“अश्लीलता” रोक्ने बोर्डको तयारी

काठमाडौं : चलचित्र लुट र चपली हाइटको सफलतासँगै नेपालमा ‘अश्लील’ चलचित्रको निर्माणक्रम ह्वात्तै बढेकामा नेपाल चलचित्र विकास बोर्ड यसलाई नियन्त्रण गर्ने मनसायमा पुगेको छ । पछिल्लोचोटि दर्जनौं चलचित्र भरमार यौनदृश्य र छाडा संवादमा केन्द्रित हुँदै निर्माण हुन थालेपछि बोर्ड चनाखो हुन थालेको हो ।
‘चलचित्रको बजार नबुझी निर्माणमा हात हाल्ने र अश्लील चलचित्र निर्माण गर्ने प्रवृत्ति बढेकाले अब निर्माण अनुमति दिँदा नै कडाइ गरिने बोर्ड अध्यक्ष गणेश भण्डारीले जानकारी गराए । उनले भने– ‘चलचित्र दर्ताका लागि बोर्डमा आउने निर्माता–निर्देशकलाई पहिले परामर्श र गोप्य अध्ययनपछि मात्र अनुमति दिने व्यवस्था मिलाएका छाँैं ।’
उनका अनुसार यो व्यवस्थाले अश्लील सिनेमालाई निरुत्साहन तथा ‘सही’ चलचित्र निर्माण गर्ने अनुभवी निर्माता–निर्देशकलाई उत्साहित गर्नेछ । यो नियन्त्रणले सिनेमाको माग र निर्माणक्रममा पनि सन्तुलन ल्याउने विश्वास बोर्डले गरेको छ । बोर्डले अनुमति लिने क्रममा प्रस्तुत गरिने स्क्रिप्टअनुसार काम भए/नभएका बारे अनुगमनका लागि छुट्टै टोलीसमेत गठन गरिएको जानकारी गरायो । तर, उक्त टोलीमा को–को छन् भन्नेबारे भने बोर्डले गोप्य नै राखेको छ । बोर्डले ‘सामाजिक मर्यादाबाहिर रहेर निर्माण गरिएको चलचित्रलाई अश्लीलता’ को दायराभित्र राखेको छ । (सौस)

प्रतिक्रिया