एउटा ब्युरोक्रयाटको तारिफयोग्य दृष्टिकोण

विक्रमीय २०५२ मा छापिएको कुमारमणि आचार्य दीक्षितको आत्मवृत्तान्त ‘फाटफुट सम्झना’ यस विधामा नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये मलाई सम्भवतः सबैभन्दा बढी मन परेको किताब हो । यसमा लेखक दीक्षितले एकदम तटस्थ भावले आफ्नो वरिपरि भएका महत्त्वपूर्ण घटनालाई हेर्ने, बुझ्ने र पर्गेल्ने बौद्धिक क्षमताको प्रदर्शन त गरेका छन् नै, एउटा आत्मकथा वाचकमा हुनुपर्ने इमानदारी र सत्य-निष्ठा पनि देखाएका छन् । आफूसँग मात्र होइन, अरूहरूसँग समेत सरोकार राख्ने गम्भीर वैयक्तिक र सामाजिक विषयहरूको सम्झना गर्दै तिनको पुनरावलोकन र पुनव्र्याख्या गर्ने कुनै व्यक्ति इमानदार रहन सकेन र उसले तथ्य-सत्यलाई आफ्नो हित पोषणका खातिर भाँच्ने-बंग्याउने चेष्टा गर्‍यो भने उसले रचेको त्यो कृति अर्धसत्यको पुलिन्दा मात्र हुन जान्छ र त्यसमा पाखण्डको गन्ध आउन थाल्दछ ।
खुसीको कुरो, कुमारमणि पाखण्डबाट पूर्णतः मुक्त देखिन्छन् । महान् प्रजातन्त्रवादी नेता एवं मुलुककै पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको निजी सचिव भएर काम गर्ने ऐतिहासिक अवसर पाएका काठमाडौंको सम्भ्रान्त ब्राम्हण परिवारबाट आएको यो ब्युरोक्रयाटले आधुनिक नेपाली इतिहासको प्रारम्भिक चरणका ती महत्त्वपूर्ण घटना र तिनमा सामेल व्यक्तिको सम्झना गर्दा तारिफयोग्य तटस्थ दृष्टिकोण लिएका छन् । कसैका बारेमा पनि सोझो टिप्पणी नगर्ने तर उसको व्यवहार र तत्काल भएका घटनालाई उसको व्यवहारले पारेको प्रभावको दिग्दर्शन गराएर चरित्रको उद्घाटन गर्ने बडो घतलाग्दो शैली छ दीक्षितको लेखनको । कतैकतै कुनैकुनै मानिसका बारेमा यिनले प्रत्यक्ष टिप्पणी पनि गरेका छन् । तर त्यसमा पनि आग्रह/पूर्वाग्रहको छनक आउन दिएका छैनन् ।
पुस्तकको केन्द्रीय विषयवस्तुमा कुमारमणिको राष्ट्रसेवकको जीवनयात्राको मोड र बिसौनीहरू नै छन् तापनि बिपी कोइरालाका विषयमा पनि दीक्षितले बडो मार्मिक ढंगमा धेरै कुरा लेखेका छन् । नेपाली सार्वजनिक जीवनमा देखापरेकामध्ये सम्भवतः सबैभन्दा प्रतिभाशाली व्यक्ति विश्वेश्वरप्रसाद कोइरालाका बारेमा सत्य/असत्य, राम्रा/नराम्रा अनेकौँ किस्सा-कहानी चलाइएका छन् यहाँ । विशेष गरी करिब १९ महिनाको उहाँको प्रधानमन्त्रीत्वमा चलेको मुलुककै पहिलो जननिर्वाचित सरकारको कामकाज, बिपीको कार्यशैली, बिपी र राजा महेन्द्रबीचको सम्बन्ध, ०१७ साल पुस १ गतेको सैनिक कु, त्यसको पृष्ठभूमि आदिलाई लिएर अनेक प्रकारका भ्रामक कुरा फैलिएका छन् । यस्तो स्थितिमा प्रधानमन्त्रीको सचिवका हैसियतले काम गर्ने क्रममा तात्कालिक राजनीतिक, प्रशासनिक गतिविधिको सूक्ष्मतम् ढंगमा अध्ययन गर्ने अवसर पाएका दीक्षितले जुन आधिकारिक पुष्ट्याइँका साथ त्यतिबेलाका परिघटनालाई पुनः जीवित बनाएका छन्, त्यो प्रशंसनीय छ । बिपी कोइरालाको स्वभाव, मेधा, प्रमका रूपमा अपनाएको कार्यशैली र शक्ति एवं कमजोरीका बारेमा कुमारमणिले जति प्रामाणिक रूपमा सायदै कसैले लेख्न सक्ला । यो पुस्तक तयार गर्नुको कुमारमणिको उद्देश्य त्यो थिएन होला तर उनले गरेका सत्यान्वेषण र प्रक्षेपणले नेपाली राजनीतिको क्ष्ाेत्रमा व्याप्त भ्रमको पर्दा चिरेको र भ्रम फैलाएर पानीमाथि ओभानो बनिरहेका कतिपय खलपात्रको अनुहारबाट मखुण्डो उतारेको पनि छ ।
