व्यावसायिक बन्दै बैंकहरू

कुनै समय थियो बैंकबाट पैसा झिक्न टोकन लिएर घण्टौँ लाइन लाग्नुपथ्र्यो । ब्यालेन्स थाहा पाउन बैंकमै पुग्नुपथ्र्यो । तर, अहिले अवस्था परिवर्तन भइसकेको छ । प्रविधिको विकास तथा बैंकिङ क्षेत्रमा बढेको प्रतिस्पर्धाले गर्दा बैंकिङ सेवा सहज र व्यावसायिक भएको छ ।
प्रतिस्पर्धाले व्यावसायिकता बढेको छ । राम्रो सेवा दिन नसक्नेे बैंक तथा वित्तीय संस्था टिक्न नसक्ने अवस्था आएपछि सेवा सुविधा दिने होड चलेको छ । पहिलेको र अहिलेको बैंकिङ सेवामा आकाश जमिनको अन्तर आइसकेको छ । संस्थागत सुशासनले गर्दा ग्राहकको विश्वास बैंकप्रति बढेको छ । नाफाघाटा पारदर्शीरूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्थाका कारण निक्षेपकर्ता ढुक्क हुने अवस्था आएको छ र विश्वसनीयता पनि बढेको छ ।
ग्राहकको सुविधाका लागि अहिले चोकचोकमा एटिएम छन् । परम्परागत किसिमले नचल्ने देखेपछि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकले पनि आधुनिक प्रविधि र छिटो-छरितो सेवामा जोड दिन थालेका छन् । मोबाइल रिचार्ज, टेलिफोन बिल भुक्तानी, इन्टरनेट बिल भुक्तानी, स्कुल कलेजको बिल भुक्तानी आदि वाणिज्य बैंकका ‘बेसिक’ सुविधा भइसके ।  प्रतिस्पर्धाकै कारण बैंकहरूले ठूला भवन र आन्तरिक डेकोरेसनमा पनि ध्यान दिन थालेका छन् । सेवाको स्तर छुट्याउन थालेका छन् ग्राहकलाई । होटल जस्तै बैंकले पनि आफूलाई स्टार दिन थालेका छन् । गत वर्ष मात्र सुरु भएको मेगा बैंकले आफूलाई पाँच तारे स्तरको सुविधा दिने बंैकका रूपमा दाबी गरेको छ । यसबाट पनि बैंकिङ क्षेत्रमा बढेको व्यावसायिकता स्पष्ट हुन्छ ।
दक्ष जनशक्तिको उत्पादनले पनि व्यावसायिकतामा सघाउ पुर्‍याएको छ । ‘जनशक्ति दक्ष भएपछि सेवा राम्रो हुनु स्वाभाविक हो,’ विकास बैंक संघका पूर्व अध्यक्ष झपट बोहोरा भन्छन् । पछिल्लो समय बैंकिङ तालिम दिने संस्थाहरूको संख्या बढे पनि त्यसको तुलनामा दक्ष जनशक्ति उत्पादन भने नबढेको उनको ठहर छ । ‘प्रतिस्पर्धामा धेरै कलेज खुले तर गुणस्तर ‘मेन्टेन’ गर्न सकेका छ्रैनन् ।’ बोहोरा भन्छन् । इन्टरनेट बैंकिङ, एसएमएस बैकिङ जस्ता आधुनिक प्रविधिले बैकिङ कारोबार सहज भएको छ । इन्टरनेट बैंकिङको माध्यमबाट सबै कारोबार अनलाइनबाटै गर्न सकिने भएकाले बैंकले खातावालालाई खातासम्बन्धी सबै जानकारी अनलाइनमै दिन सक्छन् ।
