पेट्रोलियम अभाव झन् बढ्ने

काठमाडौं, २१  वैशाख । भारतीय आयल निगम (आइओसी) को बक्यौता रकम चुक्ता गर्न नसकेको भन्दै नेपाल आयल निगमले बजार मागअनुसार पेट्रोलियम पदार्थ आपूर्ति नगर्दा अभाव चर्कंदै गएको छ । निगमले उपभोक्ताको आवश्यकताअनुसार पेट्रोलियम आपूर्ति नगर्दा करिब एक सातादेखि सुरु भएको अभाव थप चर्केको हो ।
बजार मागअनुसार आपूर्ति नभएपछि राजधानीलगायत मुलुकभरका अधिकांश पेट्रोलपम्प बन्द भएका छन् । यस्तै, पेट्रोलियम मौज्दात रहेका पम्पमा समेत उपभोक्ताको लाम बढ्दै गएको छ भने कतिपयले अभावकै बीचमा मूल्य समायोजन हुने आशंकाले मौज्दात पेट्रोलसमेत बेच्न छाडेका छन् ।
निगमले भने आइओसीलाई तिर्नुपर्ने दुई अर्ब रुपियाँ बक्यौतामध्ये केही दिनअघि एक अर्ब रुपियाँ भुक्तानी गरे पनि बाँकी रकम चुक्ता नभएसम्म आपूर्ति सहज नहुने जनाउँदै आएको छ । निगमका अनुसार आइओसीलाई अब एक अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी छ । सो रकम भुक्तानी गरी मूल्य समायोजन भए मात्र आपूर्ति सहज हुने निगमको तर्क छ ।
निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले मूल्य समायोजन, सरकारी अनुदान वा भन्सारकर फिर्तामध्ये कुनै एक विकल्प नपाए आपूर्ति सहज हुन नसक्ने बताए । अन्तर्राष्ट्रिय मूल्यअनुसार खरिद गरेको पेट्रोलियम कम मूल्यमा बिक्री भइरहेकाले घाटा बढ्दै गएको तथा आपूर्तिसमेत सहज बनाउन नसकिएको उनको भनाइ छ । अप्रिल महिनामा डिजेलमा प्रतिलिटर १२ रुपियाँ ४८ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर आठ सय दुई रुपियाँ घाटा रहेकाले मूल्य समायोजन नगरी यो घाटा कम नहुने अग्रवालले बताए । उनले १४ जेठसम्म पेट्रोलियम आपूर्ति सहजताका लागि अर्थमन्त्रालयसँग चार अर्ब रुपियाँ माग गरेको र सो रकम नपाए अभाव झनै चर्किने दाबी गरे ।
दैनिक माग बढ्दै गएको तर सहज आपूर्ति नभएपछि स्वाभाविक रूपमा अभाव चर्कने अग्रवाल बताउँछन् । प्रतिमहिना डेढ अर्बभन्दा बढी घाटा भइरहेकाले उधारो तेल ल्याउन नसक्ने अवस्थामा निगम पुगेको उनीको भनाइ छ । ‘माग बढेको बढ्यै छ, घाटाको व्यापार भएकाले आपूर्ति बढाउन सकिंदैन,’ अग्रवालले भने, ‘सरकारले विकल्प नदिए अनिश्चित कालसम्म अभाव भइरहन्छ ।’ अभावलाई कम गर्न निगमसँग भएको स्रोत–साधनको सक्दो प्रयोग गरेको पनि अग्रवाललले बताए ।
आइओसीले समेत बक्यौताकै कारण साबिकको परिमाणमा कटौती गरेको निगमले जनाएको छ । यसअघि पनि आइओसीले समयमै भुक्तानी नपाएपछि पटकपटक आपूर्ति कटौती गर्दै आएको थियो ।
निगमका अनुसार हाल उपत्यकामा दैनिक दुई सय ५० किलोलिटर पेट्रोल र तीन सय किलोलिटर डिजेल खपत हुने गरेको छ । यो परिमाणमा आपूर्ति नहुँदा बजारमा अभाव सुरु हुने गरेको व्यवसायी बताउँछन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष सरोज पाण्डेले आपूर्ति कटौती भएकाले अभाव बढ्दै गएको बताए । उनले तत्काल यसको विकल्प नआए जनजीवन कष्टकर बन्दै जाने दाबी गरे ।

प्रतिक्रिया