आत्मप्रेरित विजय

‘गीत लेख्ने मेरो योजना थिएन, ममा त्यो स्वभाव रहेछ र गीतकार भएँ,’ गीतकार विजय सिवाकोटीले भने, ‘फूललाई कसले प्रेरित गरेर फुल्छ र ? खोलालाई कसले घचघच्याएर बग्छ र ? मलाई पनि कुनै घटनाले छोएको होइन, मभित्र त्यो स्वभाव थियो, मैले लेखेँ ।’
झन्डै एक हजार गीत लेखिसकेका सिवाकोटी घटनाले अभिप्रेरित भएर गरिएको सिर्जनामा बुद्धिको सम्मिश्रण हुने बताउँछन् । ‘बुद्धिले गरिएको रचनामा नियोजन हुने’ हुँदा त्यहाँ भावनाको उपस्थिति कम देख्छन् । उनको एकल रचनाका ‘चाहना’ र ‘मोडहरूमा’ एल्बम बजारमा छन् । दीपक खरेलको स्वर र दीपक जंगमको संगीतमा उनको ‘आशय’ एल्बम अन्तिम तयारीमा छ । नयाँ आउने एउटा फिल्ममा झन्डै पाँचवटा गीत दिने तयारी पनि गरिरहेका रहेछन् ।
गीत लेखनयात्रामा जीवनका २५ वर्ष गुजारेका सिवाकोटी वर्तमानमा अब्बल दर्जाका गीतकार मानिन्छन् । १७ वर्षको लक्का उमेरमै उनले बिहानी शीत बनी मेरो दिलमा आइदियौ, झस्काई सपनीझैँ सधैँलाई हराइदियौ  बोलको गीत लेखे । गायक सुनील उप्रेतीले तात्तातै गाएको त्यो गीतले सिवाकोटीको नाम नेपाली गीतकारको सूचीमा दर्ज हुन पुग्यो । २०४३ सालमा पहिलोपटक गीत लेखेका सिवाकोटीका अहिले झन्डै एक सय ५० वटा गीत रेकर्ड भइसके । नवीन के भट्टराईले गाएको छैन जुन किन जुनजस्तोलगायत गीत अत्यधिक चर्चामा रहे ।
घर काठमाडौंमै भए पनि आमाको उपचारका सिलसिलामा सिवाकोटीको जन्म दार्जिलिङमा भएको रहेछ । बुबा मेडिकल डाक्टर पुण्यप्रकाश र आमा उर्मिलाको कोखबाट ४२ वर्षअघि जन्मिएका हुन् उनी । काठमाडौंबाट माध्यमिक शिक्षा सकेका गीतकार सिवाकोटीले अमेरिकाको जर्जमेसन युनिभर्सिटीबाट कम्प्युटर इन्जिनियरिङ पास गरेका छन् ।
कुनै पनि गीत लेख्न पाँच मिनेटभन्दा बढी समय नलाग्ने दाबी गर्ने सिवाकोटी भन्छन्, ‘त्योभन्दा बढी समय लाग्छ भने त्यो स्वत:स्फूर्त नभएर बौद्धिक सिर्जना हो ।’ पेसाले प्रशिक्षण र पर्यटन व्यवसाय गर्दै आएका यिनलाई कसैले जबरजस्ती ‘पान पसले’ बनाइदिए के गर्थे होला ? ‘त्यहाँ पनि चोरी–चोरी गीत नै लेख्थेँ सायद,’ उनले प्रश्न नखस्दै जवाफ दिए । गीत लेख्नु कुनै प्राप्ति भने होइन रहेछ, सिवाकोटीको । उनले भने, ‘गीत मेरो प्रार्थना हो । यसमा आनन्द लुकेको हुन्छ । प्रार्थनामा पनि के अपेक्षा गर्नु र ?’ उनी प्रार्थना गर्न गीत लेख्छन्, गीत सकिन्छ खुसी हुन्छन् रे †
उनको गीत कुनै एकका लागि इंगित नभएर सबैका लागि हुन्छ रे । भन्छन्, ‘घाम लाग्छ, शीतल हुन्छ, पानी पर्छ ।  यो कसै एकका लागि त होइन होला नि ? मेरो गीत पनि सबैका लागि हो ।’ गीत लेखेबापत उनले एकपटक गजबको अनुभूति सँगाले । सिवाकोटीको अंग्रेजी शब्द सुनेर विदेशी महिला सिन्थिया मेरी प्रोटोल्याटिनले उनलाई एउटा स्टोरमा लगिछन् । अनि त्यहाँका चर्चित एल्बम छान्न लगाएर तीनवटा उपहारस्वरूप दिइछन् ।
भर्खरै संगीत रोयल्टी संकलन समाज नेपालका महासचिवमा निर्वाचित सिवाकोटीको गीत लेखनयात्रा कहिलेसम्म जारी रहला त ? उनले आफ्नो रेकर्डेड गीतमै जवाफ दिए –
‘मैले गीत लेखेको थिइनँ, उसैले थ्यो लेखेको
मैले मात्र फूललाई हेरेको थेँ, उसैले थ्यो देखेको ।’

प्रतिक्रिया