दर्शक नहाँसे टिकट फिर्ता

काठमाडौं : प्रदर्शनको तयारीमा रहेको चलचित्र सम्झिराख हैको निर्माण टोलीले आफ्नो चलचित्रले दर्शकलाई कथाअनुसार हँसाउन वा रुवाउन नसके टिकटबापतको पैसा फिर्ता गर्ने बताएको छ । चलचित्रका प्रस्तुतकर्ता तथा निर्देशक रीम विश्वकर्माले दर्शकलाई यस्तो चुनौती दिएका हुन् । उनले भने, ‘चलचित्रमा हास्य र सेन्टिमेन्टल दृश्य दर्शकको मन छुने गरी प्रस्तुत भएका छन् ।’ यो चलचित्र २२ वैशाखदेखि काठमाडौं उपत्यकाबाहिर र २९ वैशाखदेखि उपत्यकामा प्रदर्शन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
रेडलाइन फिल्म्स् प्रालिको ब्यानरमा रहेको सो चलचित्रको लेखन पनि निर्देशक विश्वकर्माले नै गरेका हुन् । यसमा सुमन सिंह, जिके शर्मा, गणेश गिरी, अर्चना केसी, प्रेम पुरी, रवीन्द्र खड्का, सुशील पोखरेल, विनोद मानन्धरलगायत कलाकारको अभिनय छ । यसै चलचित्रबाट अस्मिता कँडेलले नायिकाका रूपमा डेब्यु गरेकी छन् । (सौस)

प्रतिक्रिया