कसका लागि र केका लागि जातीय राज्य ?

सार्वभौम भनिएका नेपाली जनता कतिबेला कहाँ मारिने हुन्, कहाँ लुटिने हुन् अत्तोपत्तो नै छैन । जनता नै सबैभन्दा ठूला शक्ति हुन् भनिए पनि नेपालको इतिहासमा सबैभन्दा कमजोर अवस्थामा रहेका नेपाली जनता ‘बिचरा’ बन्दै छन्् । निर्वाचनका समयमा जनतासँग हजुर हजुर भनेर लुट्न र खान पाएका नेताहरूलाई निर्वाचन जितिसकेपछि जनताको के महत्त्व ? जसरी धन नहुनेको नाम धनबहादुर, बुद्धि नहुनेको नाम बुद्धिबहादुर राखिन्छ त्यसैगरी सबैतर्फबाट लुटिएका जनतालाई सार्वभौम शक्तिसम्पन्न
भनिँदै छ ।
सुनौलो भविष्यको कल्पना गर्दै संविधान आउने आसै आसमा चार वर्ष बिताएका नेपाली जनताका अगाडि १४ जेठपछिको अवस्था झन् ठूलो पीडा बनेर आउने संकेत देखिँदै छ । जनताको नाममा लुट गरेका नेताहरू पछिल्लो समयमा आएर सत्ताको भागबन्डा मिलाउन पाँचबँुदे सहमति गरे पनि यथार्थमा विभाजित मनस्थितिमा छन् । सहमति र सहकार्यका नारा दिँदै विभिन्न रिसोर्टमा रात बिताएका नेताहरूले संविधान दिने समयमा एक सय २७ वटा विषयमा सहमति हुन नसकेको भन्दै छन् । नयाँ संविधान जारी गर्ने समय नजिकिँदै जाँदा हाम्रा राजनीतिक दलका नेता राष्ट्रिय जनावर के हुने, राष्ट्रिय पोसाक के हुने भन्नेजस्ता कुरामा मात्रै अलमलिइरहेका छन् । आखिर चार वर्षको समयसम्म मिलाएको कुरा के
हो त ? आफू रोग, भोक, दु:ख, कष्ट सहेर पनि राज्यकोषबाट ६ सय एक सभासद्लाई
पालेका जनता अहिले तिनै नेताहरूलाई सोधिरहेका छन् ।
विगतमा टाठाबाठाले राज गरी लुटेको, मोज गरेको कुरा आज बाहुन भएकै कारण जीवनमा कहिल्यै सिंगो कपडाले आङ ढाक्न नपाएको नियति भोग्दै छन् । नेपाली इतिहास अध्ययन गर्दै जाँदा यहाँ लामो समयसम्म बाहुन, क्षत्रीले मात्रै शासन गरेका छन् । जनसंख्याका हिसाबले पनि बाहुन, क्षेत्रीकै बाहुल्य रहेको छ । सबैभन्दा गरिब, दु:खी असहाय पनि उनीहरू नै छन् । तर, आज त्यतातिर कसैको ध्यान पुग्न सकेको छैन । अब लुट्ने पालो हाम्रो आयो भन्ने सपना देखाउँदै सदियौँदेखि आपसमा मिलेर बसेको नेपाली समाजलाई क्षत विक्षत पार्न खोजिँदै छ । मुलुकमा शान्ति र राजनीतिक स्थिरता कायम भयो भने लुट्नेहरूलाई गाह्रो हुने हुँदा नानाथरीका बखेडा झिकिँदै छ । ०४६ सालपछि अछूत भन्ने जातिले गरेका काम बाहुनले गरेका छन् । आरन थापेका छन् । कपडा सिलाएका छन् । बिहेमा पञ्चैबाजा बजाएका छन् । के नै गर्न बाँकी छ र बाहुनले ? अनि केका लागि खोज्दै छन् जातीय राज्य ? यो सब जनतालाई भ्रममा पारेर छोटे राजा बन्ने चाहनाबाहेक अरू केही होइन ।
