साताभरि सुनको भाउमा उतार चढाव

काठमाडौं, २४ वैशाख । गत साता सरकारले सुनको भन्सार बढाएपछि सुन हालसम्मकै महंगो हुन पुगको छ । गत बिहीबार सरकारले प्रतिदश ग्राम भन्सारलाई १५ सयबाट बढाएर २३ सय रुपियाँँ पुर्‍याएपछि शुक्रबार सुनको मूल्य प्रतितोला ५६ हजार रुपियाँँ पुगेको हो । यसअघि गत १५ मंसिरमा सुनको भाउ प्रतितोला ५५ हजार आठ सयको उच्च विन्दुमा पुगेको थियो । सो भाउलाई पाखालगाई साताको अन्तिम दिन शुक्रबार सुनका मूल्यले नयाँ रेकर्ड स्थापित गरेको नेपाल सुन–चाँदी व्यवसायी संघले जनाएको छ ।
साताको पहिलो दिन आइतबार र सोमबार सुन प्रतितोला ५५ हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार अघिल्लो दिनको तुलनामा केही बढी ५५ हजार चार सय ९८ रुपियाँमा कारोबार भएको संघले जनाएको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्यमा एक सयले घटेको थियो । बिहीबार सुनको मूल्यमा कुनै परिवर्तन आएन । त्यस्तै चाँदीको कारोबार आइतबार, सोमबार र मंगलबार प्रतितोला एक हजार ८५ रुपियाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार, बिहीबार र शुक्रबार ओरालो लागेको थियो । साताको अन्तिम दिन एक हजार ७०
कायम भई कारोबार भएको संघले जनाएको छ ।
सरकारले सुनको भन्सार दरमा प्रति १० ग्राम आठ सय रुपियाँ बढाएको छ । यसभन्दा अघि १५ सय रुपियाँ भन्सार दर थियो । पहिला सुन आयात गर्दा प्रतितोला एक हजार सात सय ४९ प्रतितोला भन्सार दर रहेको थियो भने हाल प्रतितोला दुई हजार ६ सय ८२ रुपियाँ कायम भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनको भन्सार दरमा वृद्धि गरेको हो ।
सुन चाँदी व्यवसायीका अनुसार दैनिक २० किलो सुनले पनि बजारको माग धान्न नसक्ने गुनासो छ । ‘बजारमा दैनिक ३५ देखि ४० किलोसम्म सुनको माग रहेको छ,’ नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरात्न शाक्यले भने,  ‘सुनको मूल्य वृद्धिसँगै बजारमा सुनको कारोबार घटेको छ ।’ ढिक्का सुन किन्नेहरू बढेको तर सुन बनाउने सर्वसाधारण ग्राहक भने घट्दै गएको उनको भनाइ छ । विवाहको सिजनका बेलामा भने सुनको हाहाकार हुने गरेको संघको भनाइ छ । राष्ट्र बंैकमार्फत मात्र ढिक्का सुन बेच्न पाउने नीति बनाइएको छ । एक दिन बिराएर एउटा बैंकले ४० किलो सुन आयातको अनुमति छ ।

प्रतिक्रिया