‘फेस्टिवल अफ फुटबल’ मा यु–१४ रेफ्री कोर्स

काठमाडौं : एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रमअनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘एएफसी यु–१४ फेस्टिवल अफ फुटबल–२०१२’ अन्तर्गत फुटबल रेफ्री कोर्स सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भयो ।
दक्षिण एसिया क्षेत्रका लागि १४ देखि २३ मेसम्म सञ्चालन हुने कार्यक्रममा नेपाललगायत श्रीलंका, भारत, बंगलादेश र भुटानका युवा रेफ्रीहरूको सहभागिता छ । २५ वर्षमुनिका युवा रेफ्रीहरू हुनुपर्ने प्रावधान रहेको यस कोर्समा नेपालका तर्फबाट प्रकाश श्रेष्ठ, विक्रम चौधरी, ज्ञानबहादुर थापा, कृष्ण कन्हैया यादव, प्रज्ज्वल क्षत्री, रोजेन खड्गी, राजकुमार खड्का, रोशन गुरुङ, शक्ति श्रेष्ठ र यशराज राई सहभागी छन् । बंगलादेशका होसेन अली र मोहम्मद नजमूल, भुटानका पेमा ग्याल्जेन र पेमा छेवाङ, भारतका बाइरामुथु पारासुरआन र वेङ्कटेश रामचन्द्रन तथा श्रीलंकाका कन्काई माथुमगला र केसे शिल्भा गरी १८ जना कोर्समा सहभागी छन् । सहभागीलाई एएफसीका रेफ्री इन्स्ट्रक्टर नोबोरु इसियामा (जापान) र हुसेन गदाफेरी (कुवेत) ले प्रशिक्षण दिनेछन् ।
कार्यक्रममा एन्फा उपाध्यक्ष एवं प्रवक्ता ललितकृष्ण श्रेष्ठले ‘फेस्टिवल अफ फुटबल’ को आयोजनालाई एन्फाले गौरवसाथ लिएको र यस किसिमको कार्यक्रमले एन्फालाई आÏनो व्यवस्थापकीय जिम्मेवारी अझ प्रभावकारी ढंगले निर्वाह गर्न मौका प्रदान गरेको बताए ।
यसैगरी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै इन्स्ट्रक्टर नोबोरु इसियामाले कार्यक्रम युवा रेफ्रीहरूका लागि सुनौलो अवसर रहेको विचार व्यक्त गरे । उनले यस कोर्समा उत्कृष्ट हुने रेफ्रीहरू ‘प्रोजेक्ट फ्युचर रेफ्री कोर्स’ का लागि छनोट हुने बताए । सोही अवसरमा एएफसी फेस्टिवल फुटबल–२०१२ का प्रोजेक्ट म्यानेजर जोन ह्विट्टलले युवा रेफ्रीहरूलाई इन्स्ट्रक्टरहरूबाट अनुभव र ज्ञान हासिल गरी अरूको नक्कलभन्दा आÏनो व्यक्तित्व बनाई रेफ्री भूमिका निर्वाह गर्न सल्लाह दिए । (सौस)

प्रतिक्रिया