स्टारलाई क्रिकेटको प्रसारण अधिकार

नयाँदिल्ली, २० चैत । रूपर्ट मर्डोकको स्वामित्वमा रहेको स्टार टिभीले आगामी ६ वर्षका लागि भारतीय क्रिकेटको प्रसारण अधिकार पाएको छ । यसवापत स्टार टेलिभिजनले भारतीय क्रिकेट नियन्त्रण बोर्ड -बिसिसिआई)लाई ७५ करोड अमेरिकी डलर तिर्नुपर्नेछ । सोमबार भएको सहमतिमा मोबाइल र इन्टरनेट अधिकार पनि समाहित छ । स्टारको प्रतिस्पर्धीका रूपमा देखिएको सोनी ७० करोड २७ लाख डलरसम्म पुगेको थियो । सोनीसित अहिले इन्डियन पि्रमियर लिग -आइपिएल) क्रिकेटको टेलिभिजन अधिकार छ ।
नयाँ सहमतिअनुरूप ९६ खेलको प्रसारण स्टारले गर्नेछ । यसमा भारतमा हुने राष्ट्रिय टिमका प्रतिस्पर्धा र घरेलु क्रिकेट प्रतियोगिता रणजी ट्रफी र इरानी कप समावेश छन् । सहमतिबमोजिम भारत र न्युजिल्यान्डबीच हुन लागेको शृंखला स्टारको पहिलो प्रसारण हुनेछ । स्टारले एउटा खेल प्रसारण गरेवापत बिसिसिआईलाई ७० लाख ८६ हजार डलर तिर्नेछ । यसअघि प्रसारण अधिकारप्राप्त निम्बसले एउटा खेल प्रसारण गरेवापत ६० लाख ३८ हजार डलर तिरेको थियो ।

प्रतिक्रिया