न्यायिक आयोग बनाउछुः प्रधानमन्त्री

काठमाडौं, २३ चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले झापामा हत्या गरिएका पत्रकार यादव पौडेलको आश्रित परिवारलाई सरकारले क्षतिपूर्ति उलब्ध गराउने बताएका छन् ।

उनले पौडेलको हत्या प्रकरणका बारेमा सत्यतथ्य पत्तालगाउन न्यायाधिक आयोग बनाउने समेत प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘म पनि पौडेलजीको हत्याबाट मर्माहत भएको छु, दोषीलाई कानून अनुसार हदै सम्मको कारबाही हुन्छ ।’

सिंहदरबारमा आज नेपाल पत्रकार महासंघ एभिन्यूज शाखाका अध्यक्ष विवेक रेग्मीको नेतृत्वमा पुगेको टोलीसंगको भेटपछि कुरागर्दै प्रधानमन्त्री भट्टराईले न्यायाधिक आयोग छिट्टै बनाउने बताए ।

पत्रकार पौडेलको आफन्तलाई राहतका लागि सरकारका तर्फबाट केही आवश्यक सहयोग गर्ने बताएका भट्टराईले पत्रकारको सुरक्षाका पक्षमा आफू हमेसा रहने बताएका छन् ।

त्यसै गरेर पत्रकारहरुको टोलीले आजै उपप्रधान तथा गृहमन्त्री विजय गच्छेदारसंग पनि भेट गरेको छ । भेटमा गच्छेदारले आफू पौडेलका हत्यारालाई कारबाही गर्न प्रतिबद्ध रहेको भन्दै कारबाहीका लागि सुरक्षा निकायलाई निर्देशन दिईसकेको जनाए ।

रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाले पत्रकारहरुको ज्यूधनको सुरक्षा अतिआवश्यक रहेको बताए । उनले समाचार लेखेकै आधारमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका छन् ।

पौडेलका दोषीलाई कारबाही र सुरक्षाको माग गर्दै पत्रकारहरुले प्रधानमन्त्री भट्टराई र गृहमन्त्री गच्छेदारलाई बिरोध स्वरुप कमल उपहार दिएका थिए । टोलीमा पत्रकार महासंघ हिमालयन दैनिक शाखाका अध्यक्ष टीका प्रधान समेत सहभागी थिए ।

प्रतिक्रिया