बि्रटिस गोर्खाकप अब पूर्ण नकआउट

काठमाडौं, २९ चैत । बि्रटिस गोर्खाकप फुटबल प्रतियोगिता यस पटकदेखि पूर्णरूपमा नकआउटका आधारमा सञ्चालन हुने भएको छ । मुलुककै सर्वाधिक पुरस्कार राशिको यो नकआउट प्रतियोगिता यसअघि समूहचरण -लिग) हुँदै नकआउट हुन्थ्यो ।
‘नेपाल पुलिस क्लब एसियाली फुटबल कन्फेडेरेसन -एएफसी) प्रेसिडेन्ट्स कपमा चाँडै सहभागी हुनुपर्ने भएकोले यस प्रतियोगितालाई सोझै नकआउट गरिएको हो ।’ बुधबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ -एन्फा) अध्यक्ष गणेश थापाले भने, ‘तर, हामीले आगामी संस्करणमा पनि पूर्णरूपमा नकआउटका आधारमा सञ्चालन गर्ने तयारी गरेका छौं ।’
बि्रटिस गोर्खा समूहको प्रायोजन तथा एन्फाको आयोजनामा सञ्चालन हुने गरेको बि्रटिस गोर्खाकपको यो संस्करण २ वैशाखदेखि सञ्चालन हुँदै छ । प्रतियोगितामा सहिद स्मारक लिगका ए डिभिजन क्लबहरू सहभागी हुने गर्छन् । यसपटक सबै १६ टिम उत्रँदैछन् । प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा हार्ने टोलीले पनि एक-एक लाख रुपियाँ पाउनेछन् । प्रतियोगिताका श्रेष्ठ गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही ५० हजार रुपियाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।
कुल ४९ लाख रुपियाँ बजेटको यस प्रतियोगितामा बि्रटिस गोर्खा समूहले २० लाख रुपियाँ दिनेछ । तीन वर्षका लागि सम्झौता गरेको यस समूहको जारी करार यस वर्षदेखि सकिँदै छ । प्रत्येक वर्ष सञ्चालन हुने यो प्रतियोगिताको गत संस्करण भने दुई वर्षअघि मात्र सञ्चालन भएको थियो ।
प्रतियोगिताअन्तर्गत पहिलो चरण अर्थात् अन्तिम १६ प्रवेशको खेलमा थ्रीस्टार-संकटा, नेपाल आर्मी-बाँसबारी, मच्छिन्द्र-आरसिटी, जावलाखेल-हिमालयन शेर्पा, नेपाल पुलिस-बौद्ध, मध्यपुर युथ-नेपाल आर्मी, पन्ड्स-एनआरटी र सरस्वती-मनाङ मस्र्यांदी भिड्नेछन् । मध्यपुर युथ र संकटा यसै वर्ष मात्र ए डिभिजनमा उक्लिएका हुन् ।
थ्रीस्टारले पछिल्ला दुई संस्करणको उपाधि जितेको छ । गत संस्करणमा मनाङलाई हराएर थ्रीस्टार च्याम्पियन भएको थियो ।

प्रतिक्रिया