धर्मका नाममा उपद्रो

बाराको हलखोरिया जंगलमा तपस्यारत रामबहादुर बम्जनले तपस्याका नाममा अशोभनीय कार्य गर्न थालेको खुलासा भएको छ । स्लोभाकियाकी महिला मारिची र सिन्धुपाल्चोककी आनीलाई तीन महिना बन्धक बनाएर छाडेपछि उनले फेरि अर्को असामाजिक कार्य गरेका छन् । सञ्चारमाध्यममा भाइका बारेमा नराम्रा समाचार सुनेर बुझ्न गएका आफ्नै दाजु र दिदीलाई समेत निज बम्जनले कुटपिट गरेर लखेटेको घटनालाई सामान्य मान्न मिल्दैन । आफ्नी आमाले समेत बम्जनको व्यवहार गैरकानुनी र अशोभनीय भएको स्पष्ट पारेकी छन् । शंका गरिदैछ, त्यस स्थानमा तपस्यारत बम्जनका अनुयायी बताउनेले धर्मका नाममा अन्य कार्य पनि गर्ने गरेका छन् । यदि धर्मका नाममा अधर्म र कुकृत्यका खबर बाहिर आउछन् भने सरकारले त्यो स्थानलाई आफ्नो कब्जामा लिएर वास्तविकता बाहिर ल्याउनुपर्छ । बम्जन नेपाली नागरिक हुन् । उनले निर्बाध रूपमा धर्मकर्म गर्न पाउनुपर्छ । यसमा विवाद छैन । तर, धर्मका नाममा उपद्रो गर्न पाइदैन । यसलाई सरकारले रोक्नुपर्छ । विदेशी महिलासहित दुईजनालाई बन्धक बनाएर राख्ने व्यक्तिलाई सरकार किन कारबाही गरिरहेको छैन ? मारिचीलाई भिसा म्याद सकिएको विषयमा जरिवाना गर्न सक्ने सरकार अपहरणकारीका बारेमा बोल्न पनि चाह“दैन भने यसमा अरू रहस्य लुकेको बुझ्नुपर्ने हुन्छ । यो विषयमा सरकारले नागरिकलाई सुसूचित गराउनुपर्छ ।
नेपाली समाज सबै धर्मप्रति अत्यन्त सहिष्णु छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एक अर्काप्रतिको सम्मान हाम्रा गहना हुन् । यही कारणले बम्जनलाई सबैले सम्मान गरेका छन् । तर, यसैको फाइदा उठाउदै कहिले युवतीलाई बन्धक बनाउने, कहिले आफ्नै परिवारलाई कुटपिट गर्ने र कहिले अशोभनीय कार्य गरेर जनता तर्साउने काम गरिन्छ भने त्यो तुरुन्त बन्द गर्नुपर्छ । बम्जनका अनुयायीले बेलाबखत अस्वाभाविक कार्य गर्ने गरेका खबरले उनको तपस्यालाई नै शंकाको घेरामा हालिदिएको छ । स्थानीय जनताले समेत हलखोरियामा शंकास्पद कार्य हुने गरेको बताउनु र बम्जनकै दिदी राजकुमारीले त्यहा भएका कुरा सार्वजनिक गर्ने हो भने संघका कार्यकर्ताले मार्लान् भन्ने डर छ भन्नु सामान्य कुरा होइन । यसलाई सामान्य रूपमा लिनु पनि हुदैन । बोधी धर्म श्रवण संघका दर्शन लिम्बू र बालाहरि राई को हुन् र किन बम्जनकै परिवारजनलाई कुटिरहेका छन् ? स्थानीय प्रशासनलगायत अन्य निकाय चुप रहन मिल्दैन ।
तपस्यास्थलमा कस्ता खालका गतिविधि हुन्छन्, कुन खालका व्यक्ति बस्छन्, रहनसहन र वातावरण कस्तो छ, साथै अनुयायी हौ भन्दै मानिस धम्क्याउनेको विगत र वर्तमानका विषयमा पनि स्थानीय सुरक्षा निकाय जानकार हुन जरुरी छ । सरकारले पनि यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । विदेशी नागरिकलाई समेत बन्धक बनाउने र आफन्तलाई हातपात गर्ने कार्य अपराध हो । अपराध गर्नेलाई कानुनले छाड्न मिल्दैन । बन्धक बनाउने र कुटपिट गर्ने कार्यमा को–को संलग्न थिए, त्यसको छानबिन हुनुपर्छ । र, वास्तविक अपराधीलाई कानुनी कठघरामा उभ्याएर सजाय दिनु सरकारको कर्तव्य हो । धर्म र तपस्या एउटा संवेदनशील पक्ष हो भने कुटपिटको घटना र बन्धक बनाउने कार्य अपराध हो । धर्मका नाममा अपराध हुनु हु“दैन । सरकारले कारबाही गर्नैपर्छ ।

प्रतिक्रिया