“विषय होइन लेखक झुर”

हिजोआज के लेख्दै हुनुहुन्छ ?
अहिले खास केही पनि लेखिरहेको छैनँ ।
लेख्ने विषय सकिएको हो या स्वास्थ्यका कारणले नलेख्नुभएको ?
विषय कहाँ सकिन्छ ? विषय त कति छन् कति । दुई वर्षदेखि मेरो स्वास्थ्य राम्रो छैनँ । मेरो हात केटाकेटीदेखि नै काम्ने गर्दथ्यो, अहिले बिरामी भएपछि बढी काम्न थालेको छ । आलस्य पनि बढेको छ । यही कारणले लेख्न सकिरहेको छैन ।
त्यसो भए, अब डा. डिपी भण्डारी’ ले केही लेख्दैन त ?
होइन, लेख्छु । मेरो ‘अटो बायोग्राफी’ लेख्ने तयारीमा छु, भनौँ वा लेखिसकँे जे होस्, त्यसको शीर्षक ‘हिटलर एन्ड बटरफ्लाइज’ हो । हिटलर र बटरफ्लाइजको केही सम्बन्ध छैन अनि मेरो र हिटलरको पनि । तर, जतिबेला हिटलरले यहुदीहरूलाई झिँगा मारेजस्तै मारिरहेको थियो, त्यतिबेला म पनि जंगलमा गाई चराउँदै झिँगा मारिरहेको थिएँ । यहाँचाहिँ सम्बन्ध केही छ ? त्यो पछि  ‘अटो बायोग्राफी’ पढेर थाहा हुन्छ । लेख्नु त अरू पनि छ तर स्वास्थ्यले साथ दिइरहेको छैन ।
जति लेख्नुभयो, अब लेख्न बाँकी त्योभन्दा बढी छ या कम ?
लेख्न बाँकी कमै होला । जति लेख्नुथियो, लेखियो । अब सत्तरी वर्ष पुगिसकेँ अब के गतिलो लेखिएला र !
लेखन कुन उद्देश्यबाट प्रेरित भएर सुरु गर्नुभएको थियो, त्यो पूरा भयो ?
मैले कुनै उद्देश्यबाट प्रेरित भएर लेख्न सुरु गरेको होइन । हिन्दी लेखकहरूबाट प्रभावित भएर लेख्न सुरु गरेको हुँ । जयशंकरप्रसाद, प्रेमचन्दलगायत अरू धेरैबाट प्रभावित भएँ, अरूको त नामै भुले ।
डिपी भण्डारी को हो, साहित्यकार, प्रोफेसर, चिन्तक, विचारक या अरू ?
एउटा साधरण मान्छे हुँ । साच्चै भन्दा म केही पनि होइनँ, फेरि भन्दा -प्रोफेसर, चिन्तक, विचारक) सबै पनि हुँ ।
तपाईंलाई विश्वविद्यालयमा पढाउँदा आनन्द हुन्थ्यो कि लेख्दा ?
पढाउँदा नै बढी रमाइलो हुन्थ्यो ।
तपाईंको पात्र मीनाक्षी’ सँगको सम्पर्क, सम्बन्ध र समन्वय टुटेको हो ?
‘मीनाक्षी’ लेखनमा मेरो एउटा विम्ब थिइन् । भारत बंगालकी कन्या हरिद्वारमा भेटेको थिएँ, उनलाई विम्ब बनाएर लेखेँ । राम्रै भयो, रमाइलै भयो ।
मीनाक्षी अहिले तपाईंको घरमा आइपुगिन् भने के गर्नुहुन्छ ?
घरमा चिया पकाउने कोही छैन, चिया पकाउन लगाउँछु -लामो हाँसो) । अनि, बस्छु भनिन् भने घरमै राख्छु, अन्त जानु छ भने पठाइदिन्छु ।
लेखनमा यौनलाई बढी नै महत्त्व दिनुभएको छ, लेखनमा मात्रै हो कि, व्यक्तिगत जिन्दगीमा पनि ?
यी त प्राकृतिक चिज हुन् नि । जो कोही यौनप्रति आकषिर्त हुन्छ । ब्रह्मचारी हुँ भन्नेहरू पनि यौनप्रति आकषिर्त हुन्छन् । तर, मान्छेहरू ढोंगी हुन्छन्, भित्र एउटा छ बाहिर अर्को भन्छन् ।  फरक यति हो ।
तपाईंलाई यौनको मामलामा माहिर भनिन्छ नि ?
म ढोंगी छैनँ । जे छ, त्यो भन्छु, त्यही लेख्छु । यही भएर मान्छेलाई यस्तो लागेको होला ।
एउटी सुन्दरी तरुनी र लेखनका लागि एउटा राम्रो विषय, दुईमा एक कुन रोज्नुहुन्छ ?
म त दुईवटै रोज्छु ।
डा. डिपी भण्डारी’ बाट नयाँ पुस्ताले के सिक्ने र के नसिक्ने ?
नसिक्नुपर्ने धेरै छैनन् -हाँसो । मैले जस्तो धेरै खर्च नगर, भलाद्मी मान्छे आयो भने उसको अगाडि नपादी देऊ, बढी नहाँस, यस्ता अरू धेरै छन् नसिक्नुपर्ने । सिक्नुपर्नेचाहिँ कुनै पनि पुस्तक राम्रोसँग पढ्नु पर्‍यो अनि आत्मसात् गर्नुपर्‍यो । बजारमा आउने जुन पायो, त्यही पुस्तक पढ्नुभन्दा एउटा राम्रो पुस्तक पढेर ज्ञान लिनुपर्छ । बजारको पछि लाग्नु हुदैन, आफ्नो पछि बजार लगाउनुपर्छ ।
अहिलेसम्म नलेखिएका तर लेख्नैपर्ने विषय के-के हुन् ?
यस्ता विषय कति छन् कति । भनेर साध्यै छैन नि । जस्तै, हिमालतिर भोटेभोटेनीहरूलाई भेटेर एउटा राम्रो उपन्यास लेख्न सकिन्छ, हिमालभन्दा तलतिर झर्‍यो भने पनि बाटैभरि विषय भेटिन्छन् । कुकुरको पुच्छरको बारेमा पनि लेख्न सक्छौँ तर प्रस्तुतिकला हुनुपर्‍यो ।
लेखक झुर हुन्छ कि विषय ?
विषय कहिल्यै पनि झुर हुंदैन । झुर लेखकले राम्रो विषयलाई पनि झुर बनाइदिन्छ । लेख्न सके त जुनै विषय पनि राम्रो हुन्छ । कसरी प्रस्तुत गरिन्छ, त्यसमा फरक पर्छ । प्रस्तुतिकला राम्रो भयो भने साधरण विषयमा पनि राम्रो हुन्छ । झिंगाका विषयमा लेखे पनि प्रस्तुतिकला भयो भने बेजोड हुन्छ । तर, प्रस्तुतिकला राम्रो भएन भने जति राम्रो विषय पनि काम लाग्दैन ।
लेखेर के हुँदोरहेछ ? तपाईंको निष्कर्ष ?
खै के भयो ? पूरा हिसाबकिताब गरेको छैन । कहिलेकाहीँ केही भयो जस्तो लाग्छ, कहिले भएन भन्ने पनि लाग्छ । तर, केहीचाहिँ भयो होला । केही भएर त सबैले माया गरेका होलान् नि
प्रस्तुतिः राजेश राई

 

प्रतिक्रिया