सफ्टवेयर समस्याले सेयर कारोबार प्रभावित

काठमाडौं, २७ वैशाख । ट्रेडिङ सफ्टवेयरको गकडबडीका कारण नेपाल स्टक एक्सचेन्जमा मंगलबार पूर्णसमय कारोबार हुन सकेन । एक्सचेन्जले विद्युत् आपूर्तिमा आएको गडबडीका कारण धितोपत्र कारोबार सुचार हुन नसकेको बताए पनि धितोपत्र दलालहरूले भने सफ्टवेयरमा नै समस्या रहेको दाबी गरे ।
नेपालको धितोपत्र बजार १२ देखि तीन बजेसम्म तीन घन्टाका लागि सञ्चालन हुने गर्दछ । ‘मंगलबार ४८ दलाल कम्पनीमध्ये कतिपयले एक्सचेन्जको सर्भरमा पहँुच पाए भने कतिले पहुँच नै पाएनन्,’ नेपाल धितोपत्र दलाल संघका अध्यक्ष अन्जनराज पौडेलले बताए । कुनै दलालले पहुँच पाउने कुनैले नपाउने हुँदा बजारमा स्वच्छ माग र आपूर्तिको अवस्था सिर्जना नभएको उनले जिकिर गरे ।
विदेशबाट आयातीत सफ्टवेयर चलाइरहेको एक्सचेन्जले सोको मर्मत–सम्भारका लागि स्थानीय रूपमा कुनै पनि एजेन्ट पाउन सकेको छैन । स्थानीय रूपमा योमरी इन्फोसिसलाई एजेन्ट तोकिए पनि सो एजेन्टले पनि सफ्टवेयरको अपडेट सुचारु गर्न नसकेको सेयर दलालहरूको आरोप छ ।
‘कारोबार समयमा बारम्बार समस्या आइरहन्छ । एक्सचेन्जको कम्प्युटर प्रणाली पनि सार्‍है पुरानो भइसकेको छ । यसले अहिले थपिएका दलाल कम्पनीको पहँुचलाई धान्नै सकेको छैन,’ अध्यक्ष पौडेलले भने ।
सेयर कारोबारलाई स्वचालित बनाइसकेपछि थपिएका नियम पनि सफ्टवेयरमा अट्न सकेका छैनन् । कराएर सेयर बेच्ने प्रणालीबाट कम्प्युटरमा आधारित कारोबारमा गएको नेप्सेले प्रतिशतको आधारमा सर्किट ब्रेकर लगाउने नयाँ नियमलाई सफ्टवेयरले अपडेट गर्न सकेको छैन । सर्किट ब्रेकरको नीतिअनुसार पहिलो घन्टामा एक दिनमा नेप्से परिसूचक तीन प्रतिशतले घट्दा वा बढ्दा १५ मिनेटको लागि कारोबार स्थगित हुन्छ । चार प्रतिशतले बढ्दा अर्को ३० प्रतिशतका लागि कारोबार स्थगित हुन्छ । अन्तिमपटक पाँच प्रतिशतले कारोबार बढ््दा त्यस दिनभरिको लागि कारोबार स्थगित हुने व्यवस्था रहेको छ । प्रतिशतको हिसाब–किताब सुपरीवेक्षणले गर्ने हुँदा कम्प्युटरीकृत कारोबार भए पनि ठया्क्कै तीन प्रतिशतमा कारोबार स्थगित नहुने गरेको पौडेल बताउँछन् ।
त्यसैगरी, कुनै पनि कम्पनीको एक दिनमा १० प्रतिशत भन्दा बढी सेयर मूल्य थपघट नहुने प्रावधान रहेको छ । तर मंगलबार भएको सेयर कारोबारमा बैंक अफ एसियाको सेयर मूल्य ११ दशमलव ७९ प्रतिशतले वृद्धि भएको एक्सचेन्जको आधिकारिक वेबसाइटमा उल्लेख छ । ‘कम्प्युटर प्रणालीबाट भनिए पनि मानवीय रूपमा गरिने काम जसरी पटकपटक कारोबारमा गल्तिदेखिने गरेको छ,’ पौडेलले भने ।
नेपाल स्टक एक्सेन्जका एक सूचना प्रविधि अधिकृतले भने सफ्टवेयरमा सामान्य समस्या मात्र आएको दाबी गरे । विद्युत् आपूर्तिमा गडबड भएकाले केही समय कारोबार स्थगित गर्नु परेको उनले बताए । ‘दलाल कम्पनी थपिए जस्तै एक्सचेन्जको स्रोत साधन पनि अपडेट गरिनुपर्छ नत्र सेयर बजार स्वच्छ रूपमा सञ्चालन भएको मान्न सकिंदैन,’ उनले भने ।
स्टक एक्सचेन्जले सफ्टवेयरमा समस्या आएपछि दुई बजेदेखि तीन बजेसम्म समस्या समाधान गर्न कारोबार स्थगित गरेको थियो । एक्सचेन्जले मंगलबार तीन बजेदेखि चार बजेसम्म थप कारोबार गराएको थियो ।
थप कारोबार समयमा पनि कतिपय दलाल कम्पनीले एक्सचेन्जको सर्भरमा पहुँच नपाएकाले कारोबार गर्न नपाएको गुनासो गरेको अध्यक्ष पौडेलले बताए । मंगलबार कुल ६७ कम्पनीको एक हजार पाँच सय ६१ कारोबारमा १६ करोड ६७ लाख रुपियाँको कारोबार भएको थियो । सहमतीय सरकार बन्ने सार्वजनिक भएपछि उकालो लागेको नेप्से परिसूचकले मंगलबार पनि निरन्तरता पायो । मंगलबार नेप्से परिसूचक चार दशमलव ३९ अंकले वृद्धि भई चार सय ३२ दशमलव ८२ विन्दुम पुगेको थियो । २० कम्पनीको सेयर मूल्य घटेको थियो भने ३७ कम्पनीको सेयर मूल्य बढेको थियो र बाँकी कम्पनीको सेयर भने यथावत स्थितिमै कारोबार भएको थियो ।

प्रतिक्रिया