चमेलिया जलविद्युत्को टनेल निर्माण पूरा


काठमाडौं, १ जेठ । सुदूरपश्चिमको एक मात्र निर्माणाधीन दार्चुलाको चमेलिया जलविद्युत् आयोजनाको सुरुङ (टनेल) निर्माण कार्य सकिएको छ ।
सन् ००७ देखि निर्माण सुरु गरिएको सात किलोमिटर लामो सुरुङको निर्माण शनिबार सकिएको हो । ‘शनिबार चमेलिया जलविद्युत्को सुरुङको ‘ब्रेकथ्रु’ भएको छ,’ आयोजनाका प्रमुख गोपालबाबु भट्टराईले भने ।
गत फेब्रुअरीभित्र सिध्याउने लक्ष्य राखिएको सो सुरुङ कमजोर भौगोलिक अवस्था, कडा चट्टानका कारण माथिबाट खस्ने, दाँयाबाँया भासिनेलगायतका कारणले निर्माणमा ढिलाइ भएको थियो । ‘भौगोलिक रूपमा धेरै अप्ठेरो भए पनि समयमै सुरुङ निर्माण गर्न सफल भएका छौँ,’ आयोजनाका इन्जिनियर सूर्य पौडेलले थपे ।
सुरुङ प्राधिकरणको कार्यतालिकाभन्दा पनि अघि नै निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरण उत्पादन निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डेले निर्धारित कार्यतालिकाभन्दा ६ दिनअघि नै सुरुङ ब्रेकथु्र गरिएको जानकारी दिए । ‘पहिला ३० मेभित्र सकाउने भनिएको थियो, पछि त्यसलाई प्राधिकरणले झारेर १८ मेमा ल्याएको थियो तर त्योभन्दा पनि ६ दिन अघि नै मे १२ मा सुरुङ निर्माण कार्य सिध्यायौँ,’ महाप्रबन्धक पाण्डे थप्छन्, ‘गत चैतको पहिलो साता चमेलिया पुगेर त्यहाँ देखिएका सबै समस्या बुझेर प्राधिकरण र सञ्चालक सदस्यले काठमाडां आएपछि समाधान गरेकाले काम छिटो भयो र सबै उत्साहले समय अगावै सकियो ।’
गत चैतको पहिला साता पूर्वऊर्जा राज्यमन्त्री सूर्यमान दोङलगायतको टोली चमेलिया पुगेर त्यहाँ देखिएका समस्या तत्काल समाधान गरेपछि सुरुङ निर्माण दु्रुतगतिमा भई कार्यतालिका अगाडि नै सम्पन्न गरिएको आयोजनाले जनाएको छ ।
शनिबार १० बजेर ४५ मिनेटमा सुरुङको ब्रेकथु्र भएको घोषणा गरियो । ब्रेकथ्रु भएको अवसरमा ठेकेदार कम्पनी, आयोजना, परामर्शदाता कम्पनीका प्रतिनिधिका साथै मजदुर र स्थानीयवासीहरू मिलेर नाचगानसहित भोजभत्तेर गरेका थिए । ‘ब्रेकथु्र हुनेबित्तिकै मादल र स्थानीय बाजागाजासहित नाचगान र बियर छर्केर रमाइलो गरियो,’ आयोजनाका उपप्रबन्धक अजय दाहालले थपे, ‘सुरुङ निर्माणदेखि आयोजना क्षेत्रभित्रसम्म नाचगान गर्दै आयोजनाको कार्यालयमा आएर बेलुका चिनियाँहरूले भोजभतेर पनि गरे, भव्य कार्यक्रम गर्न नसके पनि खुसीयाली भने सबैले एकआपसमा बाँडे ।’
सुरुङ ब्रेकथु्र भएको दिन खुसीयालीमा विशेष उत्सव मनाउने गरिन्छ तर सुदूरपश्चिम बन्द भएका कारण त्यो उत्सव भने स्थानीयवासी तथा आयोजनामा कार्यरत व्यक्तिबीचमा गरिएको थियो । ऊर्जासचिव हरिराम कोइरालालगायतका विशिष्ठ व्यक्तिको उपस्थितिमा उत्सव मनाउने कार्यक्रम आयोजनाले तय गरे पनि बन्दले कोही जान सकेनन् । उनीहरूले नाचगान, भोज गरेर सबै माझ सुरुङ निर्माण सम्पन्नको खुसीयाली मनाएका थिए ।
दक्षिण कोरियाको सहयोगमा निर्माणाधीन सो आयोजना ३० मेगावाट क्षमताको छ । दार्चुलाको शिखर गाविस–४ मा बन्न लागेको चमेलिया जलविद्युत् आयोजना राजधानी काठमाडांैबाट ९५० किलोमिटर टाढा छ । सन् ००७ मा सुरु भएको आयोजना सन् ०१३ अगस्टमा सिध्याउने लक्ष्य छ ।

प्रतिक्रिया