आन्दोलित शैक्षिक क्षेत्र

काठमाडौं, ३० चैत । शिक्षा क्षेत्रका लागि ०६८ साल आन्दोलनमय बन्यो । ०६८ मा चारजना मन्त्री फेरिए पनि समस्या ‘वार कि पार’ गराउने आटिलो भने कोही देखिएन । वर्षको अन्तिम महिनामात्र शिक्षा क्षेत्र केही शान्त बन्यो ।
यस वर्ष विद्यालय तहका शिक्षकदेखि उच्च माध्यमिक तथा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी कसैले आन्दोलन गर्न बाकी राखेनन् । अस्थायी शिक्षकलाई प्रक्रिया पुर्‍याई स्थायी बनाउनुपर्ने मागसहित नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चले पाच महिनासम्म आन्दोलन गरे । २ चैतमा मन्त्रालयले माग पूरा गर्ने जनाएपछि आन्दोलन रोकियो । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले ०६८ मा शिक्षक आन्दोलन स्मरणीय भएको बताए । उनले भने, ‘१३ मंसिरदेखि २ चैतसम्म निरन्तर आन्दोलन गर्‍यौ ।’
सुरुमा प्राध्यापकहरूले आन्दोलन चर्काए । झलनाथ खनाल नेतृत्वको सरकारले एकलौटी ढंगले सात विश्वविद्यालयमा एमालेनिकटका उपकुलपति नियुक्त गरेको आरोपमा उनीहरूले विश्वविद्यालयमा तालाबन्दी नै गरे । कांग्रेस, माओवादीलगायत दलनिकट प्राध्यापक संघसंगठनले त्यसबाहेकका पदमा नियुक्त गर्ने आश्वासनपछि आन्दोलन रोके ।
कर्मचारी पनि के कम † विद्यालय तहका कर्मचारी दरबन्दी माग गर्दै शिक्षकसगै आन्दोलित भए । विश्वविद्यालयका कर्मचारीले पोसाक भत्ताको माग गर्दै विश्वविद्यालय अनुदान आयोगमा ताला लगाए । आयोग पदाधिकारीले पोसाक भत्ताका लागि पहल गर्ने बताएपछि ताला खोलियो ।
चारजनाले मन्त्रालयको जिम्मेवारी सम्हाले पनि ठूलो उपलब्धि भने कुनै पनि मन्त्रीले हासिल गरेनन् । वर्षको सुरुमा मन्त्री भएका गंगालाल तुलाधरले आफू चर्चामा आउन खोजे पनि उपलब्धि भने हात पारेनन् । त्यसपछि टोपबहादुर रायमाझी र पोष्टहादुर बोगटीले पनि शिक्षामन्त्रीको जिम्मेवारी सम्हाले । उनीहरूले दुई मन्त्रालयको जिम्मेवारी सम्हालेका कारण शिक्षामा धेरै दिन बसेनन् ।
अस्थायी शिक्षकको वर्षैदेखिको समस्याले सबै मन्त्रीलाई तनाब गरायो । पछिल्ला शिक्षामन्त्री दीनानाथ शर्मालाई पनि शिक्षकको समस्या टाउको दुखाइको विषय बन्यो । शिक्षक संगठनले मन्त्रालयमा नाराबाजी गरिरहेका बेला मन्त्री शर्मा कार्यकक्षमा बसेर नाराबाजी सुन्दै दिक्क मानिरहेका थिए । १४ फागुनमा उनले प्रशासनिक संयन्त्रबाट आफू दिक्क भएको समेत सुनाएका थिए ।

प्रतिक्रिया