उत्कृष्ट सहकारी पुरस्कार घोषणा

काठमाडौं, १८ चैत । ५५औ राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी संघ लिमिटेडले सहकारी व्यवसायद्वारा अनुकरणीय कार्य गर्ने उत्कृष्ट संघ संस्थालाई ‘उत्कृष्ट सहकारी पुरस्कार २०६८’ बाट सम्मानित गर्ने घोषणा गरेको छ ।
उत्कृष्ट संघमध्ये तनहु दुग्ध उत्पादक सहकारी संघ लिमिटेड उत्कृष्ट सहकारीमा परेको छ । त्यस्तै विषयगत क्षेत्रका सहकारीमा बचत तथा ऋणतर्फ सिर्जना बचत तथा ऋण सहकारी कञ्चनपुर, बहुउद्देश्यीयतर्फ नेपा बहुउद्देश्यीय सहकारी सुनसरी, कृषि सहकारीतर्फ हिमचुली कृषि सहकारी, मान्मा–कालीकोट, महिला सहकारीतर्फ बछौली नारी बचत तथा ऋण सहकारी बछौली–चितवन, दुर्गम क्षेत्रतर्फ हिमालयन सहकारी ओखलढुंगालाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०६८ बाट पुरस्कृत गर्ने घोषणा गरिएको छ । संघले शनिबार पत्रकारसम्मेलन गरी पुरस्कारको घोषणा गरेको हो ।
२० चैत २०१३ मा चितवनमा बखानपुर ऋण सहकारी स्थापना भएको दिनलाई राष्ट्रिय सहकारी दिवसका रूपमा मनाउदै आएको छ । यो वर्ष ‘सहकारी व्यवसायद्वारा समृद्ध नेपालको निमार्ण’ भन्ने नाराका साथ मनाइने राष्ट्रिय संघले जनाएको छ । देशभर बाजागाजा, झाकी, ब्यानर, युनिफर्म, प्लेकार्डसहित बृहत् सहकारी र्‍याली, रक्तदान, अन्तरक्रिया गोष्ठी, सहकारी प्रदर्शनी, प्रतियोगितात्मक कार्यक्रमहरूको अयोजना गरी ५५औ राष्ट्रिय सहकारी दिवस मनाइने घोषणा गरिएको छ ।
कार्यक्रममा सहकारी दिवसका दिन सबै सहकारीकर्मीहरूले सहकारी संघ संस्थालाई सहकारीका मूल्य–मान्यता र सिद्धान्तमा अडिग भएर सञ्चालन गर्ने प्रण गर्नुपर्ने राष्ट्रिय संघका अध्यक्ष केशव बडालले बताए । अन्तर्राष्ट्रिय सहकारी वर्षको विशिष्ठ उद्देश्यअनुरूप ग्रामीण दूरदराजसम्म सहकारी क्षेत्रले आमसमुदायको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याउनसक्ने योगदानका लागि सबै संघ संस्थालाई आग्रह गरेको उनले बताए ।
सहकारी वर्षका अवसरमा सिक्का र हुलाक टिकटमा सहकारी वर्षको लोगो राख्न सम्बन्धित निकायलाई आग्रह गरेको पनि उनले बताए । नेपालको सहकारी अभियानमा हाल २३ हजारभन्दा बढी सहकारी संस्थाहरू रहेका छन् । जसमा ४२ प्रतिशत महिला सहभागिता छ । ३१ लाख मानिस सहकारीमा आबद्धरहेको संघले जनाएको छ । कुल गार्हस्थ उत्पादनमा तीन प्रतिशत र वित्तीय क्षेत्रमा १५ प्रतिशतभन्दा माथि सहकारीले योगदान पुर्‍याएको छ ।

प्रतिक्रिया