कलात्मक भित्तामा आमाको पीडा


काठमाडौं, २ जेठ । मानिसलाई सृष्टि गर्नेदेखि लिएर हुर्काउने, बढाउने र शिक्षित बनाउनेसम्मको काम नारीले गर्छन् । अनेक दु:ख खेप्छन् तर पनि आमाको पीडा न शिक्षित सन्तानले बुझ्छन् न त घर परिवार र समाजले नै † बबरमहलस्थित आर्ट काउन्सिलको भित्तामा यसपटक यस्तै पीडा झुन्डिएको छ, चित्रका रूपमा । जहाँ विविध विम्ब र प्रतीकहरूले नारीका पीडा बोल्छन् । उक्त चित्रको ब्याकग्राउन्डमा चरा र फूल देखिन्छन्, जो साक्षी छन्, घाँसदाउरा र उकालीओराली गर्ने क्रममा आमाले भोगेका वेदनात्मक मोडहरूका । आमाका यी पीडाका भावलाई चित्रमा उतार्ने कलाकार हुन्, शान्तकुमार राई ।
काउन्सिलमा सञ्चालन भइरहेको कला पुञ्ज तेस्रो शीर्षक प्रदर्शनीमा यी र यस्ता थुप्रै चित्र सजिएका छन् । तीमध्ये केही सिर्जना हुन्, लैनसिंह बाङ्देलका १६ शिष्यहरूका । तीसँगै सजिएका छन्, जीवरत्न शाक्य र कर्णनरसिंह राणाका चित्र पनि । यसरी हेर्दा जम्मा १८ कलाकारका ९४ वटा चित्र छन् । यी सबैले आआफ्नै भाव र भंगिमा सँगालेका छन्, हेर्नेहरू सबैलाई पृथक् तर हृदयस्पर्शी अनुभूतिमा डुबाउँछन् ।
शान्तकुमारको अर्को चित्रको शीर्षक हो– आमा, बच्चा र चरा । यसको मूल्य ३५ हजार रहेछ । अर्को सबैभन्दा महँगो चित्र शंकरराम सुवालले बनाएको भक्तपुरको बिस्केट जात्रा हो । यसको मूल्य ५ लाख रुपियाँ । यी दुवै चित्र खुब मन परेछन्, इन्भेस्टमेन्ट बैंकका सिइओ पृथ्वीबहादुर पाण्डेलाई । उनले किनी पनि सकेछन् ।
त्यस्तै अमूर्त चित्रकार जीवन राजोपाध्यायका तीन चित्र पनि आफ्नो छुट्टै भाव दर्साएर हेर्नेको मर्म खिचिरहेका छन् । ‘यी चित्र प्रकृतिबाट प्रेरित भएका छन्, सिधै नक्कल गरिएको होइन,’ उनले भने । अर्का चित्रकार हरि खड्काचाहिँ आफ्ना चित्रमार्फत प्रकृति अवलोकनको मजा चखाइरहेछन् । ‘यी भ्रमणका क्रममा सँगालिएका अनुभूति हुन्, त्यसैले रंग खेलाउन निकै मिहिनेत गर्नुपर्‍यो,’ ६३ वर्षीय खड्काले सुनाए ।
प्रदर्शनीका यी सबै चित्रमा तैल कलर, एक्रेलिक, वाटर कलर र पेनेन इंकको कलात्मक संयोजन छ । प्रदर्शनीमा रहेकामध्ये हालसम्म १० लाख ५० हजार रुपियाँ बराबरका चित्र बिक्री भएको बताइन्छ । प्रदर्शनी आजसम्म चल्नेछ ।

प्रतिक्रिया