‘सिम्रिकलाई उत्कृष्ट बनाउछौँ’

खेललाई निरन्तरता दिएको भए यतिबेला योगराज कँडेल शर्माको परिचय सिम्रिक एयर प्रालिको महाप्रबन्धकका रूपमा नभएर खेलाडीका रूपमा हुने थियो होला । तर सानैदेखि खेलकुदमा रुचि भए पनि उनी विस्तारै अर्कै क्षेत्रतिर लागे । विगत कबि १३ वर्षदेखि नेपालको हवाई क्षेत्रमा क्रियाशील कँडेल अहिले सिम्रिक एयरलाई नेपालको नम्बर एक हेलिकोप्टर कम्पनी बनाउने लक्ष्यमा छन् ।
खेलप्रतिको रुचिलाई साइडमा राखेर लक्ष्यमा लम्केका कँडेल कामप्रतिको लगनशीलता, आत्मविश्वास र इमान्दारिताले नै सफलताको शिखरमा पुर्‍याउने बताउँछन् । विगत ६ वर्षदेखि कम्पनीमा महाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका कँडेलको यही नै व्यवस्थापनको मूल मन्त्र हो ।
कामप्रतिको लगाव र धीरताका साथ मिहिनेतका पथमा लम्किरहने व्यक्ति नै सफलताको शिखरमा पुग्ने विश्वास राख्ने कँडेलको लक्ष्य सेवा, सुविधा र गुणस्तर सबै हिसाबले सन् २०१५ सम्ममा सिम्रिकलाई नेपालको एक नम्बर हेलिकोप्टर कम्पनी बनाउने हो । यसका लागि ‘एक्सन प्लान’ बनाएर अगाडि बढिरहेका छन् उनी ।
विश्वसनीय सेवा, नयाँ गन्तव्यको खोजी, व्यापारिक रणनीति र लगानीका क्षेत्रमा आफूले बनाएको योजनाअनुसार सिम्रिक नेपालको उत्कृष्ट हेलिकोप्टर कम्पनी बन्नसक्ने दाबी कँडेलको छ । यसका लागि कम्पनील आधुनिक सुविधासम्पन्न हेलिकोप्टर थप्ने कामलाई निरन्तरता दिइरहेको उनले बताए । सिम्रिकसँग अहिले दुईवटा बिके ११७ र एउटा नयाँ मोडलको एएस ३५० बी ३ प्लस हेलिकोप्टर छन् ।
फ्रान्सेली कम्पनी युरोकप्टरले निर्माण गरेको अत्याधुनिक मोडलको एएस ३५० बी थ्री ई हेलिकोप्टर मंगलबार मात्र नेपाल आइपुग्ने उनले जानकारी दिए । योसमेत कम्पनीले चारवटा अत्याधुनिक हेलिकोप्टरमार्फत् पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएको छ । व्यवसाय त छँदैछ, उच्च हिमाली क्षेत्रमा उडान भर्नसक्ने विशेषता भएको यो हेलिकोप्टरबाट पर्वतीय उडानका साथै उद्धार र धार्मिक गन्तव्यमा सेवा पुर्‍याउने कम्पनीको योजना छ ।
कैलाश मानसरोवर, मुक्तिनाथ, दामोदरकुण्ड, लुम्बिनी, पाथीभरा, हलेसी, खप्तड, बडिमालिकालगायतका धार्मिक गन्तव्य प्राथिमकतामा रहने तथा नयाँ गन्तव्य र प्याकेजमा पनि जोड दिइने कँडेलले बताए । जनवरी ०१२ मा निर्मित ६ सिटे यो हेलिकोप्टर नेपालमा उपलब्ध सबैभन्दा ‘लेटेस्ट’ उत्पादन हो । यसले १४ सय किलोसम्म बोक्न सक्छ । बुधबारको परीक्षण उडानपछि बिहीबारदेखि व्यावसायिक उडान सुरु गरिने कम्पनीले जनाएको छ ।
सिम्रिकले विदेशी मात्र नभएर आन्तरिक पर्यटकलाई पनि केन्द्रित गरेर योजना ल्याएको छ । नेपालीले पनि मनोरञ्जनका लागि हेलिकोप्टर चढ्न सक्ने बनाउनु कम्पनीको उद्देश्य रहेको कँडेल बताउँछन् । सन् २०१२ भित्र पाँचवटा हेलिकोप्टर पुर्‍याउने कम्पनीको लक्ष्य रहेको उनले बताए । यसअनुसार आगामी अगस्टमा कम्पनीले अर्को अत्याधुनिक हेलिकोप्टर ल्याउँदै छ । यसका लागि युरोकोप्टरसँग सम्झौता भइसकेको छ ।
०५६ भदौमा तत्कालीन कस्मिक एयरमा कनिष्ठ सहायकबाट हवाई क्षेत्रमा प्रवेश गरेका कँडेलले सो कम्पनीमा करिब आठ महिनासम्म काम गरे । यो अवधिमा वरिष्ठ सहायक भएका कँडेल ०५७ मा स्थापना भएको नयाँ विमान कम्पनी स्पेस एयरमा जुनियर म्यानेजर भएर प्रवेश गरे । करिब आठ महिना मात्र चलेको सो एयरलाइन्सको सम्पूर्ण स्वामित्व सिम्रिक एयरले लिएपछि उनी सोही कम्पनीमा म्यानेजर भए । अहिले उनी सिम्रिकको महाप्रबन्धक छन् । कामको सिलसिलामा हुने कमीकमजोरी सुधार गर्दै जाने स्वभावका कँडेल समयअनुसार गुणस्तर कायम राख्नसके पछाडि फर्केर हेर्नु नपर्ने बताउँछन् ।
गुल्मीमा ३८ वर्षअघि जन्मेका कँडेल नेपाली हवाई सेवाका क्षेत्रका जानकार मानिन्छन् । नयाँ कुरा सिक्न पछि नपर्ने स्वभावकै कारण उनले आफूलाई सधैं ‘अपडेटेड’ राखिरहन्छन् । ६ कक्षासम्म गुल्मीकै स्कुलमा अध्ययन गरेका कँडेलले एसएलसी भने भारतको वेस्ट बंगालबाट गरे । त्रिभुवन विश्व विद्यालयबाट एमएससी र पूर्वाञ्चाल विश्वविद्यालयबाट एमबिए गरेका कँडेलले अमेरिकाबाट एभिएसन म्यानेजमेन्टको एकवर्षे कोर्ससमेत पूरा गरेका छन् ।
प्रस्तुति– लक्ष्मीप्रसाद खतिवडा

प्रतिक्रिया