१४ जेठको प्रतीक्षामा किरण समूह

१४ जेठ २०६९ ले नेपाली राजनीतिमा अनपेक्षित तरंग ल्याउने छाँट छ । माओवादीमा चुलिएको अनौठो विवाद, संविधान निर्माणमा देखापरेको गत्यावरोध शान्तिप्रक्रिया र सेना समायोजनमा सुस्तता, बिग्रँदो परिस्थितिमा लाभ उठाउने प्रतिगामी दाउपेच, बढ्दो बैदेसिक चलखेल र पर्दाभित्रको सैन्य सक्रियताले अगामी दिनमा राष्ट्रिय राजनीति त्यति सुखद् नहुने संकेत दिएको छ र त्यसको सबैभन्दा ठूलो प्रभाव माओवादीभित्र पर्ने देखिन्छ । संविधानसभामा सर्वाधिक स्वामित्व ओगटेको उसले आफ्नो वैधता बचाउन अन्तिम कसरत गर्नेछ ।
माओवादी अन्तरसंघर्षको भूकम्पले राष्ट्रिय राजनीतिमा प्रत्यक्ष धक्का दिने भएकाले यसबारे चर्चा गर्नु प्रासंगिक होला । १२ बुँदे हुँदै चुनवाङले लिएको गलत कार्यदिशाको अचानामा जनयुद्ध रेटिएपछि माओवादीभित्रका क्रान्तिकारी साँच्चै नै संकटमा परे । प्रचण्ड-बाबुरामको सत्ता भोकको मूल्यमा जनयुद्धलाई बलि चढाएपछि किरण-बादलहरू सामु अहिले दुइटा मात्रै विकल्प उपलब्ध छ । विद्रोह वा आत्मसमर्पण । त्यसकारण प्रचण्ड-बाबुराम र किरण-बादलको बाटो लगभग छुट्टइिसकेको छ । यो संविधानसभाबाट बन्नै नसक्ने जनसंविधानको सर्त राखेर किरणहरूले विद्रोहको बाटो खोलिसकेका छन् । पार्टीभित्र पार्टी, योजनाभित्र योजना, संगठनभित्र संगठनको नीति ल्याएको किरण समूहले प्रचण्ड नेतृत्वलाई अस्वीकार गरिसकेको छ । यो विधिलाई उनीहरू ‘नयाँ माओवादी जन्माउने अभ्यास’ ठान्छन् ।
सबैभन्दा ठूलो पार्टीको प्रमुखका रूपमा भावी राष्ट्रपति वा प्रधानमन्त्रीको सपना पालेका प्रचण्ड भने जस्तोसुकै अपमान सहेर पनि प्राविधिक रूपमा पार्टी एकता जोगाउने पक्षमा देखिन्छन् । बरु फुट भइहाले त्यसको दोष किरण पक्षलाई थोपर्दै आफू पानीमाथिको ओभानो बन्न चाहन्छन् । पहिले महामन्त्री र अहिले अध्यक्षका रूपमा लगभग २२ वर्ष पार्टीको कार्यकारी प्रमुख सम्हालेका प्रचण्डको नेतृत्व असफल सिद्ध भएको छ । आजकल खुब लोकतन्त्रको डम्फु बजाउने प्रचण्डले आफ्नै पार्टीभित्र अलोकतन्त्र लादेको जगजाहेर छ । ०४८ सालमा एकता केन्द्रको महामन्त्री चुनिएयता प्रचण्डले कुनै महाधिवेशन फेस गर्नुपरेको छैन । शान्तिप्रक्रिया सुरु भएको पाँच वर्ष भइसक्दा पनि महाधिवेशनमा जाने हिम्मत नगर्नाको रहस्य सम्भावित पराजयको त्रासदी नै हो । निर्वाचन आयोगमा दर्तावाल पार्टीको हैसियतले पनि माओवादी महाधिवेशनमा जानुपर्ने बाध्यतालाई जानीबुझी नजरअन्दाज गरिरहेछन् प्रचण्ड । चिन्तनमा स्वेच्छाचारिता, कार्यशैलीमा अराजकता र प्रवृत्तिमा तानाशाही प्रचण्डका खास विशेषता हुन् ।
पार्टीभित्र बहुपदीय सिस्टम कायम गर्न बाध्य भए पनि प्रचण्ड सामूहिक नेतृत्वको विपक्षमा छन् । प्रचण्डको चाहनाबमोजिम गर्ने चर्को एस म्यान बनेर पार्टी कब्जा गर्न आइपुगेका चैतेहरूको चुरीफुरीलाई जनयुद्धबाट आएका त्यागी नेता-कार्यकर्ताले चुनौती दिने क्रममा नै किरण समूह जन्मियो । अहिले माओवादीभित्र प्रचण्ड-बाबुरामको पक्षमा नवप्रवेशी, अवसरवादी, व्यापारिक चरित्रका अराजनीतिक नेता कार्यकर्ताको बाहुल्यता देखिन्छ भने किरण-बादल समूहमा भूमिगत युद्ध पीडा भोगेका, वैचारिक र राजनीतिक चरित्रका नेता कार्यकर्ता गोलबद्ध छन् ।
