हिमशिखर को–अपरेटिभ ‘लिक्विडेसन’मा

काठमाडौं, २१ वैशाख । हिमशिखर कोअपरेटिभ लिमिटेड लिक्विडेसनको प्रक्रियामा गएको छ । अध्यक्ष गंगाबहादुर कार्की सम्पर्कविहीन भएपछि संस्था लिक्विडेसनमा गएको हो ।

कानुनी प्रावधानअनुसार डिभिजन सहकारी कार्यालय काठमाडांैले अधिवक्ता रामबहादुर थापालाई लिक्विडेटरमा नियुक्त गरेको हो । संस्थाकै सिफारिसमा थापालाई लिक्विडेटर नियुक्त गरिएको कार्यालयले जनाएको छ । लिक्विडेटर नियुक्त गर्ने अधिकार डिभिजन कार्यालयको भएकाले थापालाई नियुक्त गरिएको कार्यालयका अधिकृत कृष्णप्रसाद शर्माले बताए ।
करिब चार हजार दुई सय निक्षेपकर्ताको तीन करोड लिएर अध्यक्ष फरार भएपछि निक्षेपकर्ताको रकम फिर्ता गर्ने कुनै विकल्प नभएको संस्थाका कोषाध्यक्ष हेमचन्द्र महतोले बताए । ‘अध्यक्ष सम्पर्कमा नआएपछि लिक्विडेसनको विकल्प रहेन,’ उनले भने । निक्षेप फिर्ताका लागि संस्थालाई लिक्विडेसनमा लाने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । लिक्विडेटर नियुक्त भएपछि संथाको सम्पत्ति लिलामी गर्न सकिने कानुनी प्रावधान छ ।
लिक्विडेटर थापाले लिक्विडसनको प्रकृया सुरु गरिसकिएको बताए । ‘संस्थामा निक्षेपकर्ताको कति निक्षेप छ, यसको प्रमाण मागेका छौँ,’ अधिवक्ता थापाले भने । निक्षेपको परिमाण पत्तालागे पनि सार्वजनिक सूचना जारी गरिने उनले बताए ।
हिमशिखरको नाममा रहेको चपलीहाइटस्थित १७ आना जग्गा लिलामी गरी निक्षेप फिर्ता गर्ने योजना रहेका थापाको भनाइ छ । ‘कर्जा असुल गरी अचल सम्पत्तिसमेत लिलामी गरिने छ,’ थापाले भने । तीन महिनाभित्रमा सबैले निक्षेप फिर्ता पाउने दाबी उनको छ ।
२०६३ सालदेखि संस्थाको अडिटसमेत नभएको बताइएको छ । त्यसअघि अडिट गर्दै आएका अडिटर हरिशचन्द्र पराजुलीले अडिटको काम पनि सुरु गरिएको बताए । संस्थाको सम्पत्तिले नपुगे अध्यक्षलगायतका सञ्चालकको सम्पत्तिबाट निक्षेप फिर्ता गरिने तयारी भइरहेको बुझिएको छ । अध्यक्ष कार्कीसहित संस्थाका सचिव महेश्वर शर्मा र सदस्य किशोर कार्की पनि सम्पर्क विहीन छन् ।
हिमशिखरमा प्रज्वलविक्रम अधिकारीको २० लाख, सिके लामाको १५ लाख, रवीन खड्काको १० लाख, कोषाध्यक्ष हेमचन्द्र महतोको साढे सात लाख र कुमार बस्नेतको पाँच लाख रुपियाँ निक्षेप रहेको बुझिएको छ ।
सहकारी विभागले आर्थिक वर्ष ०६७/ ६८ मा देशभरका एक सय ५६ वटा सहकारीको दर्ता खारेज गरेको थियो । त्यस्तै सोही आवमा ७७ वटा सहकारी लिक्विडेसनमा गएको विभागको तथ्यांक छ ।

प्रतिक्रिया