सहकारीद्वारा एक सय पैंतिस किलोवाट विद्युत् उत्पादन

गुल्मी, १ जेठ । परोपकार बहुउद्देश्यीय सहकारीले एक सय ३५ किलोवाटको लघु जलविद्युत् आयोजना सम्पन्न गरी बिजुली उत्पादन गरेको छ ।
गुल्मीको बामिटक्सारमा सो सहकारीले बाग्लुङ र गुल्मीको सिमानामा पर्ने दरमखोलाबाट उत्पादन गरिएको सो योजनाबाट एक सय ३५ किलोवाट विद्युत् उत्पादन गरेको छ । एक हजार ६ सय मिटर लामो नहरबाट ल्याएको पानी २१ मिटर माथिबाट सिधा दूरीमा खसाली एक हजार तीन सय लिटर प्रतिसेकेन्ड प्रवाह गरी विद्युत् उत्पादन गरिएको हो ।
ऊर्जाक्षेत्र सहयोग कार्यक्रम (इएसएपी) को एक करोड ४५ लाख अनुदान र परोपकार सहकारीको दुई करोड गरी तीन करोड ४५ लाखको लागतमा सम्पन्न सो आयोजनाबाट एक सय ३५ किलोवाट विद्युत् उत्पादन भएको छ ।
आयोजनाका लागि ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाको क्षेत्रीय नवीकरणीय ऊर्जा सेवा केन्द्र कार्यक्रम प्राविधिक सहयोग र समन्वय रहेको थियो । यो आयोजना देशकै सबैभन्दा ठूलो आयोजना भएको क्षेत्रीय नवीकरणीय सेवा केन्द्र रेडा पाल्पाका अधिकृत जीवन कुँवरले बताए ।
यसपछिको दोस्रो योजना स्याङ्जामा निर्माण हुनलागेको पनि उनले बताए । सहकारी संस्थाका सदस्यले पाँच हजारदेखि एक लाख रुपियाँसम्मको सेयर खरिद गरी उत्पादन भएको सो विद्युत्बाट जिल्लाको मुसिकोट गाविसमा सात सय र पाँदी अमराईमा नौ सय घरधुरीले बिजुली बालेका छन् । ती गाविसमा १५ प्रतिशत बिजुली खपत भए पनि ८५ प्रतिशत बिजुली त्यसै खेर गइरहेको आयोजनाका अध्यक्ष धर्मेन्द्र मल्ल बताउँछन् ।
जिल्लास्थित प्रमुख राजनीतिक दलका नेताहरूले जलविद्युत् आयोजनाको व्यवस्थापन र दिगोपनका लागि राज्यको माथिल्लो निकायले नै सहयोग गर्नुपर्ने बताए । ‘आºनै मिहिनेतमा यति ठूलो आयोजना सम्पन्न हुनु जिल्लावासीका लागि गौरवको कुरा हो,’ एकीकृत नेकपा माओवादी मगरात राज्य समिति सदस्य भूपाल पोखरेलले भने, ‘यसको संरक्षण र दिगोपनका लागि जनताको मिहिनेतले मात्रै पुग्दैन, मर्मत तथा व्यवस्थापनमा राज्यले जिम्मा लिनुपर्छ ।’
छिमेकी जिल्ला बाग्लुङका जनताले लघु जलविद्युत् उत्पादन गरी गाउँ झलमल्ल पारेको देखेर स्थानीय धर्मेन्द्र मल्ल र अग्निधर अर्यालले पानीमिलमा ७० किलोवाट विद्युत् उत्पादन गरी गाउँमा वितरण गरेको योजना अहिले देशकै सबैभन्दा ठूलो लघु जलविद्युत् आयोजना बन्न पुगेको हो ।
उत्पादित विद्युत् सबै खपत हुन नसकेकाले केन्द्रीय प्रसारण लाइनमा जोड्नुको विकल्प नभएको अध्यक्ष मल्ल बताउँछन् । ‘केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि इसापबाट नौ लाख विनियोजन भएको मल्लले बताए । ‘अब हामीले योजना बनाएर पेस गर्ने तयारीमा छौँ ।’ प्रारम्भिक चरणको काम सम्पन्न भए पनि दिगो विद्युत् उत्पादनका लागि पक्की बाँध, नहर संरक्षण र जलाशयको संरक्षणका लागि दीर्घकालीन योजनासहित काम हुनुपर्ने भनिए पनि त्यो हुन सकिरहेको छैन । यसतर्फ सरकारी निकायकै ध्यान केन्द्रित गराउनुपर्ने नेपाली कांग्रेसका जिल्ला सचिव विष्णु बलाल बताउँछन् ।
योजना सम्पन्न गर्न स्थानीय पहल सराहनीय भए पनि यसको संरक्षण र विद्युत् विस्तारमा जिल्लास्तरीय संयन्त्रले गम्भीर भएर ध्यान दिनुपर्ने जिविसका पूर्वसभापति कोशल पोखरेलको सुझाव छ । देशमा चर्को लोडसेडिङ र गुल्मी जिल्लाभरि बिजुली नपुगेर अँध्यारोमा बस्नु परिरहेको अवस्थामा यस आयोजनाबाट उत्पादिन बिजुली सदुपयोग गर्नसके धेरै जनताका घरमा बिजुली पुर्‍याउन सकिने जिल्लाका इन्जिनियर लालु गिरीले बताउँछन् । ‘उत्पादित बिजुलीको पूर्ण सदुपयोग हुने हो भने दीर्घकालसम्मका लागि मर्मत र व्यवस्थापन खर्च पनि जुट्ने र आयोजना दीर्घकालीन बन्छ,’ उनी भन्छन् ।

प्रतिक्रिया