पहिले-पहिले बैंक धाउन अलग समय निकाल्नुपथ्र्यो । कामकाजीलाई बैंक जानुपर्दा अफिस छुट्ने डर हुन्थ्यो । कुनै समस्या परे बैंकको कार्यालय नै पुग्नुपथ्र्यो । तर, अहिले बैंकिङ कारोबारसँग जोडिएका सबै समस्यालाई घर वा कार्यालयमै बसेर सुल्झाउन सकिन्छ । बैंकमा जाने, टोकन लिने, लाइन बस्ने र घन्टौँ समय खर्चने आवश्यकता छैन । बैंकमा खर्च हुने समयलाई अन्य सिर्जनात्मक काममा लगाउन सकिन्छ । घरमै बसेर पनि किनमेल गर्न सकिन्छ । ई-बंैकिङका कारण यी सबै काम सम्भव भएका छन् । अहिले नबिल बैंक, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट बैंंक, एभरेस्ट बैंक, एनएमबी बैंक, सानिमा बैंकलगायतका बैंकले ई-बैंकिङ सेवा दिइरहेका छन् ।
बैंकरहरूले शाखारहित बैंकको कल्पना गर्न थालेका छन् । केही बैंकले यो सेवा सुरु गरिसकेका छन् । यो सेवामा आफ्नै घरआँगनमा बसेर ग्राहकले रकम झिक्न र जम्मा गर्न सक्छन् । राष्ट बैंकको अनुमतिमा स्थानीय व्यक्तिलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरी यो सेवा सञ्चालन गर्न सकिन्छ ।
ग्राहककै सेवाका लागि किस्ट र सनराइज बैंकले घुम्ती बैंकिङ सेवा सुरु गरेका छन् । यसअन्तर्गत घुम्ती भ्यानबाट खाता खोल्न, रकम राख्न, रेमिट्यान्सबाट आएको रकम झक्िन, चेक बुक लिन र सीमित कर्जा लिन सकिन्छ । प्रविधिले सघाउने हो भने आगामी केही वर्षमै बैंक ल्यापटप र मोबाइलमा सीमित हुनेछ । १९९४ सालमा नेपाल बैंकको स्थापनापछि सुरु भएको नेपालको बैंकिङ कारोबार प्रविधिका कारण अन्तर्राष्ट्रिय स्तर ‘मेन्टेन’ गर्ने अवस्थामा पुगेको छ ।
पूर्वबैंकर बोहोरा वित्तीय संस्थाले प्रदान गर्ने सेवा लचिलो हुन थालेको बताउँछन् । अन्य क्षेत्रभन्दा बैंकिङ क्षेत्र बढी संवेदनशील हुने भएकाले पारदर्शिता अझ बढी आवश्यक हुने उनको भनाइ छ । ‘अहिलेको समय कर्पोरेट पारदर्शिताको हो,’ बोहोरा भन्छन् । नेपाल राष्ट्र बैंकको नियमित निगरानीमा रहने भएकाले पनि बैंकिङ क्षेत्र व्यावसायिक हुन सकेको उनको निष्कर्ष छ । बैंकिङ क्षेत्रको प्रतिस्पर्धा अन्य क्षेत्रजस्तो देखिने गरी नहुने भएकाले व्यावसायिकताको स्तर मापन गर्नसमेत गाह्रो हुने उनको भनाइ छ ।
व्यावसायिकता बढाउन सैद्धान्तिक साथै व्यावहारिक ज्ञानप्राप्त जनशक्ति उत्पादन गर्नुपर्नेमा बोहोराको जोड छ । ‘सेवाको क्षेत्र भएकाले व्यावहारिक ज्ञान महत्त्वपूर्ण छ,’ उनले भने ।
प्रतिस्पर्धा बढेपछि बैंकले ग्राहकमैत्री सेवामा जोड दिन थालेका छन् । ग्राहकलाई छनोट प्राप्त भएकाले एउटाको सेवा राम्रो नभए अर्कोमा जान्छन् । बैंकको संख्या बढेपछि नियामक निकायको अनुगमन पनि प्रभावकारी हुनुपर्नेमा विज्ञहरूको जोड छ ।

प्रतिक्रिया