नेपाली राजनीतिमा जमेको फोहोर

शान्तिप्रक्रियाको मुख्य विषयका रूपमा रहेको माओवादी लडाकुका शिविर समयसीमाभन्दा दुई दिनअघि नै चामत्कारिक रूपमा सेनाको मातहतमा आएपछि नेपालको राजनीतिक विकासक्रमले नयाँ फड्को मारेको छ । सर्वोच्च अदालतले कोरिदिएको लक्ष्मण रेखाभित्र बसेर पनि दलहरूले जिम्मेवारीपूर्ण ढंगले काम गर्लान् या नगर्लान् भन्ने द्विविधा र संसय बढिरहेको समयमा भएको यस प्रगतिले पछिल्लो जनआन्दोलनलाई सार्थक बनाउने दिशा पक्रेको छ । २०५२ सालयता विशृंखलित भएको नेपालको राजनीतिलाई ठीक बाटामा फर्काउने र नयाँ लोकतान्त्रिक नेपालको जग हाल्ने काम तीव्र गतिमा अघि बढ्नुपर्ने राष्ट्रिय आवश्यकता र नेपाली जनताका असिम चाहना पनि हो । जनआन्दोलन सफल भएको झन्डै ६ वर्षभित्र राष्ट्रले जे-जति उपलब्धि हासिल गर्नुपथ्र्यो त्यसो हुन नसके पनि हाम्रो आफ्नै पौरखले गरेको युगान्तकारी परिवर्तनलाई संस्थागत गर्ने सन्दर्भमा सुस्त गतिमै भए पनि ऐतिहासिक उपलब्धि भएकै छन् र यी उपलब्धि नै नयाँ नेपालको आधारस्तम्भ हुन् । यसैको जगमा प्रगति र समृद्धिका दर्विला संरचना निर्माण गर्न सकिन्छ । राष्ट्र निर्माणका निम्ति कोही न कोही अग्रसर हुनैपर्छ । सिंगापुरका लि क्वान उ र मलेसियाका महाथिर मोहम्मद ज्वलन्त दृष्टान्त हुन् तर हामीकहाँ त्यस्तो कोही आजसम्म पैदा हुन सकेन ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपश्चात्को लामो समयलाई कसैले पनि राष्ट्रनिर्माणका निम्ति उपयोग गर्न सकेन या चाहेन । सायद बिपी कोइरालाले समय पाउनु भएको भए निकै ठूलो आर्थिक सामाजिक रूपान्तरण र समृद्धि हासिल हुन सक्थ्यो । त्यसको संकेत उहाँले आफ्नो छोटो कार्यकालमै दिइसक्नुभएको थियो तर, उहाँको अभियान र योजनालाई सार्थक हुन दिइएन । तत्पश्चात्को बहुमूल्य समय राजनीतिक द्वन्द्वमा नै बित्यो । २०४६ को परिवर्तनपश्चात् गति पक्रन खोजेको नेपाली समाजलाई माओवादी विद्रोहले अवरुद्ध पार्‍यो र एक दशकसम्म मुलुक हिंसा र आतंकको बन्धक बन्न पुग्यो । यसैबीच स्वाभाविक र वैधानिक राजसंस्था दरबार हत्याकाण्डमार्फत समाप्त भयो । अन्ततः राजनीतिक दलहरूको अगुवाइमा नेपाली जनताको अपरिमित आत्मविश्वास र समर्थनबाट पछिल्लो जनआन्दोलनको निर्माण भयो र त्यसैको परिणाम मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । यी सबै राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा नै शान्तिप्रक्रिया र नयाँ संविधान लेखनको प्रक्रिया अघि बढिरहेको छ । त्यही प्रक्रियाअन्तर्गत नै माओवादी लडाकुसँग सम्बन्धित महत्त्वपूर्ण काम लगभग सम्पन्न भएको छ । यसले दलहरू र तिनका नेताभित्र विद्यमान राष्ट्र र जनताप्रतिको दायित्व कर्तव्यलाई उजागार गरेको छ र उनीहरूप्रति थोरै भए पनि जनविश्वास पलाएको छ ।
हामी नेपालको इतिहासको महत्त्वपूर्ण कालखण्डमा छौँ । दुई सय ३६ वर्षअघि स्वतन्त्र भएको अमेरिकाले समृद्धिको सगरमाथा खडा गरिसकेको छ तर दुई सय ४४ वर्षअघि एकीकरण भएको नेपालले उन्नतिको धरहरासमेत उभ्याउन सकेको छैन । यसको दोष हामीले अरू कसैलाई बोकाएर हुँदैन । हामी आफैँले जिम्मेवारी लिनुपर्छ र अब सायद समय आएको छ । हामीले आजसम्मका सबै राजनीतिक द्वन्द्वलाई संविधान निर्माणको क्रममै समाप्त पार्नुपर्छ र नयाँ युगको ढोका खोल्नुपर्छ । यसका निम्ति हामीसँग उपलब्ध अपार प्राकृतिक सम्पदाको भरपूर उपयोग गर्नुपर्छ । मानवीय संसाधनलाई