एकै खालको निसानाबाट आठको हत्या

काठमाडौं, २५ चैत । ‘उनीहरूको पहिलो निसाना छाती हो, दोस्रोमा टाउको,’ व्यक्तिहत्यामा अपराधीले गोली प्रहार गर्दा ताकेको निसानाबारे प्रहरीको निष्कर्ष हो यो । घटनामा प्रयोग भएका हतियार संख्या, सुटर संख्यासमेत एकै प्रकृतिका भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग प्रमुख डिआइजी उपेन्द्रकान्त अर्यालले संगठित रूपमा हत्या गरिएका व्यक्तिलाई अपराधीले पहिलोचोटि छाती र दोस्रोमा मात्र टाउकामा गोली हान्ने गरेको बताए । डिआइजी अर्यालले भने, ‘प्रायः निसाना चुकेको छैन, यसबाट सबै घटनामा व्यावसायिक किलर प्रयोग भएको देखिन्छ ।’
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी देवेन्द्र सुवेदी पनि अपराधीको गोली हान्ने कार्यविधि, हतियार, निसाना, स्थान र समय छनोट पनि मिल्ने गरेको बताउछन् । उनले भने, ‘उनीहरूको उद्देश्य निसानामा परेका व्यक्तिलाई मारिछाड्ने देखिन्छ ।’
प्रहरी अनुसन्धानका अनुसार २४ माघ ०६६ मा लाजिम्पाटमा हत्या गरिएका सञ्चार उद्यमी जमिम शाहमाथि तीन राउन्ड गोली प्रहार भयो, दुइटा छातीमा र एउटा कन्चटमा लाग्यो । हत्याराले पहिलोचोटि छातीमा र उनी ढलेपछि दोस्रोचोटि मात्रै कञ्चटमा निसाना बनायो । १० पुस ०६६ मा बुटवलमा सौकत वेगमाथि पाच राउन्ड गोली चल्दा पनि पहिलो निसाना छाती नै बन्यो । भुइमा ढलेपछि मात्रै अपराधीले उनको टाउकामा गोली हानेका थिए ।
केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा रहेका युनुश अन्सारीमाथि पाच राउन्ड गोली प्रहार भयो । पहिलो निसाना उनको छातीमै भए पनि मिसफायर भएकाले दोस्रो निसाना टाउको बन्यो । पाचौंपटकको ककपछि मात्रै फायर भयो । त्यसबेला छलेका (ढलेका) अन्सारीको दाहिने पाखुरामा गोली लाग्यो ।
गत १ वैशाखमा बसुन्धरामा पाकिस्तानी दूतावासका कर्मचारी मेहबुब आसिफमाथि गोली प्रहार हु“दा पनि पहिलो निसाना छाती नै बन्यो । तर, निसाना चुकेपछि मात्रै उनको पेटमा गोली लाग्यो । दोस्रो निसाना टाउको पनि चुकेका कारण निधार छोएर गोली पास भयो । त्यसपछि मात्रै उनको खुट्टा र कम्मरमा पाच राउन्ड गोली प्रहार भएको थियो ।
९ असोजमा मुस्लिम संघ नेपालका महासचिव फैजन अहमदमाथि पनि यसैगरी आठ राउन्ड गोली प्रहार भएको देखिन्छ । चार राउन्डमध्ये दुइटा गोली छाती र दुइटा टाउकामा लागेका थिए । यसैगरी १५ असार ०५५ मा तत्कालीन सांसद मिर्जा दिलसाद बेगको हत्या भएको पाइयो ।
डिआइजी अर्यालका अनुसार २४ भदौ ०६३ मा बानेश्वरमा कमलसिंह नेपाली र १९ असोज ०६६ मा नेपालगन्जमा अब्दुलमजिद मनिहारको हत्याप्रकृति पनि अन्यभन्दा फरक छैन । हत्यामा प्रयोग भएका हतियार पनि एकै किसिमका पाइएको उनले बताए । उनले भने, ‘यस्ता घटनामा प्रायः एउटा रिभल्बर र एउटा पेस्तोल प्रयोग भएका छन् ।’
उनका अनुसार भारतीय नक्कली नोट, मदरासा र पाकिस्तिानी खुफिया एजेन्सी ‘आइएसआई’मा संलग्नताको आशंकापछि उनीहरूको हत्या भएको देखिन्छ । एक प्रहरी अधिकृतका अनुसार अहिलेसम्म संगठित रूपमा भएका आठवटै हत्यामा दुईजना ‘सार्पसुटर’ प्रयोग भएका छन् । उनले भने, ‘सबै हत्यामा भारतीय अपराधी प्रयोग भएका छन्, तीमध्ये केही जेलमा छन् भने केही छुटिसकेका छन् ।’

प्रतिक्रिया