सबैभन्दा धेरै जनसंख्या भएका बाहुन, क्षेत्रीलगायतलाई ‘आदि’ भनेर सम्बोधन गरिएको छ । ‘हिमाल–पहाड–तराई, कोही छैन पराइ’ जात र भाषाभन्दा पनि हाम्रो पहिचान नेपाली हो भन्ने विशाल भावना बोक्नबाट हामी पछाडि परेको देखिँदै छ । आज हरेक दिनजसो आन्दोलनको सुनामी आउन थालेको छ । यहाँ संघीय राज्यको माग गर्दै आन्दोलन नगर्ने कोही भएनन् । राजनीति समाजसेवा होइन कि कमाइ खाने गतिलो जागिर भएको छ । पैसा कमाउने साधन र व्यापार भएको छ । लुट्ने लाइसेन्स बनाइएको छ । त्यसैले त अन्यत्रभन्दा सबैले अब राजनीतिमा ध्यान दिन थालेका छन् । सर्वहाराको नेता बनेर राजनीति गरेकाहरू अहिले अर्बपति बनेका छन् । राजनीति नगर्नेहरू पछि परेका छन् । अब पछि नपर्नकै लागि विभिन्न जातका टाठाबाठाहरू, विभिन्न क्षेत्रका टाठाबाठाहरू, गाउँका भारे टाकुरे नेताहरू के गर्दा भविष्यमा नेता बन्न सकिन्छ भन्ने अत्यन्तै निकृष्ट उद्देश्यका साथ अबुझ सोझासाझा जनतालाई उचालिरहेका छन् । ००७ सालदेखि आजसम्म कति व्यवस्था फेरिए तर जनताको जीवनस्तरमा भने कुनै परिवर्तन आउन सकेको छैन । जबसम्म रोग, भोक, अशिक्षा, पछौटेपनजस्ता कुरा सबैका साझा शत्रु बन्न सक्दैनन् तबसम्म मुलुक र जनतासामु रहेका समस्या जहाँका तहीँ रहिरहनेछन् । मुलुकमा जतिसुकै संघीय राज्य स्थापना गरे पनि जनता दु:खीका दु:खी नै रहनेछन् । चाहे ६ वटा संघ बनाऔँ वा १५ वटा अथवा संघीयतामा लगे पनि वा जातीय भाषिक राज्य दिए हामी नेपालीको अवस्था भने उस्तै रहनेछ ।
जनताका नेता बन्दै पञ्चायतमा एक सय पाँचजनाले लुटे, ०४६ सालमा बहुदल आएपछि दुई सय ६५ जनाले लुटे, गणतन्त्र आएपछि त त्यो झुन्ड ६ सय एकको बन्यो । अब मुलुक संघीय राज्यमा जाँदा एक हजारभन्दा बढीले यसरी नै लुटिरहने मौका पाउनेछन् । लुटेराको संख्या बढ्ने निश्चित छ । आखिर लुटिने त जनता नै हुन् । त्यसैले भ्रमै भ्रममा परी बुझ्दै नबुझी हुन्छ रे भनेका भरमा जातीय, भाषिक, मधेस प्रदेश, स्वायत्त प्रदेश आदिजस्ता नामका राज्यका माग गर्दै आन्दोलन गर्नु बेकार हो । राज्य टुक्रा टुक्रा पार्ने होइन रोग, भोक अशिक्षा पछौटेपनजस्ता कुरालाई टुक्रा टुक्रा पार्नुपर्छ । राज्य हाम्रो हो कुनै जाति भाषी र सम्प्रदायको होइन भन्ने विशाल हृदयका साथ रमाउन सकौँ, यसैमा हामी सबैको कल्याण छ । जनतालाई भ्रममा पर्ने सबै नारा सिद्धिएपछि मिलेर बसेको समाजमा जातीय विष रोपेर मुलुकलाई फेरि अर्को द्वन्द्वमा लैजाने र आफू सधैँ नेता हुने सपना देख्नेहरूलाई जनताले नै पाठ सिकाउन आवश्यक छ । सबैलाई
चेतना भया ।
(लेखक आरआर क्याम्पसमा इतिहास विषयका उपप्राध्यापक हुन् ।)

प्रतिक्रिया