लोडसेडिङ घटाउन माग

दाङ, २९ वैशाख । दाङका उद्योगीव्यवसायीले लोडसेडिङ कटौती गर्न नेपाल विद्युत् प्राधिकरणसँंग माग गरेका छन् ।

तुलसीपुर क्षेत्र यसको मारमा परेको भन्दै उनीहरूले लोडसेडिङ कटौतीको माग गरेका हुन् । विगतमा जिल्लामा दैनिक दुई घन्टा मात्र लोडसेडिङ हुने गरेकामा यो वर्ष दैनिक १० देखि १४ घन्टा दैनिक विद्युत् लोडसेडिङ हुने गरेको छ ।
यसले आफूहरूलाई व्यापार र उद्योग सञ्चालन गर्न अप्ठेरो परेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव एवम् तुलसीपुर फ्लोर्स मिलका सञ्चालक विमल रिजालले बताए । ‘करोडाँैंको लगानीमा उद्योग सञ्चालन गरेको तर बढ्दो लोडसेडिङको मारले उद्योग धराशयी बन्दै गएकाले बाँच्न नसकिने उनले बताए ।
रिजालको मात्र नभई यहाँका नागरिकले लामो समयसम्म लोडसेडिङ अनि त्यसमा पनि आन्तरिक लोडसेडिङप्रति गुनासो गरेका छन् । विगतका वर्षदेखि प्युठानको झिम्रुक र भारतको टनकपुरबाट दाङमा ल्याइएको विद्युत् यसपटक सरकारी पहुँचका कारण अन्य जिल्लामा लगिएको हुँदा आफूहरूले लोडसेडिङको चर्को मार खेप्नुपरेको स्थानीय बताउँछन् । उद्योगी, विद्यार्थी, सञ्चारकर्मीलगायतले प्राधिकरण शाखा कार्यालय तुलसीपुरमा लोडसेडिङ कम गराउन ध्यानाकर्षण गराएका छन् । तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष टेकनप्रसाद बस्नेतको नेतृत्वमा गएका विद्यार्थी, व्यवसायी र पत्रकारले कार्यालय प्रमुख राजेश गुप्तासँग भेटी तत्काल आन्तरिक लोडसेडिङ बन्द गर्नाका साथै विगतका वर्षमा ल्याइएजस्तै जिल्लामा ल्याइएको विद्युत् सेवा तत्काल ल्याउन आग्रह गरे ।
अहिले दाङमा केन्द्रीय र आन्तरिक गरी दैनिक १२ देखि १४ घन्टा लोडसेडिङ हुने गरेको छ । यस्तै अवस्था जारिरहे उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया