स्वतन्त्र पहिचानका आधारमा भन्ने हो भने सीता खड्का झापा आन्दोलनकी योद्धा हुन् अनि नेकपा (माले)की नेत्री । उनी संविधानसभाकी सदस्य छिन् । यसबाहेक उनी वरिष्ठ वाम नेता तथा नेकपा (माले)का महासचिव सिपी मैनालीकी पत्नी पनि हुन् । यस दम्पतीको सम्बन्धबारे मालेभित्र र बाहिर पनि विभिन्न चर्चा भइरहन्छन् । यसै सेरोफेरोमा सीतासंगको यो संक्षिप्त कुराकानी :
कसरी लाग्नुभयो राजनीतिमा ?
– सहिद नेत्र घिमिरे मलाई पढाउने गुरु हुनुहुन्थ्यो । उहाँलगायत गुरुहरू वाम राजनीतिबाट प्रभावित हुनुहुन्थ्यो । त्यसबाट हामी पनि प्रभावित भयां । मेरो परिवार ०२७ सालको झापा किसान आन्दोलनबाट प्रभावित थियो र ममा पनि त्यसको प्रभाव पर्नु स्वाभाविक थियो । यसैबाट मेरो राजनीतिक जीवनको सुरुआत भएको हो ।
राजनीतिमा प्रवेश गर्दा कति थियो तपाईंको उमेर?
– राजनीतिमा लाग्दा म एघार वर्षकी थिएँ । तेह्र वर्षको उमेरमा भने घर छाडेर भूमिगत नै भएँ ।
को थिए तपाईंका राजनीतिक गुरु ?
–मेरो राजनीतिक गुरु नेत्र घिमिरे नै हुनुहुन्थ्यो । पहिलो राजनीतिक शिक्षा मैले उहाँबाट नै पाएकी हुँ । पछि उहाँको हत्या गरियो ।
लामो जीवन भूमिगत र जेलमा रहेर राजनीति गर्नुभयो । अचेल सोच्दा अलि छायामा परिएजस्तो लाग्दैन ?
– त्यतिबेला मेरो उमेरले साथ नदिएको भए पनि मै हुँ नेपालमा वामपन्थी महिलाका तर्फबाट बन्दुक उठाउने पहिलो महिला । उमेर नपुग्दै कम्युनिस्ट पार्टीको सदस्यता लिने व्यक्ति पनि सायद म नै हुँला । पार्टीको सदस्यता पाउने न्यूनतम उमेर १८ वर्ष थियो । म भने तेह्र वर्षकीे मात्र थिएँ । त्यतिबेलादेखि नै पार्टीमा देखिएका उतारचढावसँग जुध्दै भिड्दै यहाँसम्म आइपुगिएको छ । मैले सदस्यता दिएका, शपथ खुवाएका कतिपय साथी एमालेमा पोलिटब्युरो सदस्य भएका बेला म छायामा परेको देखिनु स्वाभाविकै हो ।
तपार्इंभन्दा पहिला बन्दुक बोक्ने वामपन्थी महिला कोही थिएनन् ?
–नेपालको वामं आन्दोलनलाई मूल्याङ्कन गर्ने हो भने झापा आन्दोलनको इतिहास हेर्नैपर्ने हुन्छ । त्यति सानो उमेरमा बढी जेल बस्ने महिला पनि मै हुँ । त्यसो त सहाना दिदीहरू पनि जेल बस्नुभयो तर उहाँहरूले मेरो जति लामो समयसम्म बस्नु परेन । त्यतिबेला राजनीतिक कारणले तेह्र वर्षमा जेल बस्ने महिला को थियो त ? झापाबाट पार्टीले सशस्त्र विद्रोहको थालनी गरेपछि मैले पनि एउटा कार्यकर्ताको हैसियतले बन्दुक बोक्नु स्वाभाविकै थियो । र, बोकँे पनि ।
कतिजना मार्नुभयो बन्दुक बोकेर ?
–झापा आन्दोलनका क्रममा केही व्यक्तिको हत्या भयो । त्यस आन्दोलनको एक सदस्यको हैसियतले मैले पनि नैतिक जिम्मेवारी लिनुपर्छ । उमेरमा म सानै भएकाले एक्सन गर्ने ठाउँमा जान मलाई अनुमति दिइएन र म गइनँ पनि ।
बन्दुक बोक्दा कस्तो महसुस हुन्थ्यो ?
–झापा आन्दोलनको उचाइ देखेर संसारै जितेजस्तो लाग्थ्यो । अनि लाग्थ्यो, मैले बन्दुक बोकेकी छु, यही बन्दुक पड्काएर महिला मुिक्त सम्भव तुल्याउन सक्छु । दबिँदै आएको राजनीतिक आन्दोलनलाई पूर्णता दिन सक्छु भन्ने जोस थियो ।
त्यति बेला महिला भएकै कारण कत्तिको समस्या भोग्नुभयो ?
– अहिलेको युगमा त एउटै पदमा रहेका र उत्तिकै जिम्मेवारी लिएका महिला–पुरुषलाई समान रूपमा हेरिँदैन भने त्यो त सुरुआतकै बेला थियो । महिला भएको कारणले पुरुष कमरेड संगसँगै गाउँ जानु गाह्रो त थियो नै । अझै पनि महिला भएकै कारण हामीलाई पछि पारिँदै छ, त्यतिबेला त्यस्ता समस्या अनगिन्ती थिए । पुरुषप्रधान समाजका उत्पादन भएकाले हामी महिला त्यस मानसिकताको सिकार भइरहेका छाँ ।
सिपी मैनालीसंग सम्बन्ध कसरी गाँसियो ?
–म आरके दाइको हात समातेर हिँड्थे । अरूले चाहि उहाँलाई यसरी छोरी लिएर नहिँड्नू भनिरहन्थे । सबैको दृष्टिमा म उहाँकी छोरी थिएँ । अनि उहाँले नै ‘यो जुनीमा छोरी त भइनौ, बुहारी बनाउँछु’ भनेर प्रस्ताव गर्नुभयो । उहाँ हाम्रो सिनियर नेता हुनुहुन्थ्यो । त्यसलाई हामीले स्वीकार गर्यौँ र एकअर्कालाई मन पराएर पार्टीकै योजनामा बिहे गरियो ।
तपाईंलाई सिपीलाई बढी नियन्त्रण गर्ने महत्त्वाकांक्षी महिला भनिन्छ नि ?
–सिपी मैनाली यो मुलुकलाई विचार दिने नेता हुन् । एमाले अहिले जहाँ छ, त्यो ठाउँमा ल्याउन उहाँको पहिलो नम्बरको योगदान छ । विचारको गाइड गर्ने मान्छेलाई श्रीमतीले गाइड गर्नुपर्छ र ? मलाई गलत ढंगले प्रचार गर्न खोज्ने स्वयं गलत मान्छेको अनर्गल प्रचार हो यो ।
तपाईंको व्यवहार, शैली र स्वभावले पनि सिपीलाई सानो पार्टीको नेता भएर बस्न बाध्य पारेको होइन त ?
–उहाँले लिएको वैचारिक बाटो र सिद्धान्तको प्रतिवाद गर्न नसक्नेहरूले लगाएको आरोप हो । उहाँलाई गलत भनेर गाली गर्नेहरू अन्तत: उहाँले नै लिएको बाटामा हिँड्छन् । जस्तो, उहाँले पार्टी स्वतन्त्रताको अडान लिँदा कारबाही भयो तर पछि पार्टीले त्यही बाटो लियो । जहाँसम्म सानो पार्टीको कुरो छ, झापा आन्दोलन सुरु गर्दा कत्रो थियो ? पार्टीमा कतिजना नै थियाँ र हामी ? तीन–चार जनाले सुरु गरेको होइन र ? पछि हामीसंँग धैरै साथी भए । त्यसैले संख्या होइन, विचार प्रधान हुन्छ राजनीतिमा । एउटा भ्रम प्रस्ट पारिदिऊँ– सिपीलाई नौलो जनवादको बाटो लिनू, बरु पार्टी सानो होस् भनेर मैले कहिल्यै भनेकी छैन । आइन्दा यो आरोप पनि बन्द गरियोस् । मैले स्वार्थमा प्रयोग गर्ने भए एमाले ठूलो पार्टी छ, त्यही जाऔँं भन्थेँ हुँला नि †
श्रीमान्कै कारण बढी फाइदा पाउनुभयो भन्ने आरोप लाग्छ त ?
– मलाई झलनाथ खनाल प्रधानमन्त्री हँदा मन्त्रीको प्रस्ताव आएको थियो, म नमानेकै हो । चाहेको भए हुन्थँे । मैले पनि सुनेँ, सिपीका बूढाबूढी सभासद् भनेको । म त्यसै सभासद् भएको हो ? मेरो राजनीतिमा लगानी छैन ? अरूका श्रीमान्–श्रीमती मन्त्री हुन हुने, सभासद् हुन हुने, हामी नहुने ? यस्तो विरोधको कुनै तर्क हुन्छ ? फेरि म सभासद् हुँदा मालेकालाई भन्दा अरू पार्टीकालाई बढी टाउको दुखेको छ । एक्लै उहाँले गरेको भए त केन्द्रीय कमिटी र पोलिटब्युरोमा पास नहुनुपर्ने नि † उहाँले गर्ने भए पहिले नै गर्नुहुन्थ्यो । आज हो र, पैँतीस सालमा पार्टीको केन्द्रीय सदस्यको प्रस्ताव आएको हो । मैले नै नमानेको हो ।
कहिलेकाहीँ राजनीतिमा लागेर निजी जीवन स्वतन्त्र भएन, गल्ती गरिएछ जस्तो लाग्छ वा लाग्दैन ?
– जब पार्टीले मूल्याङ्कन गर्ने बेला इमानदारी देखाउँदैन, त्यति बेला भने दु:ख लाग्छ । जस्तो– म एमालेमा रहँदाको कुरा गर्ने हो भने त्यस्तो अनुभव हुन्छ । बरु धेरै पढेको भए हुन्थ्यो कि, अरु केही गरेको भए हुन्थ्यो कि भन्ने त लाग्थ्यो नै । चार महिनाको दूध खाने बच्चा गाउँमा छाडेर भूमिगत राजनीति गरेको हो । अरूले मूल्याङ्कन नगरे पनि म आफूले यो मुलुकको लागि केही गरेको छु, अरूले नगरे पनि मुलुकले मूल्याङ्कन गर्ला भन्नेमा छु ।
भूमिगत जीवनको तितो सम्झना के छ ?
–काठमाडौं उपत्यकामा पार्टी काममा थिएँ । एकजना कमरेडसँग बसेर योजना बनाउँदै थियाँ। ती कमरेडको नाम त म अहिले लिन्नँ । उहाँकी श्रीमती त श्रीमान्ले अर्की श्रीमती ल्यायो भनेर काट्न आउनुभएको । पछि राम्ररी चिनेपछि उहाँ नै मेरो नजिकको साथी हुनुभयो । अपमान घोचपेच त कति भए, भए †
प्रस्तुति : चमिना
प्रतिक्रिया