भट्टराई सरकारमा जान नहुँने एमालेमा दबाव

काठमाडौं, २२ वैशाख । एमाले केन्द्रीय सदस्यहरुले दलहरुका वीच बिहीबार मध्यराती भएको पाँच बुँदे सहमति अनुसार सरकारमा नजान नेतृत्वालाई दबाव दिएका छन् ।
मधेसी मोर्चासँगको चार बुँदे सहमति र अन्तरिम संविधानको धारा ३८ (२) अनुसार बनेको सरकार सहमतीय सरकार हुन नसक्ने भन्दै सामेल नहुन नेतृत्वलाई दबाद दिएका हुन् । अधिकांश सदस्यहरुको सरकारमा नजान सुझाव आएपछि बैठक भोली सम्मका लागि स्थगित गरिएको सचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘बैठकमा पाँच बुँदे सहमतिको पक्ष र विपक्षमा धारणा प्रसस्त आएका छन्, निर्णय केही भएको छैन, भोली पुनः बसेर यस विषयमा आवश्यक निर्णय गर्ने छौं ।’
पार्टी मुख्यालय बल्खुमा आज बसेको केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले बहुमतीय सरकार बिघटन बिना सहमतिको सरकार बन्न नसक्ने धारणा राखेका हुन् ।
यसरी धारणा राख्नेमा घनश्याम भुषाल, योगेश भट्टराई, जगन्नाथ खतिवडा, उर्वादत्त पन्त, गणेश तिमलसिना, खगराज अधिकारी, श्रीमाया थकाली, अष्टलक्ष्मी शाक्य लगायत १८ जना रहेका छन् ।
यद्यपि केन्द्रीय सदस्य मुकुन्द न्यौपाने र वंशीधर मिश्रले भने पाँच बुँदे सहमति अनुरुप सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए ।
‘अन्तरिम संविधानको ३८ (२) अनुसार नै बहुमतीय सरकारमा जानुपर्ने भएको भए पाँच पहिना अगाडि नै जानुपथ्र्यो’, केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘हामीले विपक्षमा मतदान गरेको सरकारमा जानु हुँदैन ।
बैठकमा अध्यक्ष झलनाथ खनालले पाँच बुँदे सहमतिका बारेमा केन्द्रीय समितिलाई जानकारी गराउदै आफूपनि पूर्णरुपमा सन्तुष्ट नरहेको बताए । उनले भने, ‘परिस्थितिका कारण पाँच बुँदे सहमति गरेका हौं ।’
एमालेको केन्द्रीय समितिको बैठक भोली शनिबार पुनः बस्ने गरेर आजका लागि स्थगित भएको छ ।

प्रतिक्रिया