हिरोइनको कथामा तीन चलचित्र


काठमाडौं २१  वैशाख । चलचित्र क्षेत्रमा स्थापित नायिका हुनुअघि कुनै केटीले कस्ता मोडहरू गुजारेकी होली ? कस्ता सम्झौता अनि संघर्ष गर्ली ? यस्तो कहानीको एउटा ‘कम्प्लिट प्लट’ बलिउड चलचित्र द डर्टी पिक्चरले प्रस्तुत गरिसकेको छ । यसबाहेक बलिउडमै पनि हिरोइन नामको अर्को चलचित्र प्रदर्शन हुने सुरसारमा छ । सधैँभरि बलिउड शैलीकै मसला अनि कथा कपी गरेर बनाइएका नेपाली चलचित्र दर्शकका लागि टाउको दुखाइको विषय बन्ने गरेका छन् । तर, हिरोइनका विषयमा चलचित्र बनाउने बलिउड शैलीलाई नेपाली चलचित्रकर्मीले फेरि फलो गर्न लागेका छन् । यसै विषयमा नेपालमा तीन चलचित्र बन्ने भएका छन्– कलिउड, हिरोनी र हिरोइन । कथानकलाई मौलिकता नदिने हो भने यी चलचित्रले पनि सेक्स दृश्यको सस्तो प्याकेज नै प्रस्तुत गर्ने हुन् कि भन्ने आशंका पनि छ । कलिउड भिजेबाट निर्देशनमा डेब्यु गर्न लागेका नवराज आचार्यले निर्देशन गर्न लागेका हुन् । किन यही विषय रोजे त उनले ? ‘पहिलेदेखि नै संघर्षरत नायिकाका विषयमा चलचित्र बनाउने सोच थियो, त्यसैलाई पूर्णता दिन लागेको हुँ,’ उनले भने । अरू दुई चलचित्रले पनि टपक्कै यस्तै विषयवस्तु टिपेको बुझिएको छ । हिरोइनलाई निर्माता रोज राणाले निर्माण गर्ने भएका हुन् भने हिरोनी नायिका प्रियंका कार्कीले बनाउन लागेकी हुन् ।
यी सबैलाई एउटै आरोप छ– बलिउडमा डर्टी पिक्चर्सको सफलतामा लोभिएर त्यही विषय कपी गरेको † तर, आचार्य आफूले त्यसो नगरेको बताउँछन् । ‘मैले यो विषयको कथाको तयारी गरेको तीन वर्ष भयो, बल्ल अहिले तयार भएकाले निर्माण गर्न लागेको हुँ । यो बलिउडको प्रभाव वा नक्कल होइन,’ उनले भने । तैपनि, कहीँकतै कथा मिल्न सक्ने भने उनी स्विकार्छन् । उनी भन्छन्, ‘कमर्सिएल विषयवस्तु मिल्दैन ।’ नायिका प्रियंकाको प्रतिवाद गर्ने शैली पनि आचार्यकै जस्तो छ– ‘रियल विषयमा चलचित्र बनाउँm भनेर हो, कहीँकतैबाट प्रभावित भएर होइन ।’ निर्माता रोज राणाले सम्पूर्ण तयारी भइसकेको ग्याङस्टार छाडेर हिरोइन बनाउने तयारी गर्नुलाई डर्टी पिक्चरकै प्रभावका रूपमा हेरिएको छ । भन्छन्, ‘दर्शक टेस्ट चेन्ज भएकाले नयाँ धारको चलचित्र बनाऊँ भन्ने लागेको हो ।’ अब उनी हिरोइन बनाएर मात्रै ग्याङस्टार बनाउने मुडमा पुगेका छन् । छायांकन तयारी भइरहेको आचार्यको कलिउडमा नायक आर्यन सिक्देल र नायिका नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहने भएका छन् । पहिला सहाना वज्राचार्यलाई मनोनयन गरेका भए पनि पछि नम्रतालाई खेलाउने भएका हुन् । निर्माता रोजले भने अहिलेसम्म कलाकार छानिसकेकै छैनन् । तर, भन्छन्, ‘मेरो आधाजति काम सकिइसक्यो ।’ उनका अनुसार यसबीच उनले नायिकाहरू सहभागी थुप्रै कार्यक्रमका फुटेज खिचिसकेका छन् । संकलन गरिएका तिनै फुटेजका नायिकामध्ये कुनै एउटालाई छानेर चलचित्र सुरु गर्ने सोचाइ उनको रहेछ । नायिका प्रियंका भने हिरोनीको लेखन अन्तिम चरणमा पुगेको सुनाउँछिन् । भन्छिन्, ‘लेखन सकिनासाथ छायांकन सुरु गर्ने सोच छ ।’

प्रतिक्रिया