आर्या किड्स क्विन – २०१२

 

काठमाडौँ, ३१ वैशाख । ‘दुई दिनको लगातार नेपाल बन्दले तपाईंलाई स्कुल जानमा कस्तो असर गर्‍यो ?’ प्रश्नको उत्कृष्ट जवाफ पर्खिरहेका थिए निर्णायकहरू । किड्स क्विन २०१२ को फाइनल चरणमा निर्णायक कृष्ण भट्टराईले सोधेको यो प्रश्नको सर्वोत्कृष्ट जवाफ दिएर शीर्ष ताज हात पार्न घोरिइरहेका थिए १६ प्रतिस्पर्धी । सबै बालिकाले आआफ्ना जवाफ राखे । एक बालिकाको जवाफचाहिँ यस्तो थियो– ‘हामीजस्ता बालबालिकाको शिक्षामा धेरै बाधा पुगेको छ बन्दले । जेठ १४ आउने बेलामा भएको बन्दले हामीजस्ता भविष्यका कर्णधारमाथि ठूलो असर परेको छ ।’ यो जवाफ दिएकी थिइन्, आर्या पोखरेलले । यही जवाफ सर्वाेत्कृष्ट साबित भयो । अनि उनै घोषित भइन्– किड्स क्विन २०१२ । शीर्ष उपाधि जितेकी उनले पुरस्कारबापत १० हजार रुपियाँ हात पारिन् ।
त्यसै गरी सिम्राङ कार्कीले फस्ट रनर अप र अंशु घलेले सेकेन्ड रनर अपको उपाधि हात पारे । पुरस्कारबापत उनीहरूले क्रमश: सात हजार र पाँच हजार रुपियाँ जिते । यससँगै शीर्ष तीन विजेताले स्काइसुजका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर पनि पाए ।
शीर्ष उपाधि विजेता आर्याले सौर्य संवाददातासँग भनिन्– ‘किड्स क्विन बन्छु भनेर सोचेकै थिइनँ तर पनि अरूभन्दा कमजोर छुइनँ भन्ने आत्मविश्वासचाहिँ थियो ।’ उनले थपिन्– ‘मैले जिते पनि अरू साथीहरू रोइरहेको देख्दा मलाई निकै दु:ख लाग्यो । उनीहरू सबैलाई म आफ्नो जित बाँड्न चाहन्छु ।’ किड्स क्विन बनेपछि सबैभन्दा पहिला आमालाई सम्झिएको उनले सुनाइन् ।
त्यसै गरी सब टाइटलतर्फ अनिशा क्षत्री चार्मिङ, छिरिदिकी लामा पर्सनालिटी, जिनिया श्रेष्ठ इनोसेन्ट, जेनिसा दर्लामी बेस्ट हेयर, उर्वशी घले बेस्ट स्किन, सारा महर्जन डिसिप्लिन र आर्या महर्जन ट्यालेन्ट विधामा पुरस्कृत भएका थिए ।
नेप्लिज फेसन होम्सको आयोजनामा भएको ९ देखि १३ वर्ष उमेरसमूहका बालिकाबीचको प्रतिस्पर्धाको फाइनल राउन्डका लागि ६१ बालिका छानिएका थिए । तिनीहरूबाट छाँटिएर बाँकी रहेका १६ मध्ये फाइनल प्रश्नको उत्कृष्ट जवाफका आधारमा विजेता छनोट गरिएका हुन् । कृष्ण भट्टराई, गायक प्रवेशमान शाक्य, मिस नेवा २०११ सुनिता डंगोल, गायक निर्णय श्रेष्ठ, जेवेश्वरलाल श्रेष्ठ, उज्ज्वलकृष्ण श्रेष्ठ, शान्ति प्रधान र अमर रञ्जितकारको निर्णायक टोलीले प्रतियोगिताको क्षमता जाँच गरेको थियो ।

प्रतिक्रिया