बिन्दासको झुक्याउने मुहूर्त


काठमाडौं २ जेठ । नायिका सुष्मा कार्की एकाएक आइन् अनि भन्न थालिन्– आज फेसबुकमा कस्तो फोटो सार्वजनिक भएछ । उपस्थितहरूमा उत्सुकता जाग्दै थियो– आखिर के देखिछन्, यी नायिकाले फेसबुकमा ? त्यत्तिकैमा अर्की नायिका रोशनी घिमिरे पनि त्यस्तै उत्सुकता बोकेर आइपुगिन्, ‘हैन, साँच्चै के रहेछ त्यस्तो फेसबुकमा ?’ अब अर्का नायक सुसान कार्की आइपुग्छन्, अनि भन्छन्, ‘अब, मैले बसमा देखेकी केटी फेसबुकमार्फत चिनिहाल्छु नि !’
यसो भन्दै गर्दा ती तीनै नायकनायिका एकै ठाउँमा जम्मा भइसकेका छन्, कतैबाट आवाज आउँछ– कट । प्रसंग हो– सोमबार बालाजु ल्याबमा गरिएको चलचित्र बिन्दासको शुभमुहूर्तको । अस्पष्ट लाग्ने यी संवादहरूमार्फत चलचित्र मुहूर्तको यो नौलो शैली देखेर सबैजना झुक्किए । सबैजना मुहूर्तको औपचारिक कार्यक्रम पर्खेर बसिराखेका थिए । एकाएक निर्देशक राजु गिरीले भने– मुहूर्त सकिइसक्यो त † यही नै हो मुहूर्त । कार्यक्रममा नेत्री सुजाता कोइरालाले नरिवल फुटाएर शुभ साइत छोपिदिएकी थिइन् ।
‘मुहूर्त अरूभन्दा फरक तरिकाले गरौँ भनेर यो शैली अपनाएका हौँ,’ निर्देशक गिरीले भने । गिरीकै निर्देशन तथा राजु केसी निर्माता रहने यो चलचित्र मार्सल फिल्म्स् प्रलिको ब्यानरमा निर्माण हुन लागेको हो । सुष्मा कार्की, रोशनी घिमिरे, सुसान कार्की, अशोक फुयाललगायतको मुख्य भूमिका रहने चलचित्रमा अर्जुन पोखरेलको संगीत र महेश गोदारको नृत्य रहनेछ । अहिलेका युवापुस्ताको ट्रेन्डलाई समात्दै जीवनमा सेक्स भनेको केही होइन, त्योभन्दा ठूलो त माया नै हो भन्ने कुरा चलचित्रमा देखाउन खोजिने निर्माणपक्षले जानकारी गरायो । मुहूर्तलगतै चलचित्रका द्वन्द्वदृश्यको छायांकन सुरु गरिसकिएको छ ।

प्रतिक्रिया