चेन्नाई प्ले–अफ धरापमा

चेन्नाई, ५ जेठ । पछिल्ला लगातार दुई संस्करणको विजेता चेन्नाई सुपर किङस जारी पांचौं इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको प्ले–अफका लागि छनोट हुने सम्भावना कमजोर भएको छ । सहभागी नौ टोली प्रत्येकले १६–१६ म्याच खेलिसकेपछि प्रथम चार स्थानमा रहने टोली प्ले–अफका लागि क्वालिफाइ हुने प्रावधान छ ।
बिहीबार किङस इलेभेन पन्जाबसँग ६ विकेटले पराजित भएपछि चेन्नाई शीर्ष चारमा रहन सक्ने सम्भावना कमजोर भएको हो । यता जितपछि पन्जाबले भने प्ले–अफ खेल्ने सम्भावना सहज बनाएको छ । आफ्ना सबै १६ खेल खेलिसकेको चेन्नाई १७ अंकका साथ चौथो स्थानमा रहे पनि ऊपछिका दुई टोली पन्जाब र बंगलोर अगाडि बढ्न सक्ने बलियो सम्भावना छ ।
किङस इलेभन पन्जाब १५ खेलबाट १६ अंक जोडेर पाँचांै स्थानमा छ भने १४ खेलबाट १५ अंक जोडेको रोयल च्यालेन्जर्स बंगलोर छैटांै स्थानमा छ । पन्जाबको थप जितमा चेन्नाई बाहिरिनेछ भने बंगलोरको कम्तीमा एउटा जितमा पनि सम्भावना कमजोर हुनेछ । तर बंगलोर र पन्जाबलाई त्यति सजिलो भने हुनेछैन । दुवै टोलीले अब दिल्ली डेयरडेभिल्ससँग खेल्नेछन् भने बंगलोरको बाँकी एक खेल डेक्कन चार्जर्सविरुद्ध हुनेछ ।
पन्जाबको कसिलो बलिङसामु कमजोर ब्याटिङ प्रदर्शन गरेको चेन्नाई निर्धारित २० ओभरमा १२० रनमा सीमित भयो । प्रतियोगिताको मध्यतिरबाट पुनरागमन गरेको पन्जाब २१ बल बाँकी छँदा लक्ष्य पूरा गर्न सफल भयो । पन्जाबका लागि प्रारम्भिक ब्याट्सम्यान एडम गिलक्रिस्टले अविजित ६४ रन बनाए । ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरेका यी अस्ट्रेलियन ब्याट्सम्यानले पहिलो विकेटका लागि मन्दीप सिंह (२४) सँग ५१ रनको साझेदारी गरेका थिए ।
यसअघि टस जिती ब्याटिङ गरेको चेन्नाईलाई कम योगफलमा सीमित गर्ने क्रममा अजहर मेहमुद, प्रविन कुमार र पर्विन्दर अवानाले समान दुई विकेट लिए । ड्वायन ब्राभोले ४८ रन जोड्नुबाहेक चेन्नाईका अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय इनिङ खेल्न सकेनन् ।

कोलकाता नाइटराइडर्स प्ले–अफमा
यसअघि बुधबार सम्पन्न रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सविरुद्ध नाटकीय विजय प्राप्त गर्दै कोलकाता नाइटराइडर्स प्ले–अफका लागि छनोट भएको छ । कोलकातालाई विजयी बनाउने क्रममा बलर स्पिनर सुनील नारायन नायक बने । उनले ३.१ ओभरमा १५ रन खर्चिएर महत्त्वपूर्ण चार विकेट लिएपछि १४१ रनको विजयी लक्ष्य पछयाएको मुम्बई ३८ रनले पराजित भयो ।
कुनै समय १५ ओभरमा ८३–४ को स्थितिमा रहेको मुम्बई १९.१ ओभरमा १०८ रनमा सीमित भएको हो । नारायनले सचिन तेन्दुलकर (२७), रोहित शर्मा (११) र हरभजन सिंह (१) र आरपी सिंह (३) लाई आउट गरेका थिए । ज्याक कालीस र लक्ष्मी बालाजीले दुई–दुई विकेट लिंदै नारायनलाई बलियो साथ दिए । पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेको मुम्बई इनिङको पछिल्लो समयतिर लगातार विकेट झरेपछि १०४–८ को स्थितिमा पुगेको थियो ।
यसअघि टस जिती ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभर खेले पनि ठूलो योगफल तयार गर्न सकेन । कोलकताका लागि प्रारम्भिक ब्याट्सम्यान तथा कप्तान गौतम गम्भीरले २७ र मनोज तिवारीले ४३ रन जोडेका थिए । १५ खेलबाट १९ अंक जोड्दै कोलकाता शीर्ष चारमा रहने निश्चित भएको हो । एक खेल खेल्न बाँकी रहेको पाँचांै स्थानको पन्जाबभन्दा कोलकाता तीन अंकले अगाडि छ । हारपछि पनि मुम्बई १५ खेलबाट १८ अंकमा कायम रहे पनि तेस्रो स्थानमै रहेको छ ।

प्रतिक्रिया