‘फाटफुट सम्झना’ नै मैले पढेको आत्मकथा वा संस्मरणहरूको त्यस्तो पुस्तक हो, जसमा लेखकले आफ्नो छविलाई उज्यालो पार्ने र अरूहरूमाथि उचित/अनुचित सबै किसिमका लाञ्छना लगाउने अनर्गल प्रयत्न गरेको छैन । अवकाशप्राप्त कर्मचारीहरूले लेखेका आत्मकथामा प्रायशः भेटिने त्यो कमजोरीबाट यो पूर्णतः मुक्त छ । पुस्तकमा लेखक जताततै हुनु स्वाभाविकै हो किनभने यसमा लेखकका भोगाइका सम्झनाहरू छन्  तर लेखक र उनका परिवारसँग सम्बन्धित पुस्तकमा परेका विवरणले पनि आफूलाई व्यापक सन्दर्भसँग जोड्छन् र ती समयको अभिलेख राख्ने उपकरण बन्न पुग्दछन् । कुमारमणिले ठाउँठाउँमा आफ्ना प्रख्यात विद्वान् र कूटनीतिज्ञ पिता नरेन्द्रमणि आचार्य दीक्षितसँग सम्बन्धित प्रसंगहरूको पनि उल्लेख गरेका छन् तर ती पिताजीमा भन्दा पिताजीको समयको कथा भन्नमा बढी केन्दि्रत भएकाले असान्दर्भिक लाग्दैनन् ।
लेखकले पुस्तकलाई कुनै निश्चित ढाँचाको बन्धनभित्र राखेर तयार गरेका छैनन् । तिथिमितिको झन्झटमा पनि उनी परेका छैनन् । यसमा क्रमभंग छ र पाठकले जहाँबाट सुरु गरेर जहाँ पुगेर टुंग्याए पनि पठनको आनन्दमा फरक नपर्ने गरी संयोजन गरिएकाले यो बेग्लै ढंगले आकर्षक भएको छ । भाषाको प्रवाह एकनासको छ । लेखक घुमाइ-फिराइ भन्न मन पराउँदैनन् । दीक्षितको लेखाइमा एकप्रकारको रुखो आकर्षण छ, प्राविधिक बेहोरामा हुनेजस्तो ।
यो पुस्तकलाई मैले मन पराउनाको अर्को कारण के पनि हो भने, यसमा कुमारमणि दीक्षितले लामो अवधिसम्म एउटा अन्तर्राष्ट्रिय विकासे संस्थामा काम गर्दाको अनुभवको उपयोगी निचोड पनि दिएका छन् । कामका सिलसिलामा अनेकौँ विकसित र विकासोन्मुख मुलुकमा गइरहनुपर्ने भएकाले लेखक दीक्षितले ती मुलुकमा विद्यमान नोकरशाही, विकाससम्बन्धी समस्या, अन्तर्राष्ट्रिय संस्थाहरूको कार्यशैली र निर्णय प्रक्रियाका अप्ठ्यारा र भ्रष्टाचारको समेत झल्को दिएका छन् । यो पुस्तकको गम्भीर प्रकारको अध्ययनबाट हाम्रो मुलुकका विकास योजनाका सञ्चालक र निर्माताले उपयोगी पाठ सिक्न सक्दछन् ।
एउटा तटस्थ विश्लेषणका रूपमा कुमारमणि नेपाललाई हेर्ने र व्यवहार गर्ने भारतीय संस्थापनको हेपाहा नीतिबाट अत्यन्तै क्षुब्ध र निरास पनि छन् तर उनको त्यो क्ष्ाोभ र त्यो निराशा मनोगत होइन । उनले भारतले कसरी राजा त्रिभुवनको राजनीतिक अल्पदृष्टि, निहित स्वार्थ र मूर्खताका कारण १९५० देखि नै नेपाललाई अप्ठ्यारोमा पार्ने अवाञ्छित कागजमा सही गर्न लगाएर दुःख दिँदै आएको छ, अहिलेसम्म पनि कुनकुन रूपमा त्यो क्रम जारी छ भन्ने कुराको सिलसिलेवार उल्लेख गरेका छन् । यो एउटा कारणबाट मात्रै हेर्दा पनि ‘फाटफुट सम्झना’लाई मन नपराइरहन सकिन्न ।

प्रतिक्रिया