पेट्रोलियम मौज्दात १३ हजार किलो लिटर मात्रै

काठमाडौं, २८ वैशाख । नेपाल आयल निगमसँग अहिले १३ हजार किलो लिटर मात्र पेट्रोलियम पदार्थ मौज्दात छ । निगमको पेट्रोलियम भण्डारण क्षमता ७२ हजारकिलो लिटर भए पनि रकम अभावले क्षमताभन्दा न्यून मौज्दात रहेको निगमले जनाएको छ ।
निगमका प्रवक्ता मुकुन्द ढुंगेलका अनुसार हाल दैनिक तीन हजार किलो लिटर पेट्रोलियम खपत भइरहेको छ । पेट्रोलियम आयातका लागि भारतीय आयल निगम (आइओसी)लाई पठाउने रकम नभएकाले मागअनुसार आपूर्ति गर्न नसकेको उनले बताए । तत्काल आपूर्ति गर्ने अवस्था नरहने हो भने यो मौजातले करिब एक साता मात्र पुग्ने निगमले जनाएको छ । निगमले सरदर मासिक एक सय १५ हजार किलो लिटर पेट्रोलियम आयत गर्ने गरेको प्रवक्ता ढुंगेललले जनाए । तर, रकम अभावकै कारण अहिले करिब १० प्रतिशत कम आपूर्ति भइरहेको उनको भनाइ छ । २६ वैशाखसम्ममा १४ हजार सात सय ६९ किलो लिटर पेट्रोल, ४६ हजार तीन सय २२ किलो लिटर पेट्रोल, दुई हजार नौ सय २६ किलो लिटर मट्टीतेल र १२ हजार तीन सय ८६ मेट्रिक टन एलपी ग्यास खपत भएको निगमले जनाएको छ ।
निगमका अनुसार विगतका महिनाभन्दा पनि वैशाखमा समग्र खपत बढेको छ । प्रतिमहिना माग बढ्दै गए पनि अन्तर्राष्ट्रिय मूल्यअनुसार खरिद गरेको पेट्रोलियम र एलपी ग्यास घाटा खाएर बिक्री गर्नुपर्दा मासिक घाटा बढ्दै गएको निगम प्रवक्ता ढुंगेलको भनाइ छ । मे १ को नयाँ मूल्य सूचीअनुसार मासिक घाटा एक अर्ब १४ करोड ४७ लाख रहेको उनले बताए । अघिल्लो महिना निगमको मासिक घाटा एक अर्ब ५६ करोड रुपियाँ पुगेको थियो । यस्तै, अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर पाँच सय ९८ रुपियाँ ३४ पैसा र डिजेलमा प्रतिलिटर १० रुपियाँ ६० पैसा घाटा छ । अघिल्लो महिना एलपी ग्यासमा प्रतिसिलिन्डर आठ सय दुई रुपियाँ र डिजलमा प्रतिलिटर १२ रुपियाँ ४८ पैसा घाटा रहेको निगमको दाबी छ । अघिल्लो महिनाका तुलनामा आपूर्ति कम भएकाले पनि यो महिना मासिक घाटा कम भएको हो ।
यता निगमले मूल्य अभिवृद्धि करअन्तर्गत मासिक २५ करोड रुपियाँ तिर्नु पर्ने भएकाले पनि घाटा कम गर्न नसकेको जनाउँदै आएको छ । यसैले पेट्रोलियम पदार्थ आयात गर्दा विभिन्न समयमा लिएको ऋणको भार मात्र २३ अर्ब १७ करोड रुपियाँ पुगेको निगमको दाबी छ ।
१४ जेठसम्म मागअनुसार आपूर्ति गर्न निगमले अर्थ मन्त्रालयसँग चार अर्ब रुपियाँ रकम माग गरेको र सो रकम नपाए आपूर्ति प्रभावित हुने बताउँदै आएको छ । अर्थमन्त्रालयले भने निगमलाई यस अघिकै ऋणदाता नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई रकम उपलब्ध गराइदिन पत्रचार गरेको जनाएको छ । तर, दुवै संस्थाले कति ऋण दिने भन्ने टुंगो लागिसकेको छैन । यसअघि नै निगमले पेट्रोलियमको सहज आपूर्तिका लागि भन्दै लगानी कोषबाट चार अर्ब १३ करोड र सञ्चय कोषबाट ६ अर्ब ४० करोड रुपियाँ ऋण लिइसकेको ढुंगेल बताउँछन् । निगमको मासिक घाटा चुलिदै गएपछि दुवै संस्थाले अहिले ऋण दिन आनाकानी गरेको निगम स्रोतले जनाएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई समेत निगमको घाटा बढेको र आपूर्ति सहज गराउन नसक्ने अवस्थामा पुगेको जानकारी गराएकाले रकम पाउनेमा निगम भने आशावादी देखिएको छ । मुलुक अहिले राजनीतिक संक्रमण कालमा रहेकोले १४ जेठअघि पेट्रोलियमको हाहाकार मच्चिएमा थप जटिलता थपिने भन्दै निगम अधिकारीले प्रधानमन्त्रीलाई समेत आपूर्ति सहज बनाउने उपाय खोजिदिन आग्रह गरेको जनाएको छ ।

प्रतिक्रिया