सिडिएस सञ्चालनमा ढिलाइ

काठमाडौं, २५ चैत । केन्द्रीय निक्षेप प्रणाली (सिडिएस) आगामी वैशाखभित्र पनि सञ्चालन नहुने भएको छ । धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, ०६७ मा सञ्चालनमा आएको एक वर्षभित्र सूचीकृत कम्पनी अनिवार्य रूपमा सिडिएस कम्पनीमा दर्ता हुनुपर्ने प्रावधानका कारण वैशाखभित्र सञ्चालन नहुने भएको हो ।
केन्द्रीय निक्षेप सेवा नियमावली ०६८ माघ महिनाबाट लागू भएको हो । नियमावली लागू भएको तीन महिना बित्न लाग्दा पनि कुनै पनि सूचीकृत कम्पनीले कम्पनीमा सूचीकृत हुन शोधपुछ नगरेको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रमुख कार्यकारी अधिकृत सुवोध शर्मा सिग्देलले बताए । सिडिएससीले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै कम्पनीलाई कम्पनीमा सूचीकृत हुन आउन पत्राचार गरिसकेको छ । कम्पनी सूचीकृत हुने समय अझै बा“की रहेको जनाउदै कम्पनीमा दर्ता हुन आउन ढिला गरिरहेको प्रमुख कार्यकारी अधिकृत सिग्देल बताउछन् ।
नेपाल धितोपत्र बोर्डलाई अनुरोध गरेर सूचीकृत कम्पनीलाई परिपत्र गराएरै भए पनि कम्पनी छिटो सूचीकृत गराउने प्रयासमा लागेको छ । सिडिएसले बोर्डलाई पत्राचार गरेर अनुरोध गरिसकेको प्रमुख कार्यकारी अधिकृत सिग्देलले बताए । सिडिएससीको प्रमुख काम भनेको नेपाल स्टक एक्सचेन्जमा सेयरको कारोबार भइसकेपछिको रकम राफसाफ गर्ने एवं भौतिकरूपमा रहेका सेयरलाई अभौतिकीकरण गर्ने हो । हाल नेपालको सेयर बजार अर्ध स्वचालित प्रणालीमा सञ्चालन भइरहेको छ । सिडिएस कम्पनी पूर्ण सञ्चालनमा आइसकेपछि कारोबार गरेको तीन दिनभित्र सेयर बिक्रीकर्ताका खातामा रकम जम्मा भइसक्ने उनले बताए । यसले गर्दा कारोबार संख्यामा पनि वृद्धि हुनेछ ।
सिडिएस सञ्चालनमा आउनका लागि निक्षेप सदस्यको काम महत्वपूर्ण हुन्छ । सिडिएस नियमावलीमा बैंक, मर्चेन्ट बैंकर, सेयर दलाललाई निक्षेप सदस्य बन्न उपयुक्त संस्था तोकेको छ । निक्षेप सदस्य बन्नको लागि एक करोड नेटवर्थ भएको कम्पनी हुनुपर्ने व्यवस्था रहेको छ । हालसम्म ११ वटा कम्पनीले धितोपत्र बोर्डमा निक्षेप सदस्यको अनुमतिका लागि निवेदन दिए पनि सिभिल क्यापिटल लिमिटेड र एस क्यापिटल गरी दुई कम्पनीले मात्र अनुमति प्राप्त गरेको छ ।
सिग्देलले आफू सिडिएस सञ्चालनका लागि तयारी अवस्थामा बसे पनि निक्षेप सदस्यले भौतिक सेयरलाई अभौतिकरूपमा डिजिटल फम्र्याटमा राख्ने काम नै सुरु नगरेकाले पनि सञ्चालनमा थप ढिलाइ भएको बताए । उनले बोर्डलाई सूचीकृत कम्पनीको सेयरको अभौतिकीकरण दु्रत गतिमा सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिन अनुरोध पठाइसकेको जानकारी दिए ।
सिडिएस कम्पनीले एक्सचेन्जमा सूचीकृत कम्पनीसग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागी केही व्यक्तिले वार्षिक नवीकरण शुल्क बढी भयो भन्ने गुनासो गरेको उनले बताए । केही सहभागीले भने सिडिएसमा सहभागी हुन एक पटकमात्र शुल्क लिनुपर्ने बताएको उनले जानकारी दिए ।
सिडिएसमा कम्पनीहरूलाई सहभागी गराउन नियमावलीमा नै संशोधन गराउने पक्षमा रहेको प्रमुख कार्यकारी अधिकृत सिग्देलले बताए । नियमावलीमा सिडिएस सञ्चालनमा आएको एक वर्षको सट्टा ६ महिनाभित्र कम्पनीमा अनिवार्य दर्ता गराउनुपर्ने भनी संशोधन गराउने गृहकार्य भइरहेको छ ।
आगामी वैशाखमा सिडिएसले १५ जना नया कर्मचारीलाई काममा लगाउनेछ । कम्पनीले वैशाखमा डोर टु डोर बजारीकरण गरी सिडिएसमा दर्ता हुन सूचीकृत कम्पनीलाई मनाउने तयारी गरेको छ । सूचीकृत कम्पनी सिडिएसमा दर्ता नभइकन र भौतिक प्रमाणपत्रलाई डिजिटल प्रमाणपत्रमा परिवर्तन नगरीकन सरकारले वैशाखभित्र सुरु गर भन्दैमा सुरु नहुने उनले बताए ।

प्रतिक्रिया