संविधान निर्माण गर्ने बेलामा सरकार गठन प्रक्रिया

सरकारभन्दा संविधान निर्माण

रामजनम चौधरी
सभासद्
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)

हामी सुरुदेखि नै शान्तिप्रक्रिया र संविधान निर्माणमा केन्द्रित भई १४ जेठअघि नै नयाँ संविधान घोषणा गर्नुपर्छ भनेर लागिरहेका थियौँ । दुर्भाग्य, संविधान निर्माणको काममा लाग्नुपर्ने बेलामा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कुरा आयो । अवश्य पनि यसले संविधान निर्माणको कामलाई केही ढिलाइ गरेको छ । सहमतिको नाममा सरकारमा मात्रै जाने र संविधान निर्माण गर्नतिर नलाग्ने हो भने यसले फाइदा पुर्‍याउँदैन । १०/१२ दिनका लागि गठन भइरहेको डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा राम्रो मन्त्रालय पाएनौँ भनेर किचलो भइरहेको छ । यसपछिको सरकार राष्ट्रिय चुनाव गर्ने गरेर गठन हुन्छ । त्यो बेला पो राम्रा र आकर्षक मन्त्रालय रोज्ने भन्ने कुरा गर्न सुहाउँछ ।

पाँचबुँदे सहमतिले बढायो आशा

जीवनप्रेम श्रेष्ठ
सभासद्
नेपाली कांग्रेस

प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाबीच भएको पाँचबुँदे सहमतिले राष्ट्रिय सहमतिको सररकार निर्माणसँगै छिटो संविधान जारी हुन्छ भन्ने आशा जगाएको छ । संविधान निर्माणको समय नजिकिँदै जाँदा नयाँ संविधान निर्माणतर्फ केन्द्रित हुनु हामी सबैको प्राथमिक दायित्व हो । राजनीतिक दलहरूका बीचमा संघीय संरचनाका बारेमा केही मतभिन्नता र विवाद देखिएका छन् । छलफल र संवादलाई बढाएर यसमा देखिएका विवाद र मतभिन्नता समाधान गर्न लाग्नुपर्छ । र, सबै वर्ग, लिंग, जातजाति, समुदाय, उत्पीडितलगायतका हक, अधिकार संरक्षण गर्ने गरी संविधान बनाइनुपर्छ । जनताको चाहनाको यो राष्ट्रिय दायित्व संस्मरण गर्दै शीर्ष नेतृत्वले संविधान निर्माणमा प्रतिबद्ध हुनुबाहेक अन्य विकल्प छैन ।

प्रतिक्रिया