावनीस्वरूप पत्र पठाएको थियो, जसमध्ये अधिकांश सहकारीले पुन: सक्रिय हुने अवसर दिन आग्रह गरेको कार्यालयले जनाएको छ । (सौस)

ग्रामीण क्षेत्रमा ‘सहकारी जागरण’

काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसरमा सहकारी अभियानको प्रवद्र्धनका लागि ‘सहकारी जागरण’ कार्यक्रम गरिएको छ । जिल्ला सहकारी संघ ललितपुरको आयोजनामा ललितपुरको ग्रामीण भेग प्युटार गाविसमा सहकारी जागरण कार्यक्रम सञ्चालन गरिएको हो ।
ग्रामीण क्षेत्रमा सञ्चालन भएका सहकारी संस्थाको जागरण, संस्थागत विकास र प्रवद्र्धनका लागि कार्यक्रम उपलब्धिमूलक हुने संघका अध्यक्ष माधव दुलाल बताउँछन् । ग्रामीण क्षेत्रका सहकारीको उत्पादनलाई सहकारीमार्फत नै बजारीकरण गरी वैज्ञानिक व्यापारिक प्रणालीमा रूपान्तरण गर्नुपर्ने पनि दुलालले बताए । सहकारी अभियानमा सहकारी शिक्षा, तालिम, जागरणात्मक कार्यक्रम र सामूहिक नेतृत्व विकास अभावका कारणले सहकारी संस्थाको व्यवस्थापन र विकासमा अपेक्षाकृत उपलब्धि हुन नसकेको संघका शिक्षा तथा तालिम उप–समितिका संयोजक राजेन्द्र पौड्याल बताउँछन् ।
कार्यक्रममा सहभागी सहकारीकर्मीले सहकारीलाई तीनखम्बे अर्थनीतिमा महत्त्वका साथ स्वीकार गरे तापनि व्यावहारिक प्रयोगमा भने कम प्राथमिकता दिएको धारणा राखेका थिए । उनीहरूले गाविसस्तरबाटै सहकारी जागरण र विकासमा गाविसको स्रोतलाई परिचालन गर्न पहल गर्नुपर्नेे धारणा व्यक्त गरे । सहकारी वर्षलाई ‘सहकारी जागरण’ वर्षका रूपमा गाउँ–गाउँसम्म सहकारी लैजाने लक्ष्यअनुसार कार्यक्रमको आयोजना गरेको संघले जनाएको छ । कार्यक्रममा प्युटार, आश्राङ र गिम्दी गाविसका १८ वटा प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको संघले जनाएको छ ।

प्रतिक्रिया