थाइल्यान्ड घुम्ने नेपाली बढे

काठमाडौं, २८ चैत । नेपाल घुम्न आउने विदेशी पर्यटक बढिरहेका बेला विदेश घुम्न जाने नेपालीको संख्या पनि बढ्न थालेको छ । विभिन्न ट्राभल एजेन्सीले नेपालीलाई लक्षित गरेर प्याकेज ल्याएपछि नेपाली विदेश घुम्न जान थालेका हुन् ।
सन् ०११ मा २५ हजार सात सय ३८ नेपाली थाइल्यान्ड घुम्न गएको तथ्यांक छ । थाइल्यान्ड पर्यटन कार्यालयका अनुसार यो संख्या सन् ०१० मा अझ बढी थियो । ०१० मा ३२ हजार आठ सय ४४ नेपाली थाइल्यान्ड घुम्न गएका थिए । गत वर्ष भने थाइल्यान्डमा आएको बाढीका कारण पर्यटक घटेको बताइएको छ । थाइल्यान्ड घुम्न जाने नेपालीमध्ये सबैभन्दा बढी ‘इन्सेन्टिभ’ मा जाने छन् । ४१ प्रतिशत नेपाली विभिन्न कम्पनीले प्रदान गर्ने उपहारलगायतका प्याकेज मा ४१ प्रतिशत पर्यटक थाइल्यान्ड गएको तथ्यांक छ । सन् ००९ मा २६ हजार सात सय ८३ नेपाली बैंकक पुगेका थिए ।
दोहोर्‍याएर थाइल्यान्ड घुम्न जाने नेपालीको संख्या पनि कम छैन । ७० प्रतिशत नेपाली पुनः भ्रमणका लागि थाइल्यान्ड जाने गरेको तथ्यांक छ । विदा मनाउन जानेको संख्या २५.५ प्रतिशत छ । अधिकांश नेेपाली पताया, फुकेट तथा बैंकक जाने गरेका छन् । सस्तो, संस्कृति र खानपान मिल्ने तथा भिसा पाउन सजिलो र शुल्क पनि नलाग्ने भएकाले नेपालीको आकर्षण्ा थाइल्यान्डप्रति बढेको छ । मध्यमवर्गले समेत ‘अफोर्ड’ गर्न सक्नेगरी विभिन्न ट्राभल्स कम्पनीले थाइल्यान्डको टुर प्याकेज सञ्चालन गरिरहेका छन् । उच्चपदस्थ सरकारी कर्मचारी, कर्पोरेट ग्रुप, परिवार तथा बैंकिङ ग्रुपले थाइल्यान्ड रोज्ने गरेको बताइएको छ ।
यसैबीच थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी थाइ एयरवेजले नेपाली नयाँ वर्षको अवसर पारेर छुटको घोषणा गरेको छ । बैंकक, सिंगापुर, क्वलालम्पुर, अस्ट्रेलिया, जापानलगायतका थुपै्र गन्तव्यका लागि विशेष ‘प्रमोसनल फेयर’ लागू गरिएको कम्पनीले जनाएको छ । कम्पनीले काठमाडांै-थाइल्यान्डको दुईतर्फी हवाई टिकट मूल्य २४ हजार नौ सय ६५ रुपियाँ निर्धारण गरेको छ । जसमा १४ हजार कर समावेश गरिएको कम्पनीले जनाएको छ । एकतर्फी टिकट मूल्य भने २३ हजार आठ सय आठ रुपियाँ रहेको छ । नेपालसँगै थाइल्यान्डको पनि नयाँ वर्ष पर्ने भएकाले नेपाली पर्यटकलाई थाइल्यान्ड घुम्न आउन कम्पनीले आग्रह गरेको छ ।
नेपालमा हवाई सेवाको ४४आँै वर्ष पूरा गरेको थाई एयरवेजले नेपाललाई पनि सम्भावित बजारका रूपमा प्रवर्द्धन गर्न थालिएको बताएको छ । सन् ०१२ लाई नेपालमा विशेष वर्षका रूपमा मनाउने जानकारी दिंदै कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन काउन्टरमा हुने भिड कम गर्न चेकिङ टाइम बढाइएको जानकारी दिएको छ । थाइ एयरवेजले बैंकक-काठमाडौं दैनिक तथा नेपाल वायुसेवा निगमले काठमाडौं बैंकक साताको दुइटा उडान गर्दै आएको छ ।

प्रतिक्रिया