सामाजिक सद्भाव नखल्बल्याऊ

नेपाली समाज बहुलता र विविधताको जगमा एकताको उत्तम सद्भावबाट गतिशील रहेको छ । यो समाज परापूर्वकालदेखि अखण्ड सहअस्तित्व र सहकार्यद्वारा सामाजिक, धार्मिक, सांस्कृतिक जातीय र क्षेत्रीय सद्भावलाई अक्षुण्ण राख्न सफल रहँदै आएको छ । यस अनुपम सद्भावद्वारा समाजले अंगीकार गरेको विषयलाई मानवीय संवेदनशीलताको उदाहरणका रूपमा पनि लिन सकिन्छ । विश्वका कमै मुलुकमा पाइने सामाजिक मेलमिलापको यो अतुलनीय धरोहरलाई कायम राख्न नसक्ने हो भने यस मुलुकले दुर्भाग्यको सामना गर्नुपर्नेछ ।
यही सामाजिक सद्भावलाई खलबल्याउन अहिले जातीय र समूहगत मुद्दा उठाएर मुलुकका विभिन्न स्थानमा घात–प्रतिघातको आन्दोलन चर्काइँदै छ । राज्य पुन:संरचना गर्दा आफ्नो निजी स्वार्थलाई सर्वोपरी राखेर अर्काको अस्तित्व अस्वीकार गर्ने परिस्थिति निर्माण गर्न केही तत्त्व भगीरथ प्रयत्न गर्दै छन् । सहअस्तित्वको आधारमा खडा भएको सामाजिक जग भत्काएर आफ्नो कुत्सित अभीष्ट पूरा गर्न तम्सिएको तत्त्वदेखि सबै पक्ष सजग रहन जरुरी छ । जातीय, क्षेत्रीय, धार्मिक, सांस्कृतिक र भौगोलिक एकतामा भाँजो हालेर समाजलाई छिन्नभिन्न पार्दै मुलुकलाई कमजोर बनाउने उद्देश्यअनुरूप यहाँ थुप्रै काम भइरहेका छन् । जातीय र धार्मिक हिंसा भड्काएर नेपाली समाजलाई अपूरणीय क्षति पुर्‍याउने नियोजित षड्यन्त्रअन्तर्गत विभिन्न व्यक्तिमार्फत युद्धको उद्घोषण गर्न लगाइँदै छ । खर्चबर्च र निर्देशन पाएका ती तत्त्व नेपालको पूर्वदेखि पश्चिमसम्म दौडिरहेका छन् । उनीहरू नेपालका एक सय १८ जातिलाई आ–आफ्नो राज्यका लागि आन्दोलन गर्न उक्साइरहेका छन् । यसले के संकेत गर्छ भने नेपाललाई सिंगो, सग्लो र अखण्ड रहन नदिने षड्यन्त्रपूर्ण खेल भइरहेको छ । यसप्रति नेपाललाई अक्षुण्ण राख्न चाहने सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला भएको छ ।
पछि परेका वा पारिएका सबै जात–जाति, भाषा–भाषी, धर्म–संस्कृति, लिंग–क्षेत्र साथै समूहलाई राज्यले समान पहुँचको व्यवस्था गर्नैपर्छ । यसमा दुईमत छैन । तर, एकले आफ्नो अधिकार स्थापित गराउँदा अर्काको अधिकारको पनि उत्तिकै ख्याल गर्न सक्नुपर्छ । राज्य पुन:संरचनाजस्तो संवेदनशील र दीर्घकालीन प्रभाव पार्ने विषयलाई हलुका ढंगले लिएर सामाजिक सद्भाव भड्काउने काम कोही कसैबाट हुनु हुँदैन । हामी प्रजातन्त्रभित्र बहुलवादमा विश्वास गर्छौं । लोकतान्त्रिक पद्धतिभित्र बहुलवाद फस्टाउँछ । बहुलवादले मात्र बहुमतीय पद्धतिलाई स्थापित गर्न सक्छ । होइन भने मौलिक रूपमा यो प्रजातान्त्रिक मुलुक रहन सक्दैन । अहिले जातीय, अखण्ड राज्य, समूह र धर्मका नाममा विभिन्न स्थानमा झडप सुरु भएका छन् । प्रत्येक जातलाई राज्य दिने नेताहरू काठमाडौंमा बसेर मुलुकमा अशान्तिको आगो झोस्तैछन् । जातीय मुद्दा उराल्नेहरू ठुटे राजा हुने सपनामा तरंगित भएका छन् । यो अवस्थामा राष्ट्रप्रेमी नेपाली जनताले आफूबीचको सद्भाव, एकता र विश्वास कायम राख्न सचेत हुनुपर्छ । नेपाल रहे मात्र नेपाली रहनेछन् । समाजमा एकता र सद्भाव रहे मात्र नेपाल रहनेछ । यसतर्फ सबैले सोच्न जरुरी छ ।

प्रतिक्रिया