उपलब्धिको वर्ष

काठमाडौं, ३० चैत । विगतका वर्षहरूको तुलनामा ०६८ साल वातावरणीय हिसाबले निकै सफल रह्यो । वातावरण प्रदूषणका लागि सबैभन्दा खतरनाक मानिने प्लास्टिक झोला प्रयोगमा सरकारले यसै वर्षदेखि प्रतिबन्ध लगायो । यद्यपि, सरकारी निर्णय पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन ।
सरकारले गत १८ पुसमा प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका– २०६८ पास गरेपछि त्यसको नियमन कार्यसमेत सुरु भइसकेको छ । सरकारी घोषणाविपरीत प्रतिबन्धित प्लास्टिक झोलाको प्रयोग हुन नछाडेपछि वर्षको अन्तिम दिन बिहीबार साझ अबेरसम्म वातावरणमन्त्री हेमराज तातेड आफै बालाजु औद्योगिक क्षेत्रमा पुगेर अनुगमन गरे । सुरुमा चेतावनी दिने र नमाने ५० हजार रुपियासम्म जरिवाना गर्ने नियम बनाएर सरकारले २० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
अघिल्लो वर्ष सरकारले पर्वतीय मुलुकहरूलाई आह्वान गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन काठमाडौंमा गरेर नेपालले अन्तर्राष्ट्रिय जगतमा पनि राम्रो सन्देश दिएको छ । सन् २००९ देखि नेपालले पहल गर्दै आएको झन्डै ३० देश सहभागी गत चैतमा काठमाडौंमा सम्पन्न यो सम्मेलनले ‘काठमाडौं कल फर एक्सन’ घोषणापत्र जारी गर्‍यो । दुई वर्षअघि विश्वका करिब दुई सय राष्ट्र प्रमुख एवं प्रधानमन्त्री सहभागी भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को १५औ सम्मेलनलाई सम्बोधन गर्दै तात्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पर्वतीय मुलुकको गठबन्धन बनाएर अघि बढ्न आह्वान गरेका थिए ।
नेपालमा ४० वर्षदेखि अलपत्र रहेको करिब ७५ मेट्रिक टन म्याद गुज्रेको विषादी पनि यसै वर्ष विदेश पठाइयो । गत पुसमा सरकारले म्याद गुज्रेको विषादी नष्ट गर्न जर्मनी पठायो । वातावरण र स्वास्थ्यका क्षेत्रका सरोकारवालाले वर्षौंदेखि गर्दै आएको पहल स्वरूप एक वर्षअघि २०६७ वैशाखमा वातावरण मन्त्रालय र जर्मनी गैरसरकारी संस्था जिआइजेडबीच विषादी नष्ट गर्ने सम्झौता भएको थियो । त्यस्तै पाइलट प्रोजेक्ट अन क्लाइमेट रिजिलियन्स(पिपिसिआर) को नाममा नेपाललाई करिब ६ अर्ब ८८ करोड रुपिया प्राप्त भएको छ ।
यस्ता केही महत्वपूर्ण उपलब्धिका कारण ०६८ साल वातावरणीय हिसाबले तुलनात्मक रूपले सफल रहेको सरकारको पनि दाबी छ । ‘अघिल्ला वर्षहरूमा चर्चा मात्रै धेरै हुन्थ्यो तर २०६८ मा उपलब्धि पनि धेरै भयो,’ वातावरण मन्त्रालयकी सहसचिव मीना खनालले सौर्यसग भनिन् ‘प्लास्टिक प्रतिबन्ध, विषादी नष्ट गर्न पठाउनु र पर्वतीय मुलुकको सम्मेलन गर्नु ठूलै उपलब्धि हुन् ।’
यीबाहेक जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा अति कम विकसित राष्ट्रको प्रमुखका रूपमा नेपालले प्रतिनिधित्व गरेर आङ्खनो आवाज बुलन्द गरेको छ । यसले जलवायु परिवर्तनको असरबारे नेपालले विश्वकै ध्यानाकृष्ट गराएको छ ।
वातावरणको उपलब्धि गतिलो भएको वर्ष वन र वन्यजन्तु संरक्षणमा समेत निकै उपलब्धिमूलक रह्यो । वर्षौंदेखि फरार रहेका रामशरण विक, कालु मनाङेलगायतका ७५ ओटा वन्यजन्तु तस्कर ०६८ मै पक्राउ परे । वन्यजन्तु अपराधलाई संगठित अपराध मानेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको पहिलो वर्षमै यति धेरै सफलता हात लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले  जनाएको छ ।
यति हुदाहुदै पनि २०६७ सालमा चितवनबाट स्थानान्तरण गरेर बर्दिया लगिएको ‘नमोबुद्ध’ बाघ जेठ महिनामा सिकारीले मारे । बर्दिया राष्ट्रिय निकुञ्जको अनुगमन टोलीले ४ जेठमा पहिलोपटक दुईवटा मृत गाई ८० प्रतिशत जति खाइसकेको अवस्थामा भेटेको थियो । त्यसको ३५ मिटर पर झाडी भएको खोल्सोमा आन्द्रा र भुडीसहित बोसोमा बाघका रौ भेट्टाएको टोलीले त्यसको पनि १० मिटर पर अत्याधुनिक उपकरण ‘रेडियो कलर’ डढाएर टुक्राटुक्रा पारेको फेला पारेको थियो ।
रेडियो कलर नमोबुद्धको दैनिक गतिविधि नियाल्न स्थानान्तरण गर्दादेखि नै उसको घा“टीमा बाधिएको थियो । जसले कति उचाइमा बाघ छ र कुन देशान्तरमा छ जस्ता विवरण हरेक ६÷६ घन्टामा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र डब्लुडब्लुएफमा पठाउने गथ्र्यो । सरकारले गत मंसिरमा गैडा चोरी सिकार रोकिएको भन्दै शून्य चोरी शिकार वर्ष मनायो । तर, वर्षको अन्त्यतिर चैतमा चितवन राष्ट्रिय निकुञ्जभित्रै सिकारीले निधारमा गोली हानेर पोथी गैडा मारे ।

प्रतिक्रिया