१६ हजारलाई प्रत्यक्ष रोजगारी

बैकिङ क्षेत्रको रोजगारी आफैमा सम्मानित छ । अन्य क्षेत्रभन्दा अवसर, सेवा-सुविधा र चुनौती पनि बढी नै हुने भएकोले पछिल्लो समय युवावर्गको बैकिङ क्षेत्रप्रति आकर्षण बढ्दै गएको छ । ०४७ को राजनीतिक परिवर्तनपछि राज्यले लिएको खुला अर्थनीतिकै कारण बैकिङ क्षेत्र विस्तार हुन थालेको हो । निजी क्षेत्रलाई समेत बैंक तथा वित्तीय क्षेत्रमा लगानी गर्न पाउने व्यवस्थाले गर्दा अहिले यो क्षेत्र निकै फस्टाएको छ । वित्तीय संस्थाको स्थापना हुने क्रम बढ्दै गएपछि शैक्षिक संस्थाहरू पनि दक्ष जनशक्ति उत्पादनमा लागेका छन् ।
मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै अहिले बैंकिङ क्षेत्रको विस्तारले रोजगारीको अवसरसमेत बढ्दै गएको छ । यस क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति स्वदेशमै उत्पादन हुन थालेकोले पनि सेवा क्षेत्र विस्तार गर्न बैंक तथा वित्तीय क्षेत्रलाई थप सहजता भएको जानकारहरूको भनाइ छ । नेपाल बैंकर्स ट्रेनिङ इन्स्िटच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा अहिले करिब १६ हजार जनशक्तिले यस क्षेत्रमा प्रत्यक्ष रोजगारी पाइरहेको बताउँछन् । बैंक तथा वित्तीय क्षेत्र स्थापनाको क्रम बढेकोले प्रतिवर्ष यस क्षेत्रमा रोजगारीको अवसर पनि थपिँदै गएको उनको भनाइ छ । प्रतिवर्ष करिब पाँच हजार जनशक्ति बैकिङ क्षेत्रका लागि उत्पादन हुने गर्छ । शैक्षिक केन्द्रहरूले उत्पादन गरेका जनशक्ति दक्ष भए पनि समयअनुसार अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको भने अझै कमी रहेको उनको बुझाइ छ । व्यावसायिक शिक्षा हासिल गरे पनि चाँडै जागिरे बन्ने सोचले उत्पादित जनशक्ति व्यावहारिक रूपमा सक्षम हुन नसकेको सुब्बा बताउँछन् ।
वर्षेनी बैंक तथा वित्तीय संस्था स्थापना हुने क्रम बढ्दै गएका छन् । यसले पनि उत्पादित जनशक्ति बेरोजगार भएर बस्नुपर्ने अवस्था नरहेको यस क्षेत्रमा आबद्ध भएकाहरूको भनाइ छ । विकास बैंक संघका पूर्वअध्यक्ष झपड बोहरा एक दशकयता बैंक तथा वित्तीय संस्था खुल्ने क्रम ह्वात्तै बढेकोले व्यावसायिक सीप भएकालाई भने बेरोजगार हुनु नपर्ने बताउँछन् ।
अन्य क्षेत्रभन्दा बढी संवेदनशील भएकोले व्यावसायिक सीप भएको जनशक्ति बैंकिङ क्षेत्रमा आवश्यक पर्ने उनको भनाइ छ । प्रतिस्पर्धाका आधारमा शैक्षिक केन्द्रहरू खुल्ने क्रम बढे पनि उनीहरूले उत्पादन गरेको जनशक्ति भने बैकिङ सेवाका लागि उपयुक्त नदेखिएको बोहरा बताउँछन् । ‘युवा वर्ग शैक्षिक डिग्री हासिल गरेको छ,’ उनले भने, ‘तर, यो क्षेत्रका लागि चाहिने व्यावसायिक दक्षता भने उनीहरूसँग छैन ।’ यसले रोजगारी भन्दा पनि प्रतिस्पर्धाको समयमा बेरोजगार थप्ने काम भइरहेको उनको बुझाइ छ । पढेर मात्र दक्ष नहुने भएकोले उत्पादित जनशक्तिलाई व्यावसायिक सीपको जरुरी रहेको बोहराले जनाए । यद्यपि बैकिङ क्षेत्रको सेवा लचिलो र विगतभन्दा राम्रो रहेको बोहरा बताउँछन् । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष रूपमा निगरानी गरिरहेकोले पनि सेवाको गुणस्तर बढेको हो । बैंक तथा वित्तीय क्षेत्र सहरमुखी मात्र भएमा उनीहरूको सेवामा समेत विश्वास कम हुने जानकारहरूको भनाइ छ । सेवास्तर बढाउँदै ग्रामीण क्षेत्रमा जानसमेत बैंक तथा वित्तीय क्षेत्रले प्रयास गरिरहेका छन् । यसले उनीहरूप्रति विश्वासको वातावरण सृजना हँुदै जाने बोहराको भनाइ छ । ०६२/६३ को दोस्रो जनआन्दोनपछि खासगरी बैंक तथा वित्तीय संस्था सेवा क्षेत्र विस्तारमा लागेका हुन् । मुलुकमा देखिएको राजनीतिक परिवर्तनबाटै आर्थिक विकासको सुरुआत हुने भएकोले बैंक तथा वित्तीय क्षेत्रले समेत दोस्रो जनआन्दोलनपछि आफ्नो सेवा केन्द्र विस्तारमा जोड दिएको अर्थविद्हरूको भनाइ छ ।
अहिले मुलुकमा वाणिज्य बैंकहरूको संख्या मात्र ३२ पुगेको छ । मुलुकका विभिन्न क्षेत्रमा तिनका सेवा केन्द्र विस्तार हुँदै गएकाले थप रोजगारीसमेत सृजना हुँदै गएको छ । विगतमा असुरक्षाको कारणले सहरकेन्दि्रत बैंक तथा वित्तीय क्षेत्र अहिले ग्रामीण क्षेत्रमा समेत पहुँच विस्तारमा लागेकाले त्यहाँ पनि रोजगारी बढ्दै गएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया