अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्न सरकार असक्षम

काठमाडौं, २९ चैत । नेपाल प्रेस युनियनले दण्डहीनताको अन्त्य गरी पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने काममा सरकार निकम्मा भएको आरोप लगाएको छ ।
पत्रकार यादव पौडेलका दोषीलाई कारबाहीको हत्यारालाई सार्वजनिक गर्न सरकारले अहिलेसम्म नसकेको र हत्यालगत्तै घटनास्थल पुगेको युनियनको मिसन टोलीसँग झापा प्रशासनले गरेको प्रतिबद्धता पूरा नभएको भन्दै युनियनद्वारा आज गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रमका वक्ताहरुले त्यस्तो आरोप लगाएका हुन् ।
प्रहरी प्रशासनले प्रतिबद्धता पूरा गर्नुको साटो अहिले नियोजित हत्याको वास्तविकतालाई तोडमरोड गरी वास्तविक अपराधीलाई लुकाउने गम्भीर षडयन्त्र भइरहेको आशङ्का बढाएको युनियनले आरोप लगाएको छ ।
कांगे्रसका सभासद् तथा युनियनका संस्थापक सदस्य शोभाकर पराजुलीले अझैपनि मुलुकमा दण्डहीनताले प्रश्रय पाउनु विडम्बना भएको बताए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले चाँडोभन्दा चाँडो हत्यारालाई कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
युनियनका अध्यक्ष किरण पोखरेलले हत्या सुनियोजित हुँदाहुँदै पनि सरकारले अझै हत्यारा पत्ता लगाउन नसक्नु लज्जास्पद भएको बताए । उनले तत्काल हत्यारालाई सार्वजनिक गर्नुपर्ने, पीडितका परिवारलाई आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने र पत्रकारलाई सहज वातावरणमा काम गर्ने अवसर सिर्जना गर्न माग गरे ।

प्रतिक्रिया