विशेष अर्थ राख्ने मणि-मातृकासँग किरण पक्षको मोर्चाबन्दीले माओवादी संस्थापनलाई नराम्ररी झस्काएको छ । १२ बुँदे सम्झौता राष्ट्रघाती र चुनवाङ बैठक दक्षिणपन्थी विसर्जनवादी थियो भन्ने मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टीको संश्लेषणलाई किरण समूहले स्विकारेपछि प्रचण्ड-बाबुराम राजनीतिक संकटमा परेका छन् । किरणहरू चाहन्छन्, आवेशमा आएर आफूमाथि कारबाहीको डन्डा बर्साउने गल्ती प्रचण्डले गरुन्, ता कि माओवादी पुनर्गठनको नैतिक अधिकार प्राप्त होस् । सक्कली माओवादी ध्रुवीकरणका रूपमा अथ्र्याउन थालिएको किरण-मातृका-मणि गठबन्धन तत्काललाई प्रगतिशील संविधान निर्माणको दबाब कार्यनीतिजस्तो देखिए पनि खासमा यो जनविद्रोह वा जनयुद्ध-२ को राणनीतिक तयारी नै हो ।
वैचारिक मात्र होइन, नैतिक प्राधिकारसमेत गुमाइसकेको संस्थापनको लाचारीले न संविधानसभाको ‘रेस्क्यु’ गर्न सक्छ न त क्रान्तिको रक्षा । सिपी गजुरेलको नेतृत्वमा गठित ११ दलको मोर्चाले बाबुराम सरकारलाई मात्र होइन प्रचण्ड नेतृत्वलाई समेत संकटमा पार्नेछ । परिवर्तन र विकासको झूटो सपना बाँडेको बाबुराम सरकार राष्ट्रियता र जनतन्त्रको मामिलामा विडम्बना नै सावित भयो । एकाध ‘पपुलिस्ट’ कामलाई अपवाद मान्ने हो भने वर्तमान सरकारले न सुशासन दिन सक्यो न त शान्ति र संविधानका निम्ति ठोस योगदान नै । महँगी, भ्रष्टाचार, कुशासन राष्ट्रघातको पर्याय बनेको सरकारमा प्रधानमन्त्रीको जागिर खाइरहेका डा. बाबुरामले गुट त जोगाउन सकेनन् सकेनन्, आफ्नो राजनीतिक इतिहासको रक्षासमेत गर्न नसक्ने भए । भावी पुस्ताले बाबुरामलाई सम्झनु पर्ने एउटै कारण हुनेछ- डोजर चलाएर भए पनि काठमाडौंको सडक फराकिलो पार्नु ।
प्रचण्ड-बाबुरामविनाको नयाँ माओवादी जन्माउने विश्वसनीय धरातल निर्माणमा किरण समूह घोत्लिएको छ यतिबेला । प्रचण्डको रूपान्तरण र पार्टी एकताको ‘ह्याङओभर’बाट मुक्त नभए किरणलाई समेत छाडेर नयाँ बाटो रोज्ने कठोर फैसला गरेका बादल-सिपी-विप्लवको दार्शनिक अभिभावक बन्न अन्ततः किरण तयार हुनुले जनवादी क्रान्तिको उज्यालो भविष्यतर्फ संकेत गर्दछ । दिल्लीस्थित नोयडाको बिलासी फ्ल्याटबाट स्याटलाइट फोन तथा इमेलबाट जनयुद्ध हाँक्ने प्रचण्ड-बाबुरामको संस्थापन पक्षभन्दा ज्यादा वैचारिक र भावनात्मक स्वामित्व देशभित्रै जोखिमपूर्ण कमान्ड सम्हालेका किरण-बादलले दाबी गर्न सक्छन् ।
नजिकिँदो १४ जेठ नेपाली राजनीतिका निम्ति ‘टर्निङ प्वाइन्ट’ वा ‘हिस्टोरिकल जङ्चर’ हुन सक्छ । माओवादीको हकमा किरण पक्षका निम्ति यसले विद्रोहको तार्किक ढोका खोलिदिन सक्छ । संविधान नबन्दा वा जनसंविधान नबन्दा दुवै सर्तमा पार्टी विद्रोह र जनविद्रोहमा जाने ‘क्रान्तिकारी म्यान्डेट’ पाएको किरण समूह १४ जेठलाई आफ्नो नयाँ यात्राको प्रस्थानविन्दु बनाउन व्यग्रताका साथ प्रतीक्षारत छ । १४ जेठको सेरोफेरोमा किरण पक्षले जनविद्रोहको आह्वान गर्नेछन्, त्यसपछि प्रचण्ड-बाबुराम पक्ष उनीहरूमाथि कारबाही गर्न बाध्य हुनेछ । लगत्तै किरण समूहले क्रान्तिकारी ध्रुवीकरणको नारा दिएर प्रचण्ड-बाबुरामलाई दक्षिणपन्थी आरोपमा प्रतिकारबाहीको घोषणा गर्दै मणि-मातृकालाई साथ लिई पार्टी पुनर्गठन गर्नेछन् र त्यसैलाई माओवादी मूलधार दाबी गर्नेछन् ।
-लेखक नवगठित राष्ट्रिय संयुक्त जनसंघर्ष समिति नेपालसँग आबद्ध छन् ।

प्रतिक्रिया