खोकनाका पूरै गाउँले लालपुर्जाविहीन

खोकना -ललितपुर, २८ चैत । राजधानीनजिकै भएर पनि खोकना गाविसका कुनै पनि व्यक्तिसँग जग्गाधनी प्रमाणपुर्जा, लालपुर्जा छैन । गाविस कार्यालयका अनुसार यहाँका करिब पाँच हजारजना लालपुर्जाविहीन छन् । लालपुर्जा नहुँदा उनीहरूले आफ्नो सम्पत्तिको उपयोग गर्न पाएका छैनन् ।
विसं २०२१ को नापीमा खोकनामा नापजाँच हुन नसकेपछि हालसम्म स्थानीय बासिन्दा लालपुर्जाविहीन बन्न पुगेका हुन् । लालपुर्जा नहुँदा जग्गा धितो राखेर ऋण लिन र बेचबिखन गर्न स्थानीयवासीलाई समस्या परेको छ । आपसमा जग्गा बिक्री गर्नुपरे गाविस कार्यालयको सिफारिस चाहिन्छ । खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डंगोलका अनुसार जग्गाधनी प्रमाणपुर्जा नभएका कारण स्थानीयले समस्या खेप्नुपरेको छ । ‘एकापसमा कारोबार गरेर मात्र भएन, सरकारी कामकाजका लागि लालपुर्जा अनिवार्य छ,’ पूर्वअध्यक्ष डंगोलले भने । स्थानीय बासिन्दाले थप एक हजार रुपियाँ तिरेर बिजुलीसमेत बालेका छन् ।
गाविसका कार्यालय सहायक गंगालाल डंगोल यसबारे पटकपटक नापी कार्यालयको ध्यानाकर्षण गराइएको बताउँछन् । उनका अनुसार नापी कार्यालयको ध्यानाकर्षणपछि गत वर्षदेखि जग्गाको नापजाँच भइरहेको छ । आठ सय घरधुरी रहेको खोकनामा नापी भइसकेपछि आवश्यक प्रक्रिया पूरा गरेर लालपुर्जा दिइनेछ ।
विसं ०२१ को नापीमा एकमुष्ट -ब्लक)मा नापी भएपछि लालपुर्जा दिन नसकिएको ललितपुर जिल्ला नापी कार्यालयले जनाएको छ । नापी कार्यालयका अनुसार बस्ती बसाइको अवस्थाका कारण ०२१ सालमा छुट्टाछुट्टै नापी गर्न समस्या परेको थियो । भित्रभित्रको नाप लिन नसक्दा त्यसबेलादेखि नै सबै कुरा थाती छ ।
नापीका कर्मचारीका अनुसार अब उपकरणको मद्दतले नापजाँचमा समस्या हुंदैन । सबै जग्गा नापी भइसकेपछि सार्वजनिक सूचना निकाल्नेलगायत प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिनेछ । जग्गाको पुनः नापी गरी कित्ता नम्बर छुट्याएर मात्र लालपुर्जा दिइने भएकाले काम अहिलेसम्म अघि बढ्न सकेको थिएन । सबैको कित्ता नम्बर छुट्याएपछि प्रक्रिया अघि बढ्ने कार्यालय सहायक डंगोलले बताए ।
ललितपुरका नापी प्रमुख बुद्धिमान जैसीले घरायसी कागज गरेर एकअर्काबीच बिक्री गर्न सकिने भए पनि धितोलगायत काममा लालपुर्जा नभई काम नबन्ने बताए । सबै कुरामा लालपुर्जा चाहिने भएकाले त्यसका लागि आवश्यक काम भइरहेको उनले जानकारी दिए । ‘पहिलेदेखि नै समस्या रहेछ, म त केही समयअघि मात्र यो कार्यालयमा आएको हुं’ उनले सौर्यसँग भने, ‘आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गर्छु ।’
डंगोलका अनुसार बारम्बार नापी कार्यालयलाई लालपुर्जाका लागि अनुरोध गरिएको छ । सर्वदलीय संयन्त्रले पनि त्यस विषयमा निर्णय गरिसकेको छ  तर लालपुर्जा भने अझै उपलब्ध हुन सकेको छैन ।
खोकनाको करिब सात हेक्टर जग्गा नापी भइसकेको भए पनि एक हेक्टर नापजाँच गर्न बाँकी छ । सबै जग्गा नापजाँचपछि लालपुर्जा दिइने भएकाले अहिले नदिइएको नापीले जानकारी दिएको छ । नापजाँचका क्रममा स्थानीयबीच बाटाका विषयमा विवाद भएकाले काम गर्न कठिनाइ भइरहेको नापीका कर्मचारीको भनाइ छ ।

प्रतिक्रिया