समुचित प्रयोग गर्दै आउने १० वर्ष राष्ट्र निर्माणको दशाब्दीमा परिणत गर्नुपर्छ । यसको नेतृत्व नेपालका राजनीतिक दल र तिनका नेताले नै गर्ने हो तर यसका लागि दल र नेताको परम्परागत सामन्ती मानसिकता फेरिनुपर्छ । राष्ट्र भनेकै आफू र आफ्नो परिवार मात्र हो भन्ने अति संकीर्ण चिन्तन परित्याग गर्नुपर्छ । आफू, आफ्नो दल, अरू दल, नागरिक समाज र सम्पूर्ण नागरिकको समष्टि नै राष्ट्र हो र हामीले सबैका लागि काम गर्नुपर्छ भन्ने मनोविज्ञान हुर्काउनुपर्छ ।
अहिलेका हाम्रा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीका सडक विस्तार र सरसफाइ अभियानसमेत चलाएका छन् । यो निकै प्रशंसनीय कदम हो तर उनले आफ्नो मन्त्रिपरिषद्भित्र रहेको फोहोरको डंगुर देख्न नसक्नु साँच्चै नै विडम्बना देखिएको छ । २०४६ सालयताका सर्वाधिक बदनाम र भ्रष्ट पात्रलाई साथमा लिएर नयाँ परिवर्तन गर्छु भन्नु जगहँसाइ सिवाय केही हुन सक्दैन । प्रधानमन्त्री बन्नुपूर्व सहमतीय सरकारको मात्र नेतृत्व गर्छु भन्ने भट्टराई बहुमतीय सरकारको नेतृत्व गर्न पुगे । त्यो पनि चरम अवसरवादी तराई केन्दि्रत दलको समर्थनमा । यो नै वास्तवमा नेपालको वर्तमान राजनीतिक यथार्थमा अप्राकृतिक गठबन्धन थियो । कहिलेकाहीँ संसद्मा बहुमत पुग्दैमा त्यो प्राकृतिक हुँदैन । भट्टराईले यही अप्राकृतिक गठबन्धनको नेतृत्व गर्दै घोषणा गरे, ‘४५ दिनमा शान्तिप्रक्रियामा केही उपलब्धि नभए नेतृत्व छाड्छु ।’ उनी लगातार घोषणा गर्ने तर पालना नगर्ने एक ऐतिहासिक मिथक बन्न पुगे । त्यति मात्रै होइन, उनले स्वच्छ छविको सानो मन्त्रिमण्डल बनाउने घोषणासमेत गरेका थिए तर इतिहासकै दुर्गन्धित पात्रसहितको भीमकाय मन्त्रीमण्डल गठन गर्न पुगे । उनकै मन्त्रीमण्डलका सदस्यले देश टुक्र्याउने कुरा गरे, पि्रपेड घुसको परिपाटी बसाए, पिएहरू घुस खाँदाखाँदै पक्राउ परे, मन्त्रीहरू तस्करीको सामानसहित भन्सारमै पक्राउ परे, हुँदाहुँदा बहालवाला मन्त्री भ्रष्टाचारको अभियोगमा सोझै जेल गए । यस्ता दृष्टान्त नेपालको इतिहासमा यसअघि कहिल्यै भेटिएनन्, देखिएनन् । यी सबै कटु यथार्थले उनको मुस्ताङ गाडी चढ्ने सादगीपन र सरलतालाई पुष्टि गर्न सकेन । त्यसैले प्रधानमन्त्रीका रूपमा भट्टराईलाई अनुकरणीय र आदर्श व्यक्ति मान्न सकिँदैन ।
व्यक्तिलाई चिन्न र बुझ्न उसका अभिव्यक्ति होइन, व्यवहार हेर्नुपर्छ । उनले मुलकको सबैभन्दा ठूलो रोगका रूपमा रहेको भ्रष्टाचार कहाँ-कहाँ नियन्त्रण गरे, सरिता गिरीको बर्खास्तगी मात्र पर्याप्त हुँदैन । देशमा आज पनि भ्रष्टाचार व्याप्त छ यसको नियन्त्रणको प्रारम्भसमेत उनीबाट हुन सकेन । तसर्थ, सेना, प्रहरी, कर्मचारी लगाएर टोलमा कुचो लगाउँदैमा राष्ट्रको फोहोर समाप्त हुँदैन । उनले सबभन्दा पहिले आफ्नै घरमा कुचो लगाउन सक्नुपथ्र्यो । मन्त्रिपरिषद्मा लगाउन सक्नुपथ्र्यो, मन्त्रालय र विभागमा लगाउन सक्नुपथ्र्यो । राजनीतिको फोहोर सफा नगरी सडकको फोहोर सफा गर्नाको कुनै अर्थ छैन । बदनामीलाई विधिले बाँध्ने, अव्यवस्थालाई थितिले कस्ने र अराजकतालाई अनुशासनको नियन्त्रण गर्ने काम उनीबाट हुन सकेन । तसर्थ, मुख्य जिम्मेवारीमा रहेका सबै दल र तिनका नेताले आजैदेखि आफ्नो चिन्तन र चरित्र बदलेर राष्ट्रका निम्ति समर्पित हुन अग्रसर हुनुपर्छ । शान्तिप्रक्रिया तथा नयाँ संविधान निर्माणको बाटामा जमेको फोहोर हटाउन सक्नुपर्छ ।

प्रतिक्रिया