इवाले गरिन् विवादको खण्डन

हलिउड अभिनेत्री इवा लोन्गोरियाले पछिल्लोचोटि आफ्ना बारे फैलिएको समाचारमा सत्यता नभएको बताएकी छन् । केही समयपहिले डेस्परेट हाउसवाइब्सका टेरि हेचरसहित अन्य कलाकारसँग उनको ठूलै विवाद चर्किएको समाचार सार्वजनिक भएको थियो । एक वेबसाइटलाई दिएको अन्तर्वार्तामा उनले आफूहरू अहिले पनि सँगसँगै रहने गरेको र कुनै विवाद नभएको उल्लेख गरिन् । यस्तो हल्लाले आफूलाई हैरानीमा पारेकाले बाध्य भएर समाचारको खण्डन गर्नुपरेको उनले एजेन्सीलाई बताइन् ।
एजेन्सीले उल्लेख गरेअनुसार डेस्परेट हाउसवाइब्सको अन्तिम सुटिङमा यी अभिनेत्रीले सहकलाकारहरूलाई उपहार पनि बाँडेकी थिइन् । उपहारका लागि बाँडिएको कार्डमा हेचरको नाम भने छुटेको थियो । यही आधारलाई लिएर आफू र हेचरबीच विवादको खबर फैलिएको हुन सक्ने अनुमान उनले गरिन् । कार्डमा हेचरको नाम झुक्किएर छुटेको र आफूहरूबीच कुनै विवाद नरहेको उनले स्पष्ट पारेकी हुन् । (एजेन्सी)

प्रतिक्रिया