चलचित्रको विकल्प तोरीखेती

निर्देशक तुलसी घिमिरे चलचित्र क्षेत्रमा नआएका भए के गर्थे होलान् ? उनैले भने– ‘खेतीकिसानीमा लाग्थेँ, किसान बन्थेँ ।’  आफूलाई किसानको छोरा भन्न रुचाउने घिमिरेलाई तोरी उत्पादन गर्ने चाहना अत्यधिक रहेछ  । उनी कल्पिँदै छन्– कम्तीमा पनि पाँच हेक्टर जग्गामा खेती सुरु गर्दो हुँ ।
कृषि कल्पनामा डुबेका घिमिरेले माटोको मर्म पनि बुझे– ‘युरिया नहाली अर्गानिक मलले मात्र माटो साँध्नुपर्छ ।’  तीन  रोपनी जग्गा हुँदा अलिकति मकै, अलिकति काउली अनि अलिकति अरू केही रोप्ने प्रवृत्ति यिनी पटक्कै मन नपराउने रहेछन् । उनी भए पूरै बारीभरि तोरी नै तोरी रोप्ने रहेछन् ।
तोरी उत्पादनमा सफलता पाए तोरी पेल्ने फ्याक्ट्री किन्ने सोच उनको रहेछ । भन्छन्– ‘जर्मनीमा मकैको खेती हुन्छ, अमेरिकामा गहुँ हुन्छ । सबैको आ–आफ्नै विशेषता छ । नेपालमा मकै, धान अनि तोरीको पनि खेती हुन्छ । हामीले पनि तोरी नै तोरी खेती गरेर विश्वमा छुट्टै विशेषता बनाउन सकिन्छ ।’ तोरी सिधै सप्लाई गर्नुभन्दा पनि परम्परागत किसिमले तेलका रूपमा प्रशोधन गरेर माग भएका ठाउँमा पुर्‍याउँथे रे उनी भए । तुलसी नामको छुट्टै ब्रान्ड खडा गर्थे रे † ‘नेपालको यो तेलको ब्रान्ड आफैँमा अर्गानिक छ भन्ने विश्वास स्थापित गराउन प्रयास गर्थें,’ उनले सुनाए– ‘त्यसपछि त बजारमा पाँच गुणा बढी मूल्य राखे पनि बिकिहाल्छ नि †’ पब्लिसिटीचाहिँ कसरी गर्दा हुन् त यिनले । भने– ‘तुलसी ब्रान्ड शुद्ध खाने तेल । कसैले अशुद्ध भेट्टाए एक करोड इनाम दिइनेछ भनेर व्यापक प्रचार गर्दो हुँ ।’
साँच्चै चलचित्रमा नआएका भए आज उनी तोरी कृषक नै हुने रहेछन् क्यारे † योजना त राम्रै बनाइसकेका रहेछन्– ‘तोरीबाट आम्दानी भयो भने त्यही तोरीबारीछेउमा माहुरी पनि पाल्थेँ होला । बारीको डिलडिलमा फूल रोपेर साइड बिजनेसका रूपमा फूलको व्यापार पनि गर्न सकिने भयो ।’ पानी परेका बेला नेपाली माटोबाट मीठो खुस्बु आइरहेको अनुभूति हुन्छ रे उनलाई ।
त्यसो त चलचित्रमा भिजिसकेको अवस्थामा पनि उनलाई नेपालको विकासको एउटै आधार कृषि नै लाग्दो रहेछ । भन्छन्– ‘नेपालमा अब पनि आगामी पुस्तालाई कृषिव्यवसायसम्बन्धी शिक्षा नदिइने हो भने एक समय यस्तो आउनेछ– सबै नेपाली अमेरिकाबाट कहिले गहुँ आउला, भारतबाट कहिले चामल आउला भन्दै पर्खिन बाध्य हुनेछन् ।’ यस्तो शिक्षा पाठ्यक्रममै राख्नुपर्ने उनी देख्छन् ।

प्रतिक्रिया